आईतबार, २९ चैत २०८२

images

आईतबार, २९ चैत २०८२

आईतबार, २९ चैत २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

क्षणिक ऊर्जा, दीर्घकालीन जोखिम : ‘एक्सट्रिम’ इनर्जी ड्रिंकको आकर्षणको जालमा फस्दै युवा पुस्ता

काठमाडौं । बजारमा इनर्जी ड्रिंकको बढ्दो प्रयोगसँगै ‘एक्सट्रिम’ नामक पेय पदार्थ छोटो समयमै चर्चामा आएको छ। आकर्षक प्याकेजिङ, आक्रामक विज्ञापन र “तुरुन्त ऊर्जा” दिने दाबीले विशेषगरी युवा र किशोरकिशोरीलाई आकर्षित गरिरहेको छ। तर, स्वास्थ्य विज्ञहरू भने यसको बढ्दो प्रयोगलाई लिएर गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्। उनीहरूका अनुसार, यस्ता पेय पदार्थले दिने ऊर्जा क्षणिक मात्र हो, तर त्यसको असर भने दीर्घकालीन र खतरनाक हुन सक्छ। विशेषगरी युवा तथा बालबालिकाहरुले अत्याधिक रुपमा यसको प्रयोग गर्दै आएका छन्। तर, यी पेय पदार्थले स्वास्थ्यमा पार्ने असरबारे उपभोक्ता अझै पर्याप्त सचेत देखिँदैनन्। तर, चिकित्सकहरूले भने यसको नियमित सेवनले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्। 

आकर्षणको जालमा फस्दै युवा पुस्ता
पछिल्लो समय सामाजिक सञ्जाल, खेलकुद र मनोरञ्जनसँग जोडेर इनर्जी ड्रिंकको प्रचार तीव्र रूपमा भइरहेको छ। “थकान हटाउने”, “फोकस बढाउने” र “पर्फर्मेन्स सुधार गर्ने” जस्ता दाबीले युवा पुस्तालाई यसको नियमित प्रयोगतर्फ आकर्षित गरिरहेको छ।तर, चिकित्सकहरू भन्छन्—यो ऊर्जा प्राकृतिक होइन, क्याफिन र चिनीको कृत्रिम उत्तेजना हो, जसले शरीरलाई झन् कमजोर बनाउँदै लैजान सक्छ।

‘एक्सट्रिम’भित्र के छ?
बजारमा उपलब्ध ‘एक्सट्रिम’ इनर्जी ड्रिंकमा विभिन्न रासायनिक तत्वहरूको मिश्रण पाइन्छ, जसले स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ। यसमा हुने क्याफिन – स्नायु प्रणालीलाई उत्तेजित गर्ने,ग्लुकोज–फ्रुक्टोज सिरप – अत्यधिक चिनीको स्रोत,टाउरिन – मस्तिष्कमा प्रभाव पार्ने तत्व,एसिडिटी रेगुलेटर (E330, E331) – पाचन प्रणालीमा असर,कृत्रिम रङ (E150D, E104) – दीर्घकालीन जोखिमसँग जोडिएका तत्वहरु समाबेश छन् ।विशेषगरी E104 जस्तो रङलाई केही देशहरूले बालबालिकामा पर्ने असरका कारण सीमित वा नियन्त्रणसमेत गरेका छन्।

मस्तिष्कमा असर: चञ्चलता देखि तनावसम्म
क्याफिन र टाउरिनको संयोजनले मस्तिष्कलाई अत्यधिक उत्तेजित बनाउँछ। जसको कारण चिडचिडापन र आक्रामक व्यवहार,ध्यान केन्द्रित गर्न कठिनाइ,एन्जाइटी र मानसिक तनाव,निद्रा नलाग्ने समस्या,टाउको दुख्ने, हातखुट्टा काँप्ने जस्ता समस्याहरु देखिन्छन । विशेषज्ञहरूका अनुसार, १८ वर्ष मुनिका बालबालिका र किशोरकिशोरीमा यसको असर अझ गम्भीर देखिन्छ, किनकि उनीहरूको मस्तिष्क विकासको चरणमै हुन्छ।

मुटु र शरीरका अंगहरूमा खतरा                                                                                                                                                        इनर्जी ड्रिंकको नियमित सेवनले शरीरका महत्त्वपूर्ण अंगहरूमा नकारात्मक प्रभाव पार्न सक्छ। जसले मुटुको धड्कन असन्तुलित बनाउने, उच्च रक्तचाप,किड्नीमा दबाब र दीर्घकालीन समस्या,हड्डी कमजोर हुने जोखिम (क्याल्सियम कमी) आदि समस्या उत्पन्न हुने गर्दछ । चिकित्सकहरू भन्छन्, अत्यधिक क्याफिनले मुटुको कार्यप्रणालीमै असर पुर्‍याउन सक्छ, जुन दीर्घकालीन रूपमा खतरनाक बन्न सक्छ।

मधुमेह र मोटोपनाको बढ्दो जोखिम

‘एक्सट्रिम’ जस्ता इनर्जी ड्रिंकमा उच्च मात्रामा चिनी पाइन्छ। एक बोतलमै दैनिक आवश्यकताभन्दा बढी चिनी हुन सक्छ, जसले गर्दा टाइप–२ मधुमेहको जोखिम बढाउने,मोटोपना निम्त्याउने,फ्याटी लिभरको समस्या बढाउने आदि समस्या निम्त्याउने गर्दछ ।

लत बस्ने खतरा
क्याफिनयुक्त पेय पदार्थको नियमित सेवनले “एडिक्सन” निम्त्याउन सक्छ। यसले बारम्बार पिउन मन लाग्ने,नपिउँदा टाउको दुख्ने, थकान हुने,
मानसिक निर्भरता बढ्ने गर्दछ ।

अन्तर्राष्ट्रिय स्तरमै चिन्ता                                                                                                                                                                  विश्वका विभिन्न देशहरूले इनर्जी ड्रिंकको असरलाई गम्भीर रूपमा लिएका छन्। केही देशमा बालबालिकालाई बिक्रीमा प्रतिबन्ध,विद्यालय वरिपरि बिक्री नियन्त्रण,हानिकारक रङहरूको प्रयोगमा कडाइ गरिएको छ । यसले इनर्जी ड्रिंकको जोखिम केवल स्थानीय नभई वैश्विक स्वास्थ्य मुद्दा बनिरहेको संकेत गर्छ।

सचेतना नै सुरक्षा
‘एक्सट्रिम’ इनर्जी ड्रिंक जस्ता पेय पदार्थले क्षणिक ऊर्जा दिने भ्रम सिर्जना गरे पनि यसले दीर्घकालीन रूपमा मुटु, मस्तिष्क, किड्नी र समग्र स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। विशेषगरी बालबालिका र किशोरकिशोरीलाई यस्ता पेय पदार्थबाट टाढा राख्नु अत्यावश्यक छ। प्राकृतिक पेय—पानी, फलफूलको जुस, घरेलु पेय—लाई प्राथमिकता दिनु नै उत्तम विकल्प हो। “इनर्जीको नाममा स्वास्थ्यसँग खेलबाड नगर्नुहोस्।”