शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

मैथिली चलचित्र : दर्शक छन्, चलचित्र छैनन्

मैथिली भाषा नेपालको दोस्रो सबैभन्दा धेरै बोलिने भाषा हो, तर सांस्कृतिक र साहित्यिक समृद्धिको बाबजुद चलचित्र निर्माण क्षेत्रमा भने यो भाषा पछाडि परेको छ । यसको कारण र सम्भावनाबारे साहित्यकार, नाट्यकर्मी र चलचित्रकर्मीहरूले विभिन्न दृष्टिकोण प्रस्तुत गरेका छन् । साहित्यकार, कलाकार तथा गीतकार धीरेन्द्र प्रेमर्षिका अनुसार मैथिली भाषामा नेपाली वा भोजपुरीजस्तो व्यावसायिक र पूर्ण तयारीका साथ चलचित्र निर्माण भएको छैन । नेपालमै बन्ने गरेका चलचित्रहरू रहर वा सानो बजेटमा तयार हुन्छन् । मैथिली भाषाका चलचित्र निर्माणमा प्रोत्साहन देखिएको छैन । 

धर्मेन्द्र झा र भेषराज कार्की
नेपालको सांस्कृतिक र भाषिक विविधताले यहाँको चलचित्र उद्योगलाई समृद्ध बनाउने सम्भावना बोके पनि त्यसअनुसारको उपलब्धि भने प्राप्त हुन सकेको छैन । नेपाली भाषाबाहेक अन्य स्थानीय भाषामा चलचित्र निर्माणको सङ्ख्या नेपालमा निकै न्यून छ । विशेषगरी मधेस प्रदेशमा चलचित्र भवनको सङ्ख्या उल्लेख्य छ, तर स्थानीय भाषाका चलचित्र बन्न नसक्दा तिनले राम्रो व्यवसाय गर्न सकेका छैनन् । स्थानीय रुपमा बोलिने मैथिली भाषामा चलचित्र निर्माण नभएपछि अन्य भाषाका चलचित्रको दबदबा त्यहाँ पाइएको छ । 

मैथिली भाषा नेपालको दोस्रो सबैभन्दा धेरै बोलिने भाषा हो, तर सांस्कृतिक र साहित्यिक समृद्धिको बाबजुद चलचित्र निर्माण क्षेत्रमा भने यो भाषा पछाडि परेको छ । यसको कारण र सम्भावनाबारे साहित्यकार, नाट्यकर्मी र चलचित्रकर्मीहरूले विभिन्न दृष्टिकोण प्रस्तुत गरेका छन् । साहित्यकार, कलाकार तथा गीतकार धीरेन्द्र प्रेमर्षिका अनुसार मैथिली भाषामा नेपाली वा भोजपुरीजस्तो व्यावसायिक र पूर्ण तयारीका साथ चलचित्र निर्माण भएको छैन । नेपालमै बन्ने गरेका चलचित्रहरू रहर वा सानो बजेटमा तयार हुन्छन् । मैथिली भाषाका चलचित्र निर्माणमा प्रोत्साहन देखिएको छैन । 

“केही स–साना ‘भिडियो’ चलचित्रहरू बनेका छन्, तर व्यावसायिक रुपमा निर्माण गरिने चलचित्र बनेका छैनन् । यहाँ आँट गरेर लगानी गर्ने लगानीकर्ताको अभाव छ । भाषा, साहित्य र समुदायप्रति दायित्व बोध गर्ने व्यक्तिहरूको कमीले मैथिली चलचित्र अगाडि बढ्न सकेको छैन,” उहाँले भन्नुभयो । मैथिली भाषामा निर्माण हुने चलचित्र मिथिलाको कथा र संस्कृतिलाई समेट्दै सीमित बजेटमा तयार हुन सके बिस्तारै बजार बढ्ने र चलचित्रप्रति आकर्षण बढ्ने साहित्यकार झाले बताउनुभयो । तराईमा चलचित्रको बजारको सम्भावनालाई ‘सस्ता जिनगी महग सेनुर’ जस्ता चलचित्रले पहिले प्रस्ट्याइसेकको पत्रकार तथा मैथिलीका प्राध्यापक श्यामसुन्दर शशीले स्मरण गर्नुभयो । उहाँका अनुसार सन् १९९९ मा प्रदर्शन भएको उक्त मैथिली चलचित्रले तराईका चलचित्र भवनमा महिनौँ प्रदर्शन भएर व्यासायिक रुपमा समेत राम्रो आर्जन गरेको थियो । चलचित्रको भाषामा उक्त समयमा उक्त चलचित्रलाई ‘ब्लकबस्टर’ भनिएको थियो ।  

“महिनौँसम्म प्रदर्शन भएको चलचित्र हेर्न दर्शकहरू ट्याक्टर, टायर गाडा चढेर चलचित्र भवनसम्म पुगेका थिए । त्यतिबेला भारतीय ठूला चलचित्रको बजारलाई समेत यसले प्रभावित गरेको थियो । चलचित्र भवनबाट अन्य भाषाका चलचित्र विस्थापित भएका थिए तर त्यो सम्भावनाले पनि स्वदेशी चलचित्र निर्माणलाई प्रोत्साहित गर्न सकेन”, मधेस आमसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष साहित्यकार श्यामसुन्दर यादवले भन्नुभयो । मुरलीधरले निर्देशन गर्नुभएको चलचित्र ‘सस्ता जिनगी महग सेनुर’ भारतीय कम्पनीले निर्माण गरेको भए पनि नेपालमा प्रदर्शन अधिकार निर्देशक स्वयंले लिनुभएको थियो । तर, त्यसपछिका प्रयासहरूले सफलता पाउन नसकेको उहाँको भनाइ छ । 

मिथिला क्षेत्रका चर्चित गायक रङ्गकर्मी सुनीलकुमार मल्लिकका अनुसार, “मैथिलीभाषी क्षेत्रमा मैथिली चलचित्रको बजार ठूलो छ, तर यहाँका प्राविधिक र दक्ष जनशक्ति स्थानीय स्तरमा अवसरमा उपलब्ध नहुँदा काठमाडौँ वा मुम्बईतिर पलायन हुने क्रम जारी छ । यसले मैथिली चलचित्र निर्माणमा ठूलो चुनौती थपिएको छ ।” उहाँका अनुसार भाषा अभियन्ता, साहित्यप्रेमी वा कलाकारको प्रयास रहरमा मात्र सीमित छ । व्यावसायिक रूपमा अगाडि नबढेसम्म मैथिली चलचित्रले दर्शक तान्न सक्दैन । नाट्यकर्मी कलाकार रमेशरञ्जन झाका अनुसार विशेषगरी वीरगञ्जदेखि राजविराजसम्मको भूभागमा मैथिली भाषी समुदायको बाक्लो उपस्थिति छ । यति ठूलो बजार भएर पनि मैथिली चलचित्रको निर्माण न्यून हुनुमा आर्थिक, सामाजिक र प्राविधिक कारणहरू जिम्मेवार छन् । यद्यपि, झा मैथिली चलचित्रको भविष्यप्रति आशावादी हुनुहुन्छ । 

“केही छोटा चलचित्रहरू (लघु चलचित्र, डकुमेन्ट्री) बनेका छन्, तर ठूला व्यावसायिक चलचित्रहरू बन्न नसक्दा यहाँका प्रतिभाशाली जनशक्ति बाहिरी उद्योगमा गएर काम गरिरहेका छन् । तर, नयाँ पुस्ताले नवीन सोच र कथावस्तु लिएर आउनेछन् । वीरगञ्जदेखि जनकपुरसम्मको बजारलाई लक्षित गरी कसैले अवश्य प्रयास गर्नेछ”, उहाँले भन्नुभयो । केही महिना पहिले प्रदर्शित भई चर्चित भएको चलचित्र ‘राजागञ्ज’का कलाकार आरती मण्डलले राज्य र सम्बन्धित निकायले मैथिली चलचित्र निर्माणलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न भाषाभाषीका चलचित्रमार्फत नेपालभरको बजारलाई एकीकृत गर्न सकिने उहाँको बुझाइ छ । “हामीले विदेशी चलचित्रजस्तो मैथिली चलचित्रलाई हेर्न दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ अनि मात्र यसको सङ्ख्यात्मक वृद्धि गर्न सकिन्छ । अहिले पनि चलचित्रकर्मीले तराईको बजारलाई पहिचान गर्न सकेका छैनन्, जहाँ सम्भावना धेरै छन् । तर, त्यो सम्भावनालाई प्रमाणित गर्नेको कमी छ”, कलाकार मण्डलले भन्नुभयो । 

मैथिली छोटा चलचित्र निर्देशन गरेर ‘फिचर चलचित्र’ निर्देशक बन्नुभएका पूर्णेन्दुकुमार झा केही वर्षयता ‘लेबर’ चलचित्रको तयारीमा जुट्नुभएको छ । प्रारम्भमा उक्त चलचित्रलाई मैथिली भाषामा तयार गर्ने घोषणा गर्नुभएका निर्देशक झा बजार अध्ययनपछि उक्त चलचित्र बहुभाषामा बनाउने निष्कर्षमा पुग्नुभयो । 

उहाँले समृद्ध भाषा र ठूलो बजार भएर पनि मैथिली चलचित्रले गति लिन नसक्नुमा आर्थिक लगानीको अभाव, वितरकको उदासीनता, प्राविधिक जनशक्तिको पलायन र हिन्दी–भोजपुरी चलचित्रको प्रभुत्व प्रमुख कारण रहेको औँल्याउनुभयो । “बजार छैन भन्ने भाष्यका कारण हामीले मैथिली चलचित्रलाई अगाडि बढाउन कठिनाइको सामना गर्नुपरेको हो । बजार बनाउनेतर्फ हाम्रो सोच विकसित हुन सकेन, त्यसकारण पनि चलचित्र निर्माणमा आकर्षण घटेको हो । यद्यपि, पछिल्लो समय नयाँ पुस्ताले गरिरहेको प्रयासले छिट्टै नयाँ समयको सुरुआत गर्छ भन्ने विश्वास छ”, निर्देशक झाले भन्नुभयो, “मैथिलीमा दर्शक त छन् तर चलचित्र नै छैनन् ।” 

आगामी पाँच वर्षमा नेपालसँगै भारतमा रहेका मैथिली भाषाका चलचित्रमा काम गरिरहेका चलचित्रकर्मीले परिणाम दिनेमा उहाँ विश्वस्त हुनहुन्छ । उहाँ आफैँ पनि आगामी वर्षको मजदुर दिवसमा बहुभाषा ‘लेबर’ निर्माण गरेर प्रदर्शन गर्ने योजनामा हुनुहुन्छ ।  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डअन्तर्गत रहेका उपसमितिमार्फत भाषाभाषीका चलचित्रलाई प्रवद्र्धन गर्ने कार्य गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रवद्र्धन गर्ने सोच बनाएका छौँ । अहिले हामी ऐन निर्माणको प्रक्रियामा छौँ, आउँदो समयमा मैथिलीसहित अन्य भाषाका चलचित्र निर्माणमा ऊर्जा थपिने विश्वास छ । चलचित्र निर्माणमै कमी देखिए तापनि स्थानीय रुपमा नाटक, वृत्तचित्र निर्माण भइरहेको जानकारी पाएको छु, तर प्रोत्साहन र प्रवद्र्धन गर्ने कार्यमा बोर्ड सधैँ तत्पर छ ।”

उहाँले मैथिली भाषामा चलचित्र निर्माणको सङ्ख्या कम महसुस गरेर मैथिली चलचित्रलाई लक्षित गर्ने महोत्सवमा सहकार्यसमेत गरेको बताउनुभयो । “मैथिली भाषाको चलचित्रलगायत गतिविधि बढाउन हामीले उक्त भाषाका सर्जकसँग सहकार्य गरेर गतिविधि बढाइरहेका छौँ”, अध्यक्ष डिसीले भन्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सरकारको ध्यान कुनै भाषाभाषी विशेषभन्दा पनि समग्र नेपालमा बन्ने चलचित्रलाई नै प्रवद्र्धन गर्नेमा केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी चलचित्र उद्योगलाई बलियो बनाउन ध्यान केन्द्रित गरेर गतिविधि गरिरहेका छौंँ । स्टुडियो निर्माण, चलचित्र ऐनलगायतका कार्यले भविष्यमा सबै भाषाका चलचित्रकर्मीलाई लाभान्वित बनाउँछ भन्नेमा हामी विश्वस्त छौँ । हामी समग्रमा नेपाली चलचित्र र सबै भाषामा बन्ने चलचित्रलाई नीतिगत रुपमा सुविधा पुग्ने किसिमले काम गरिरहेका छौँ ।”

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षसमेत रहनुभएका मन्त्रालयका प्रवक्ता ठाकुरले आफू मन्त्रालयमा कार्यभार सम्हालेयता कुनै मैथिली भाषाका चलचित्र जाँचपासका लागि आएको स्मरण नरहेको बताउनुभयो । प्राध्यापक शशीका अनुसार, चलचित्र एक सशक्त माध्यम हो जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ, मैथिली पनि अपवाद हुन सक्दैन । उहाँले भन्नुभयो, “मैथिली चलचित्रले सांस्कृतिक पहिचानलाई विश्वव्यापी रूपमा चिनाउन सक्ने क्षमता राख्छ, तर यसका लागि सामूहिक प्रयास अपरिहार्य छ ।” 

अर्का विश्लेषक मधेस आमसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष यादवको भनाइ छ, विडम्बना यो छ कि बजारको सम्भावना हुँदाहुँदै पनि प्रोत्साहनको कमीले गर्दा मैथिली चलचित्रहरू निर्माण हुन् सकेका छैनन् । त्यस्तै अर्का अध्येता कलाकार सुनील मल्लिक भन्नुहुन्छ, “चलचित्र राष्ट्रनिर्माणको माध्यम पनि हो । देशलाई एकता सूत्रमा आबद्ध गर्ने एक सशक्त माध्यम पनि हो । विविध भाषामा चलचित्र निर्माण हुन सकेनन् भने समग्र राष्ट्रनिर्माण प्रक्रियाको गति पनि ढिला हुन सक्छ । राज्यले यसका बारेमा गम्भीर भई भाषाभाषी चलचित्र निर्माणको प्रक्रियालाई प्रोत्साहित गर्नुपर्छ ।” 

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार २०६७ सालमा ‘सजनाके अङ्गनामे सोलह सिङ्गार’, विसं २०७० सालमा ‘जान’, २०७१ सालमा ‘लभ मिथिलानगर’, २०७२ सालमा ‘धारक पार’, २०७३ सालमा ‘मधेशी पूत्र’, ‘सलहेस (द पिपल्स हिरो)’, ‘राधासँग मोहन’ र ‘श्री शम्भुनाथ धाम’, २०७४ सालमा ‘औकात’, ‘सजना सिनेहिया’ र ‘२ दिल १ जान’, २०७५ सालमा ‘बदला आइग क’, २०७६ सालमा ‘छिन्नमस्ता जय सखडेश्वरी’, २०७७ सालमा ‘सजना के अङ्गना’ र ‘मधेशी पुत्र रिर्टन्स’, २०७९ सालमा ‘त्रास एक खौफ’ र २०८० सालमा ‘लेबर’ नामक लघु चलचित्र तथा चलचित्र दर्ता भएका छन् । यीमध्ये केही निर्माण भए तापनि अधिकांश निर्माण हुनसकेका छैनन् ।  

बोर्डको तथ्याङ्कअनुसार हाल मधेस प्रदेशमा २५ चलचित्र भवन सञ्चालनमा छन् । यी चलचित्र भवनमा स्वदेशी (नेपाली) चलचित्रको तुलनामा विदेशी (हिन्दी) भाषाका चलचित्रले बढी व्यापार गरिरहेका छन् । विशेषगरी मधेसमा मैथिली चलचित्रलाई केन्द्रित गरेर गतिविधि बढाउन सकेमा दर्शकको सङ्ख्या वृद्धि हुनाका साथै बिस्तारै लगानीकर्ता पनि आकर्षित हुने विश्वास मैथिली भाषी चलचित्रकर्मीहरूको छ । उनीहरूले मैथिली चलचित्र निर्माणलाई केवल व्यावसायिकतासँग मात्र नजोडेर भाषा र संस्कृति संरक्षणका रूपमा पनि हेर्नुपर्नेमा जोड दिएका छन् ।