शनिवार, मंसिर १३ २०७७Nov 28 2020
  • शनिवार, मंसिर १३ २०७७
images

नेकपामा शीतयुद्ध : दुई पक्ष पर्ख र हेर नीतिमा ?

नेकपामा शीतयुद्ध : दुई पक्ष पर्ख र हेर नीतिमा ?

images
  • बिहिवार, मंसिर ४ २०७७

  • 1.7K
    SHARES

  • नेकपामा शीतयुद्ध : दुई पक्ष पर्ख र हेर नीतिमा ?

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद अब शीतयुद्धमा प्रवेश गरेको छ । पटक-पटकको द्वन्दबाट दुई अध्यक्षको पत्र युद्ध पछि नेकपा विभाजनको संघारमा रहेको ब्याख्या गर्न थालिएको थियो । सम्वृद्धि,स्थायीत्व,सुशासन र बिकासको नारा बेचेर करिव दुई तिहाइ ल्याएको नेकपा सत्तामोहमा चुर्लुम्म डुबेको छ भने आम मतदाताको विश्वास र भरोसामाथि संगिन प्रहार भएको छ । रअ प्रमुखको नेपाल भ्रमणपछि उनले कोसेली स्वरूप दिएको भांगको (राजनीतिक ) लड्डुको असर नेकपामा प्रष्ट देखिएको थियो भने अहिले चिनियाँ राजदुत हउ यान्छी र रास्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले केहि साम्य भएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डलाई आ–आफ्नो बाटो लागौं भनेपछि तातेको नेपाली राजनीति अहिलेसम्म सेलाउन सकेको छैन ।

    करिव अढाई वर्षदेखि कहिले साम्य हुँदै त कहिले उत्कर्षमा पुग्दै आएको नेकपाको विवादले नेकपालाई मात्र होइन देशलाई नै बन्धक बनाएको छ । कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष केपी ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै बीच आरोप–प्रत्यारोपले नेकपाको विवाद चरम बिन्दुमा पुगेको छ। पार्टी भित्र आ-आफ्नो गुटबन्दी गरि बिभाजनसम्म हुनसक्ने आन्तरिक सर्कुलर भएपछी बाहिर पार्टी फुट्ने ब्यापक हल्ला चलिरहेको छ भने कसले पहिले फुटाउने भन्ने पर्खाइमा दुबै पक्ष रहेको अनुमान लगाउन थालिएको छ । यतिबेला नेकपामा शीतयुद्ध सुरु भएको छ ।

    दोस्रो विश्वयुद्ध सकिएपछि सन् १९४५ देखि १९८९ को बीचको समयमा संसार दुई ध्रुवमा बाँडिएको थियो । ती दुई ध्रुवको नेतृत्व अमेरिका र सोभियत सङ्घले गरेका थिए । शीतयुद्ध शब्दको प्रयोग अमेरिका र सोभियत सङ्घबीच त्यो समयमा रहेको तनावपूर्ण सम्बन्धलाई लिएर गरिन्छ । परमाणु युद्धको आशंकामा दुवै पक्ष कहिलै पनि सिधै युद्धमा होमिएनन् । तर त्यो समयमा करोडौं मानिस डरमा बाँच्न बाध्य रहेका थिए । आज नेकपा यहि अबस्थामा पुगेको छ । जसले पहिले पार्टी फुटायो उ जनतासामु गए सिद्धिने डर र त्रास छ भने नेता कार्यकर्तामा पार्टी विभाजनको त्रास छ भने जनतामा देश फेरी द्वन्दमा फस्ने भय छ । कहिले एक अर्कालाई हटाउन हस्ताक्षर, कहिले दल बिभाजन विधेयकले गम्भीर बनेको नेकपा फेरी प्रधानमन्त्री ओलीले पार्टीमा आफूले पनि अर्को प्रस्ताव पेश गर्ने बताएपछि सशंकित बनेको छ । नेकपा फेरी पत्र युद्दको नयाँ लफडामा फस्ने संकेत देखिन्छ । देशमा स्थायीत्व र सम्वृद्धिको सपना देखेर जनताले दिएको अधिक जनमतमाथि नेकपाको रबैयाले उनीहरुको सपनामाथि पानी फ्याकेको छ ।

    इतिहास कै शक्तिशाली सरकार र ओली प्रधानमन्त्री बनेपछि देशमा राजनीतिक स्थायीत्व, स्थिर सरकार र देशले बिकासमा अग्रगामी छलाङ्ग मार्ने आशा आम नेपालीमा रहेकोमा अब त्यो आशा बिस्तारै तुहिएर गएको छ । वर्तमान अवस्थालाई हेर्ने हो भने नेपालमा ऐतिहासिक संघीय संरचना खतरामा परेको प्रष्ट देख्न सकिन्छ । संघीयताको बिरोध गर्दै आएका ओली प्रधानमन्त्री हुँदा लोकतन्त्र र गणतन्त्र खतरामा परेको महसुस आम नेपालीले गर्न थालेका छन् । त्याग, तपस्या र बलिदानको इतिहाससँग जोडिएको माओवादी जनयुद्धबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ । देशमा नौ-नौ महिनामा सरकार बदलिने खेल र स्थायीत्व एबं आर्थिक विकासको भोक प्यास मेटाउन आम मतदाताले रोजेको तदकालिन एमाले-माओवादी गठबन्धन एक कार्यकाल नै पुरा नगरी दुर्घटना हुने अबस्थामा पुगेको छ । सरकार संचालनका दुई व्यवस्था (पुँजीवाद र साम्यवाद) बीचको लडाईमा नेकपा कुन बाटो रोज्ने भन्ने अबस्थामा पुग्न सकेको छैन ।

    नेकपा जबज र २१औं सताब्दीको बैज्ञानिक जनबादमा कुन अपनाउने भन्ने बिबादमा अल्झिएर विभाजनमा प्रवेश गर्दैछ। पार्टी बचाउन शिर्ष नेताहरु माधबकुमार नेपाल,झलनाथ खनाल,बामदेब गौतम र सचिबालय सदस्हयरुको अब कस्तो भूमिका हुन्छ त्यो भने हेर्न बाँकी छ । मध्यमार्गी नेताको रुपमा चिनिएका माधबकुमार नेपालको भूमिका अब कस्तो रहला भन्ने अहिले धेरैको जिज्ञासा समेत रहेको छ । अहिले दुई पाइलटले हाँकेको अनियन्त्रित जहाज ( नेकपा ) दुर्घटना हुनबाट तद्कालको लागि त बचेको छ भने दुबै पक्ष पर्ख र हेरको नीतिमा छन् । नेकपाभित्रको अस्तित्वको लडाँइ,आन्तरिक कलह र सबै म नै हुँ भन्ने प्रबृतिका कारण नेकपा बिधान अनुरुपको पार्टी नभई अबसरबादीहरुको ग्याङ्ग बन्न पुगेको छ । एक शक्ति नेकपालाई कसरी फुटाउने र सिध्याउने भन्ने खेलमा छ भने अर्को शक्ति यसलाई कसरी एक बनाएर बचाउने भन्ने अनेकन बिकल्प खोजिरहेको छ ।

    पुराना केही राजनैतीक घटना परिघटनालाई गम्भीर ढंगले केलाउने हो भने अब गणतन्त्रमा हमला हुने पक्का छ र त्यो दिन त्यती टाढा रहेको छैन । अहिलेको पहिलो प्रहार संघियता सिध्याउने देखिन्छ भने त्यसपछि गणतन्त्रमाथि नै हुनेछ । शीतयुद्ध कहिलै शितल नभए जस्तै नेकपाको आन्तरिक द्वन्द पनि कहिल्लै समाप्त हुने देखिंदैन भने झन् झन् नयाँ लफडा थपिंदै गइरहेको छ । कोरोना भाइरस संक्रमणका कारण यतिबेला देश तहस-नहसमा छ । यो बेला रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने सरकार आफ्नो जिम्मेवारीबाट समेत भागेको छ भने आफ्नो स्वार्थ पूर्तिको लागि सत्ताको खेलमा बेमौसमको बाजा बजाउन संधै व्यस्त भएको छ । सरकारले यो महामारीका बेला जनतालाई राहत र उचित व्यवस्थापन गर्नुपर्नेमा अहिलेसम्म गर्न सकेको छैन । सरकारको रबैया देखेर जनतामा दिनहुँ निरासा बढ्दो छ भने ओली सरकारको साख गिर्दो छ ।

    दुवै पक्षलाई एक अर्काले हमला गर्ने डर छ । ओली सरकारले भष्ट्राचारमा इतिहास रचेको छ । जनताको उपचार गर्न नसक्ने सरकारले आफ्नो लागि भने गाडी किन्न , विदेश भ्रमण गर्न,भत्ता खान जति पनि पैसा दिएको छ । यदि सत्तारुढ नेकपामा विभाजन आयो भने त्यसले देश र पार्टीलाई पार्ने असर सकारात्मक भन्दा नकारात्मक नै बढी हुने देखिन्छ । यो विभाजनबाट पूर्वएमाले वा पूर्वमाओवादी कुनै पनि पक्षलाई फाइदा पुगिहाल्ने स्थिति देखिँदैन । र, यो कुरा पनि निश्चित छ कि नेकपाको फुटले उसको पार्टीलाई मात्रै होइन, देशलाई पनि फाइदा गर्दैन । राजनीतिक अस्थिरता बाहेक मुलुकले केही पाउँदैन । त्यसैले नेकपाका लेताले आफ्नो स्वार्थ भन्दा माथि उठेर जनमत र जनभावना अनुरुप अघि बढ्न आबस्यक छ । अन्यथा इतिहासले सदैब धिकार्ने निश्चित छ ।

    बिहिवार, मंसिर ४ २०७७०८:०३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology