बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

जीवन शर्माको दसैँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

जीवन शर्माको दसैँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

images
  • बिहिवार, आश्विन २२ २०७७

  • 1.8K
    SHARES

  • जीवन शर्माको दसैँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

    नेपालीको महान पर्व दसैँ पर्व दशै नजिकिदै गैरहेको छ । तर यसपाली परिस्थिति झनै बिकराल बनेर आएको छ । खुसीयालीको पर्व दसैँ आए पनि मनमा खुसी भने हुन सकेको छैन । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । विदेशमा पनि सयौँ नेपालीले कोरोनाबाट ज्यान गुमाएका छन् । महामारीको समयमा पनि नेपालीको महान पर्व दसैँमा परिस्थितिले लाखौँ नेपालीले घर फर्किन पाएका छैनन् । आफ्ना माता पिता र गाउँका पाका पुराना बृद्धजनको हातबाट टीका ग्रहण गर्ने , साथीसँगीसँग मिलेर चर्खे, रोटे, र लठ्ठे पिङ खेल्ने, मीठामीठा परिकारहरु खाने , आफन्तजनसँग रमाइलो भेटघाट गर्ने समय जुरेको छैन । रोजीरोटीका लागि संसारका विभिन्न देशमा पुगेका मात्र होइन, देशकै अन्यत्र भागमा रहेका नेपाली दाजु भाइ, दिदी बहिनीहरु दसैँको टीका थाप्न सहज रुपमा आफ्नो गाउँघर जान सक्ने अवस्था अहिले छैन ।

    images
    images
    images
    लकडाउन खुले पनि कोरोना सङ्क्रमणको सन्त्रास झनै बढ्दै गैरहेको छ । कोरोना भाइरसबाट वृद्ध अवस्थाका आमा बाबालाई जोगाउन अति आवश्यक छ । उनीहरुमा सङ्क्रमण देखियो भने जोगाउन धेरै मुस्किल पर्नेछ । यस्तो बेला परदेश तथा देश भित्रकै अन्यत्र ठाउँबाट गाउँमा गएर गाउँका बृद्धअवस्थाका आमा बाबासँग भेटघाट गर्दा उनीहरुलाई कोरोना सङ्क्रमणको जोखिम झनै उच्च हुन्छ ।यहीँ कारणले गर्दा कतिपय नेपाली दाजुभाइ दिदीबहिनीहरु चाहेरै पनि यसपाली दसैँमा गाउँघर जान सक्ने अवस्था छैन । यस्तो रमाइलो र महान पर्व दसैँका बेलामा आफ्नो प्यारो गाउँ पुग्ने रहर कसलाई हुँदैन र ? जसलाई पनि हुने गर्छ । तर धेरै नेपालीहरु मुटु पिरो पारी यसपटक भन्न बाध्य छन्,यसपाली त यस्तै भो आमा, अर्को साल आउनेछु दसैँमा परदेश तिर रहेका नेपालीको अवस्था यो बेला झनै दयनीय बनेको छ । कोरोनाको कहरले रोजगारी खोसिएको छ । बिरानो मुलुक, चिनारु कोही छैन । वर्षौदेखि उनीहरु आफ्नो प्यारो मातृभूमि आउन पाएका छैनन्। दसैँका बेला आफ्ना बृद्ध आमाबाबाको हात बाट टीका थापेर आर्शिवाद लिन पाएका छैनन्। दसैँका बेलामा पनि आफ्नो गाउँघर आउन नपाएका तिनै परदेशी नेपालीको मार्मिक बेदना समेटिएको गित हो यसपाली त यस्तै भो आमा , अर्को साल आउनेछु दसैँमा । जनगायक जीवन शर्माले आज भन्दा दुई दशक अगाडि रचना गरेको यो गीतको अडियो प्रत्येक वर्ष दसैँ नजिकिँदै गएसँगै धेरै सञ्चार माध्यममा घन्कने गर्दछ । यसपटक भने उक्त मर्मस्पर्शी गीत भिडियोसहित आएको छ । जनगायक जीवन शर्माको आफ्नै युट्युब च्यानलबाट २०७७ असोज २ गते सार्वजनिक गरिएको उक्त भिडियो भित्र विदेशमा बस्ने नेपालीका कथा र ब्याथा समेटिएको छ । गीतमा विदेशमा बस्ने नेपालीहरु र नेपालमा बस्नेहरुले नै प्रत्यक्षरुपमा अभिनय गरेका छ्न । गीतमा दसैँका बेला घर आउन नपाएका परदेशी नेपालीहरुको मनको भावनालाई टपक्क टिपेर राखिएको छ । >यस्तो छ गीतको शब्दभाव दिनरात सम्झना छ गाउँघरको मलाइ
    सधैभरी बाच्नु पर्यो यो हृदय जलाइ
    मुटु मिची बस्दैछु यहाँ
    हाँस्ने, खेल्ने कलिलो बैशैमा
    यसपाली त यस्तै भो आमा
    अर्को साल आउनेछु दसैँमा,,,, चिसो हावा खेल्दै होला मेरो प्यारो गाउँमा
    तातो हावा बगिरहन्छ यो बिरानो ठाउँमा
    गल्ली गल्ली डुल्दैछु आमा
    आँसु पुछ्दै दुखीको भेषैमा
    यसपाली त यस्तै भो आमा
    अर्को साल आउनेछु दसैँमा,,,, हिउँदको घाम छाया बर्षातको पानी
    सुख दुख यस्तै रहेछ हाम्रो जिन्दगानी
    कालो कौवा करायो होला
    घरै मुनि सुकेको बासैमा
    यसपाली त यस्तै भो आमा
    अर्को साल आउनेछु दसैँमा ,,,,,, हो दसैँको बेला परदेश गएको छोरो कति बेला आउला भनेर आमा बाटा भरी आँखा बिछ्याएर बसेकी हुन्छिन् । दहीमा टीका मुच्दासमेत आमाले त्यहीँ परदेशी छोरालाई सम्झिरहेकी हुन्छिन् । आमाका आँखाबाट अनायासै आँशुका ढिक्काहरु तप्किन थाल्छ्न । उता छोराको अवस्था पनि उस्तै कारुणीक हुन्छ । यस्तो रमाइलो पर्व दसैँको बेलामा अर्काको बिरानो देशमा रगत र पसिना बगाएर बसिरहने रहर त कसलाई हुन्छ र ? तर पनि लाखौँ नेपाली दाजुभाइ दिदीबहिनीहरु परदेशी भूमिमा त्यसरी बस्न बाध्य छ्न । नेपाली चाडपर्व विदेशको मालिकलाई के मतलब हुन्थ्यो र ? उसले ती परदेशी नेपालीको मर्म बुझ्दैन । बिचरा ती परदेशीको ज्यान त विदेशमा हुन्छ तर मन भने आफ्नै गाउँघर तिर डुलिरहेको हुन्छ । उनीहरुको नयन अगाडि बृद्ध आमाबाबाको तस्बिर नाच्न थाल्छ । झलझली सम्झना आउँछ आफ्ना जहान लालाबालाहरुको । गाउँघर , ती सङ्गीसाथी , आफन्तजन ती सबैको सम्झनाले मन भक्कानिएर आउँछ । उनीहरुका आँखाबाट पनि अनायासै आँसु बर्षिन थाल्छ । तर त्यो बिरानो ठाउँमा त्यो आँसुको मूल्य बुझिदिने कस्ले ? आफ्नो आँसु आफै पिउँदै विदेशको गल्ली गल्ली डुल्न बाध्य छ्न उनीहरु । हाँस्ने खेल्ने कलिलो बैशको यो दिनमा विदेशका गल्ली , मरुभूमि, क्याम्प , कलकारखाना र होटलहरुमा मुटु मिची बस्न बाध्य छ्न उनीहरु । अरबका खाडीहरुमा पचास पचपन्न डिग्रीको तातो रापमा काम गर्न बाध्य छन उनीहरु । मालिकको हप्की दप्की खेप्दै निरन्तर डिउटी निभाइरहेका छन उनीहरुले । दिनरात उनीहरुले आफ्नो गाउँघर, प्रिय सङ्गी साथी , जहान लालाबाला सम्झिरहेका हुन्छ्न । घरगाउँको सम्झनामा आफै रुने आफै सम्हालिने गर्न बिवश छ्न् उनीहरु । आखिर सुख दुख यस्तै त रहेछ नि जिन्दगी भनेर आफ्नो मन बुझाइरहेका छन उनीहरुले । यो कुनै काल्पनिक कुरा होइन लाखौँ परदेशी नेपालीहरुले भोगिरहेको यथार्थ पीडा हो यो । जनगायक शर्माले परदेशी नेपालीहरुको त्यहीँ यथार्थ पिडालाई टपक्क टिपेर राखेका छ्न यो गीतमा । आँसिनाम्लो काखी च्यापी दाउरा घाँस गर्न
    कहिले तिमी मेलापात कहिले हुद्दा पर्म
    महिना बिते बर्ष दिन बिते
    दुख झेल्दै अर्कैको देशैमा
    यसपाली त यस्तै भो आमा
    अर्को साल आउनेछु दसैँमा ,,,, चर्खे पिङ घुम्दै होला देउरालीको माथी
    टीका थाप्न आए होलान सबै सङ्गी साथी
    लाए होलान सबैले आज
    टीका माथी जमरा केशैमा
    यसपाली त यस्तै भो आमा
    अर्को साल आउनेछु दसैँमा,,, पुरी कहिले नपुरिने हृदयको घाउ
    रिनमाथि रिन थोपर्ने गाउँका जाली साहुँ
    घरै छाडी उडेको चरी
    फर्की फेरि आउनेछ बासैमा
    यसपाली त यस्तै भो आमा
    अर्को साल आउनेछु दसैँमा ,,,,, रहरले विदेश कोही पनि गएको हुँदैन। कोही साहु महाजनको रिनले थिलिएर अचाक्ली भएपछि परदेसिएका हुन्छ्न्, भने कोही आफ्ना जहान लालाबालाहरुको सुन्दर भविष्यको सपना बोकेर कामको खोजीमा परदेश पुगेका हुन्छ्न् । देशभित्र रोजगारीको राम्रो आधार हुँदो हो त सायद कोही पनि नेपाली आफ्नो रगत र पसिना बेच्न विदेशी भूमिमा पुग्ने थिएनन् । तर हाम्रो देशको अवस्था नै त्यस्तै छ । देशमा उद्योग, कलकारखानाको विकास हुन सकेको छैन, चाहेर पनि काम गर्न पाउने यहाँ अवसरनै छैन । त्यसैले रोजगारीको खोजीमा संसारका विभिन्न देश चार्हान बाध्य छन् लाखौँ नेपाली । गीतले त्यहीँ बाध्यताको भूमरिमा परेका लाखौँ परदेशी नेपालीको मनको बेदना बोलेको छ । यो रमाइलो चार्ड दसैँका बेला हाम्रो गाउँघरको रौनक नै बेग्लै हुन्छ । आफ्ना दुख मन भित्रै लुकाएर भए पनि खुसी देखिने प्रयास गर्छन मानिसहरु । देऊरालीहरुमा चर्खे, रोटे र लठ्ठे पिङहरु खेल्नुको आनन्द नै बेग्लै हुन्छ । गाउँका पाका पुराना मान्यजनका हातबाट टीका ग्रहण गर्दै आर्शिवाद लिँदाको आत्मसन्तुष्टि बेग्लै खालको हुन्छ । ससाना लालाबाला नयाँ नयाँ लुगा देखाउदै प्रफुल्लित अनुहारमा डुलिरहेका हुन्छ्न्। दसैँका बेला आफ्नो घर आउन नपाएको परदेशीको मनमा यी सबै दृष्यहरु फनफनी नाचिरहेका हुन्छ्न् ।

    आफ्ना सन्तानहरु धन कमाउने आशमा परदेश तिर लागेपछि बृद्ध बाबा आमा एक्लै गाउँबेशी तथा मेलापात गर्न बाध्य भैरहेका हुन्छ्न । परदेशमा काम गरिरहेको छोराछोरीले हँसिया, नाम्लो काखी च्यापेर त्यो बुढेसकालको शरीरलाई उकाली ओराली गराइरहेको आमाको रुपलाइ सम्झन्छ्न ।

    दसैँका बेला देउरालीमा घुम्ने त्यो चर्खे पिङ , ती सङ्गीसाथीहरु , गाउँका बुढापाकाहरुका अगाडि लामबद्ध भएर टीका थाप्दाको त्यो अवस्था , ती सबै दृष्यहरुले ती परदेशी नेपालीको मन पलपलमा झस्काइदिने गर्छ ।

    आफ्ना आगाडि गाउँका छोरा छोरीहरु टीका थाप्न लामवद्ध हुँदा त्यहाँ आफ्ना परदेशी छोरा छोरीलाई नपाउदा, उनीहरुलाई सम्झेर कति रुन्छ होला ती आमा बाबाको मन ? तर पनि आफ्ना आँसु भित्रै लुकाउँदै लामवद्ध भएकालाई खुशी साथ टीका लगाइदिन्छ्न बाबा आमाहरुले ।

    दसैँका बेला हाम्रो समाजमा वर्षौँदेखि देखिदै आएका तिनै कारुणिक दृश्यलाई कुसलतापूर्वक सरल शब्दमा उनेका छन् जनगायक जीवन शर्माले यस गीतमा । गीतमा समस्या र पीडा एवं ब्याथाहरुको उत्खनन् मात्र गरिएको छैन, त्यसबाट समाधानको स्पस्ट मार्गचित्र पनि प्रस्तुत गरिएको छ । सधैँभरी विदेश जानु पर्ने यो समस्याबाट मुक्ति पाउने जुक्ती पनि गीतका शब्दहरुले बोलेका छ्न ।

    तिरी कहिल्यै नतिरिने सामन्तको रिन
    जति काम गरे पनि हामी गरिब किन
    फर्की म त आउदैछु छिट्टै
    गाउँका साथी लिएर साथैमा
    यसपाली त यस्तै भो आमा
    अर्को साल आउनेछु दसैँमा ..

    यहाँ सारा शहरमा रहेछ्न सचेत साथी
    चेतना र एकताको हिड्छ्न सन्देश बोकी
    देशै भुली बस्दैनौ अब
    बिदेशीको धनैको रसैमा
    यसपाली त यस्तै भो आमा
    अर्को साल आउनेछु दसैँमा..

    चिने आमा को हो शत्रु को हो हाम्रो मित्र
    त्यसैले त आगो बल्छ मन भित्र भित्र
    घरै छोडी नआउनु कोही
    सामन्तको रिन तिर्ने आसैमा
    यसपाली त यस्तै भो आमा
    अर्को साल आउनेछु दशैमा..

    यसरी गीतले धन कमाउने रहर साचेर विदेशी भूमिमा नजान नेपालीलाई स्पस्ट रुपमा आव्हान गरेको छ । आफूलाई परदेशी हुन बाध्य पार्ने को हो ? तिनीहरुलाई प्रत्येक परदेशी नेपालीले अब चिन्नु पर्दछ ।

    देशका शासकहरु, देश बदल्ने सामर्थ्य बोकेका युवा शक्ति दैनिक रुपमा हजारौको सङ्ख्यामा विदेश जाँदै गर्दा रमाइरहेका छन् । उनीहरुले पठाएको रेमिट्यान्सबाट नै देशको अर्थतन्त्र धानिरहेको छ ।

    विदेशमा रहेका ती लाखौँ परदेशी नेपालीलाई स्वदेश झिकाएर लगाउने कुनै स्पस्ट कामको योजना छैन सरकारसँग । यसरी विदेशबाट पठाउने रेमिट्यान्सको भर परेर देशको अर्थतन्त्र बलियो हुन सक्दैन ।

    देशलाई विकास र समुन्नतिको मार्गमा अघि बढाउन स्वावलम्वी अर्थतन्त्र को निर्माण गर्नु नितान्त जरुरी हुन्छ । त्यसका लागि देशभित्रै प्रशस्त मात्रामा उधोगधन्दा र कलकारखानाहरुको बिकास गरि देशको जनशक्तिले देशभित्रै रोजगारीको अवसर पाउने अवस्था सृजना गरिनु पर्दछ ।

    तर त्यो अवस्था आफै सिर्जना हुँदैन । त्यसकालागि जनपङ्तीबाट नै सशक्त दबाब दिनुपर्छ । परदेश गएका दाजुभाइ दिदीबहिनीले आफूलाई परदेशी बनाउन बाध्य पार्ने देशको थिती र नीति हो भन्ने तथ्यलाइ बुझ्नु पर्दछ ।

    आफ्नो सत्रु को हो र मित्र को हो भनेर उनीहरुले खुट्टाउन सक्नु पर्दछ । गीतले स्पस्टरुपमा त्यही सन्देश दिन खोजेको छ सामन्तको रिन तिर्ने आसमा कोही पनि विदेश नजानु, बरु आफूलाई विदेशिन बाध्य पार्ने देशको नीति र थिती बदल्ने काममा लाग्नु ।

    दबाब दिएर, संघर्ष गरेर देश भित्रनै रोजगारीको अवसर सिर्जना गर्न सरकारलाइ बाध्य पारौँ। यसरी सधैभरी परदेशिएर हाम्रो समस्याको सामाधान हुने छैन । स्वावलम्बी अर्थतन्त्रको निर्माण नगर्दासम्म देश बिकासको गतिमा अघि बढ्न सक्दैन ।

    त्यसैले हाम्रो देशको राज्यसत्ताको अर्धसामन्ती र अर्धऔपनिवेसिक जुन चरित्र छ हामीले सबै भन्दा पहिले राज्यको त्यो मुलचरित्रमा बदलाब ल्याउनु जरुरी छ । राज्यसत्ताको त्यो मुल चरित्र नबदल्दासम्म रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हट्ने छैन। आफ्ना सन्तानहरु, जहान, लालाबालाको पेट पाल्नकै लागि परदेशिनु पर्ने यो बाध्यात्मक अवस्थाको अन्त्यका लागि हरेक आमाबाबाहरुले आफ्ना सन्तानलाई स्वदेश फर्किएर देशको थिती बदल्ने काममा लाग्न आव्हान गर्नु पर्दछ ।

    विदेशमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरु अब स्वदेश फर्किएर राज्यको मूलचरित्र बदल्ने अभियान, देशलाई स्वावलम्बी अर्थतन्त्रको मार्गमा हिँडाउने अभियानमा लाग्नु पर्दछ । जनगायक जीवन शर्माको कालजयी गीत ‘यसपाली त यस्तै भो आमा’ ले मूलरुपमा त्यहीँ आव्हान गरेको छ ।

    कसरी सिर्जना भयो यो गीत ?

    ‘यसपाली त यस्तै भो आमा’ गीतको सिर्जना जनगायक जीवन शर्माले आज भन्दा २० बर्ष अगाडि अर्थात २०५८ सालमा गरेका थिए । २०५८ सालमा म्युजिक नेपालबाट प्रकाशित रक्तिमको एल्बम ‘कालिगण्डकी’ भित्र यो गीत समाबिष्ट रहेको छ ।

    जनताका गीत सङ्गीत लिएर खाडी मुलुकहरुमा पुगेका बेला त्यहाँ पसिना बगाइरहेका श्रमजीवी प्रवासी नेपालीको मनोभावना बुझेर शर्माले यो गीत लेखेका थिए ।

    जनसंगीत यात्राको सिलसिलामा २०५८ सालको दसैँताका हामी युएइ पुगेका थियौँ । रोजगारीको क्रममा युएइ पुगेका श्रमजीवी नेपाली कतिपय छुट्टी पाएर स्वदेश फर्किएका थिए , छुट्टी नपाएकाहरु मनभरी पीडा बोकेर त्यहीँ बसिरहेका थिए ।’

    गीत रचनाकालको पृष्ठभूमि सम्झदै जनगायक जीवन शर्माले भने, ‘प्रवासी नेपालीहरुको त्यस्तो अवस्था त्यो युएइमा मात्र होइन संसारका अरु विभिन्न देशहरुमा समेत उस्तै थियो । संसारैभरी छरिएर रहेका श्रमजीवी नेपालीको त्यहीँ मनस्थिति प्रती संवेदनशील भएर यो गीतको रचना गरिएको हो ।’

    जनगायक शर्माले भनेझै यो गीतले साच्चै नै दसैँका बेला घर आउन नपाइ संसारका विभिन्न देशमा छरिएर बसेका ती लाखौँ परदेशी नेपालीको मनको पीडा बोलेको छ । गीत रचनाकालको त्यो बेला र अहिले परिस्थिति धेरै बदलिएको छ ।

    त्यो समयमा देशमा निरङ्कुश राजतन्त्रको शासन थियो । अहिले गणतन्त्र आइसकेको छ । तर परदेशी नेपालीको अवस्थामा भने अझै नि तात्विकअन्तर आउन सकेको छैन । बरु रोजिरोटीका लागि परदेशिन पर्ने बाध्यता अहिले झन बिकराल बन्दै गैरहेको छ ।

    ‘अहिले पनि लाखौँ प्रवासी नेपाली नेपाल आउन नपाउदा पीडित भैरहेका छन, अहिले एकातिर उनीहरुलाई छुट्टी मिल्दैन , अर्को तिर छुट्टी मिले पनि कोरोना कहरका कारण आउन सहज छैन । यो अवस्थामा यो गितको महत्व झन उचाइमा उठेको छ ।’ जनगायक शर्मा भन्छ्न्, ‘यो अवस्थामा दसैँका बेला आफ्नो देश र गाउँ फर्कन नपाएका ती लाखौ प्रवासी नेपालीमा देश प्रतिको माया र गाउँघर प्रतिको संवेदनशीलता अझ तीव्र होस् भन्ने अभिप्रायले यसलाई अहिले म्युजिक भिडियोको रुपमा ल्याइएको हो ।’

    जसको ब्याथा, उसकै अभिनय

    यसपाली त यस्तै भो आमाू गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । यसमा कुनै बनावटी र कृत्रिम पात्र छैनन् । जसको पीडा र ब्याथा गीतका शब्दहरुले बोकेका छ्न, तिनै प्रवासी श्रमजीवी नेपालीको अभिनय यसमा देख्न सकिन्छ ।

    कलाकारहरुले गीतको भावलाई हुबहु रुपमा उतारेका छ्न् आफ्नो अभिनय र नृत्यमा । रोजगारीका लागि संसारका विभिन्न देशमा छरिएर रहेका रक्तिमका पाका पुराना कलाकारकै अभिनय यसमा समाबिष्ट छ ।

    देश भित्र रहँदा रक्तिम सांस्कृतिक अभियानमा रहेर लामो समयसम्म क्रियासिल रहेका ती कलाकार, जो अहिले रोजगारीको लागि जापानका विभिन्न शहरहरुका होटल तथा रेस्टुरेन्टहरुमा पुगेर मजदुरी गरिरहेका छ्न् । कोही दक्षिण कोरियाका कलकारखानामा त कोही भारतका गल्ली गल्लीमा कामको खोजिमा भौतारिइरहेका छ्न ।

    कोही कलाकार साथीहरु अरबको तातो बालुवामा पसिना बगाइरहेका छ्न । कोही फ्रान्सको सेनामा रहेर युद्धमा लडिरहेका छन् । ती कलाकारहरु अहिले जो जहाँ रोजगाररत रहेका छ्न् उनीहरुले त्यहीँ आफूले काम गरिरहेकै ठाउँबाट गीतमा अभिनय गरेर भिडियो फुटेजहरु पठाएका छन ।

    यसरी विदेशका ठाउँमा प्रत्यक्ष पसिना बगाइरहेका वास्तविक पात्रहरुकै अभिनय यस गीतको म्युजिक भिडियोमा समेटिएको छ । त्यसबाहेक अहिले पनि देशभित्र रहेर जनसांस्कृतिक यात्रामा अहोरात्र खटिरहेका रक्तिम हस्तिहरुको अभिनय पनि यस गीतमा देख्न सकिन्छ ।

    नृत्य र अभिनय गरि चार दर्जन भन्दा बढी पुराना र नयाँ रक्तिम कलाकारहरुले यसमा अभिनय गरेका छ्न । देश विदेशका विभिन्न स्थानबाट रक्तिम कलाकारहरुले पठाएका ती भिडियो फुटेजहरुको संयोजन जनगायिका निलिमा पुनले गरेकी छन् भने सम्पादन तुलसी बास्कोटाले गरेका छन ।

    म्युजिक भिडियोमा अभिनय गर्ने रक्तिम कलाकारहरुमा सचित्र केसी-जापान, डमर भण्डारी-नवलपुर, मान बहादुर भण्डारी-बाँके, लक्ष्मी रिजाल-कैलाली, सुमन रोका मगर-फ्रान्स, धनबहादुर थापा-बागलुङ, जीवलाल शर्मा-दक्षिण कोरिया, बिमल पाण्डे-बागलुङ, हुमाकान्त आचार्य-कतार र शरद लामिछाने-बाँकेले अभिनय गरेका छन् ।

    त्यस्तै सूर्य थापा मगर-भारत, प्रकाश बिसी-जापान, मनकाजी गुरुङ-भारत, लिला परियार-जापान, बलदेब राना-कतार, सुजन थापा-पोखरा, अमर बिक-कतार, खडक पुन-जापान, राजु थापा मगर-भारत, गिरि काउछा-कतार, ऋषिराम पौडेल , नेरु आचार्य र कमल बिक-जापान, उमा गुरुङ-कैलाली, गौरिलाल कार्की-बाँके र चक्र चनारा-कैलालीले अभियान गरेका छन् ।

    त्यसैगरी म्युजिक भिडियोमा बागलुङबाट प्रदीप श्रीष, बिनोद पाण्डे, नरबहादुर केसी, मिलन सुनार, सुर्य पौडेल, मदन भुपाल र खगी बिक, कैलालीबाट पबित्रा बडु, कृति पुन र धर्मराज जोशी , भारतबाट शारदा गुरुङ, लक्ष्मी गुरुङ, खगी थापा, मन्जु थापा, गोमा थापा, रुपा कार्की, बिनिता कार्की, सिमा शर्मा, मन्जु शर्मा र रुपा थापा, बाँकेबाट गुणनिधी आचार्य र ईश्वर पाण्डेको अभिनय तथा नृत्य रहेको छ ।

    रक्तिमकै कलाकारहरु केशब राना-काठमाडौं, विशाल थापा मगर-रुपन्देही र हरि सर्तुङ्गी-गुल्मीको नृत्य, बागलुङको प्रथम हाँडिकोट महोत्सवमा प्रदर्शन गरिएका नौमती बाजा टोली र विभिन्न आमा समूहका नृत्यहरु यो गीतको म्युजिक भिडियोमा समेटिएको छ ।

    रक्तिमका कुशल नृत्यकार बिमल पाण्डेको कोरियोग्राफिमा रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर समिति बागलुङका कलाकारहरु र मनकाजी गुरुङको कोरियोग्राफिमा भारत रोपडका रक्तिम कलाकारहरुले निकै सुन्दर नृत्य प्रस्तुत गरेका छ्न ।

    देश विदेशका विभिन्न स्थानहरुमा जनगायक जीवन शर्माले यो गीत प्रस्तुत गर्दाका भिडियो फुटेजहरु पनि यसमा समावेश गरिएको छ । गीतको म्युजिक भिडियो छायाङ्कन गर्न, जुटाउन र दर्शक श्रोतासम्म ल्याइ पुर्याउदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरैको अमूल्य सहयोग रहेको बुझ्न सकिन्छ ।

    म्युजिक भिडियो निर्माणमा सीता पुन, कमल बिक, चित्र बिक, ज्ञान थापा, नाम्गेल मोक्तान र रुद्र कार्की, मादल रेष्टुरेन्ट कामता जापान र रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर समिति बागलुङलगायतले विशेष सहयोग पुर्याएका छ्न ।

    सबैको एकीकृत प्रयास बाट ‘यसपाली त यस्तै भो आमा’ गीतको एउटा राम्रो म्युजिक भिडियो तयार भएको छ ।

    एउटै गीतमा यति धेरै रक्तिम कलाकारहरुले एकै पटक अभिनय गरेको सम्भवतः यो नै पहिलो रक्तिम गीत होला । यस गीतमार्फत जनगायक जीवन शर्माले देश विदेशमा छरिएर रहेका रक्तिम कलाकारलाई एकै ठाउँमा जुटाएका छ्न ।

    तर अझ धेरै कलाकारलाई यसमा समेट्न नसकिएको जनगायिका निलिमा पुन बताउँछिन्, ‘जसको ब्याथा र कथा गीतका शब्दहरुले बोकेका छ्न, तिनैका प्रतिनिधि पात्रलाई बढी भन्दा बढी सङ्ख्यामा समेट्ने हाम्रो चाहाना हो । तर कतिपय प्राविधिक र परिस्थितिजन्य कारणहरुले गर्दा हामीले अझ सोचे जति कलाकारलाई यो गीतमा समेट्न सकेनौ ।’

    गीतको म्युजिक भिडियो निर्माणमा संयोजनकारी भूमिका निभाएकी जनगायिका निलिमा पुनले भनिन्, ‘देशको जनसाँस्कृतिक अभियानमा अमूल्य योगदान पुर्याएका रक्तिम कलाकारहरु जो बाध्यता र बिवसताले गर्दा विश्वका विभिन्न देशहरुमा पुगेर अहिले पसिना बगाइरहेका छ्न्, उनीहरु सबैलाई हाम्रो चाहाना हुदा हुँदै पनि एउटै गीतभित्र समेट्नु त्यो सम्भव भएन। यो त हाम्रो सुरुवाती प्रयास मात्र हो । आगामी दिनमा अन्य गीतमा अहिले छुट्नु भएका सबै कलाकार साथीलाई हामीले समेट्ने प्रयास अवस्य गर्नेछौँ ।’

    जनगायिका पुनले छोटो समयको प्रयासमा ‘यसपाली त यस्तै भो आमा’ गीतको म्युजिक भिडियोका बारेमा दर्शक श्रोताबाट आएको प्रतिक्रियाले आफू खुसी भएको बताइन । उनले भिडियो निर्माणमा सहयोग गर्ने सबैमा आभार र धन्यवाद दिएकी छन् ।

    चेतनामुलक दसैँ गीत

    ‘यसपाली त यस्तै भो आमा’लाई मुलत: चेतनामुलक दसैँ गीतका रुपमा लिन सकिन्छ । यसप्रकारका जनपक्षीय गीतको तुलना अन्य ब्यवसायिक गीतसँग गर्नु त्यो पटक्कै नसुहाउने कुरा हो । हामी सहजै बुझ्न सक्छौँ, यो गीत निर्माण पछाडिको उदेश्य व्यवसायिक रुपमा मुनाफा कमाउनु कदापी होइन । समाजलाई चेतनामुलक सन्देश दिनका लागि नै यस गीतको म्युजिक भिडियो निर्माण गरिएकोमा कुनै शङ्का छैन ।

    पुँजीवादी गीत तथा संगीतको बोलवाला चलिरहेको वर्तमान बजारमा यसप्रकारका जनपक्षीय चेतनामुलक गीत तथा संगीतको यात्रा अगाडि बढाउने बढाउने कार्य निकै जटिल र कठिन छ । तर पनि श्रमजीवी जनताको साथ र सहयोगबाट जनगायक जीवन शर्माले बर्षौदेखि त्यो कठिक कार्यको सफलतापूर्वक नेतृत्व गर्दै आएका छन ।

    सीमित साधन स्रोत र आर्थिक अभावका बाबजुद पनि ‘यसपाली त यस्तै भो आमा’ को म्युजिक भिडियो जुन रुपमा तयार भएको छ यसलाई उत्कृष्ट नै मान्नु पर्छ । हुन त यो गीत जनगायक जीवन शर्माको एकल स्वरमा रहेको छ तर पनि यो गीत विदेशमा बस्ने सबै नेपालीको साझा गीत हो ।

    दाजुभाइहरु मात्र होइन, हाम्रा कैयौ दिदी बहिनीहरु पनि दसैँका बेला परदेशबाट आफ्नो घर आउन पाएका छैनन्। गीतको अभिनयमा ती परदेशी नेपाली चेलीको अभिनयलाइ पनि समेट्न सकेको भए अझ राम्रो हुने थियो ।

    तर पनि जति अभिनयहरु समेटिएका छ्न, ती सबै यथार्थ र मार्मिक नै छ्न । यस गीतमा दसैँका बेला आफ्नो घर जान नपाएका प्रत्येक नेपालीले आफ्नै कथा र ब्याथा भेटाउन सक्छ्न , यो उनीहरुको मनको भावना समेटिएको छ ।

    सधैभरी रोजिरोटीका लागि परदेशिनु पर्ने बाध्यताको अन्त्यका लागि देशमै फर्किन र बिदेसिनु पर्ने थितिको अन्त्य गर्ने अभियानमा लाग्न यो गीतले हरेक परदेशी नेपालीलाई अभिप्रेरित गर्दछ ।

    निष्कर्षमा भन्नू पर्दा दसैँका बेला आफ्नो घर आउन नपाएका हरेक परदेशी नेपालीको यथार्थ बेदना बोकेको मार्मिक र चेतनामुलक गीतको रुपमा आएको छ ‘यसपाली त यस्तै भो आमागीतको म्युजिक भिडियो ।

    दसैकोसम्मुखमा यो म्युजिक भिडियो ल्याएर निकै राम्रो कार्य गरेका छ्न् जनगायक जीवन शर्माले । यस्तै जनब्याथा समेटिएका नयाँ नयाँ गीतहरु श्रमजीवी जनताले सुन्न पाइराखुन् । जनगायक जीवन शर्माको समग्र जनगीतीयात्राले सफलताको उच्च शिखर चुम्दै जाओस । जनगायक शर्मा लगायत ‘यसपाली त यस्तै भो आमा’ गीतको म्युजिक भिडियो निर्माणमा योगदान पुर्याउने सम्पूर्ण टोलीलाई हार्दिक बधाइ तथा यो गीतको सफलताको हार्दिक शुभकामना ।

    (लेखक :रक्तिम सांस्कृतिक अभियानमा आवद्ध कलाकार तथा पत्रकार हुन्)

    बिहिवार, आश्विन २२ २०७७१२:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology