शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कुलिङ पिरियडमा छलछाम : सभापति खतिवडा नैतिक जिम्मेवार

प्रत्यक्ष वा परोक्ष रूपमा जिम्मेवार ठहर्‍याएको समितिले कसैलाई पनि कारबाहीका लागि कुनै सिफारिस गरेको छैन । समितिलाई दोषी किटान गरी कारबाहीको सिफारिस गर्नसमेत कार्यादेश थियो ।

संसदीय छानबिन समितिले संघीय निजामती विधेयकमा दुई वर्ष कुलिङ पिरियड राख्ने व्यवस्थामा गरिएको छलछाममा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार ठहर गरेको छ । समिति सचिव सुरजकुमार दुराले परिभाषित जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकालेको छ । 

मुख्यसचिव, सचिवलगायत कर्मचारीलाई पदीय आचरणविपरीत कार्यमा जिम्मेवार ठहर्‍याएको समितिले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको भने कुनै भूमिका नरहेको निष्कर्ष निकालेको छ । दुई दिनयता पेचिलो रस्साकस्सीबिच छानबिन समितिले प्रतिवेदन अन्तिम रूप दिएर मंगलबार सभामुख देवराज घिमिरेलाई बुझाएको हो ।

समिति सभापति खतिवडाले मुख्य जिम्मेवारीमा रहेर पनि उत्तरदायीपूर्ण भूमिका वहन नगरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । ‘खतिवडाले परिमार्जनसहित सर्वसम्मत पारित गरेको निर्णय र मस्यौदा प्रतिवेदनमा हस्ताक्षर गरेको, तर मस्यौदा प्रतिवेदन समिति सदस्यहरूलाई देखाई छलफल गर्नुपर्नेमा निश्चित व्यक्तिबिच अनौपचारिक बैठक बसेर पठाएकोमा कमजोरी देखिएको,’ प्रतिवेदनमा छ ।

खतिवडाको हस्ताक्षरमा प्रतिनिधिसभामा पेस भएकाले मस्यौदामा देखिएको गम्भीर त्रुटिमा उनले उत्तरदायीपूर्ण भूमिका वहन नगरेको समितिको निष्कर्ष छ । त्यस्तै, राज्य व्यवस्था समितिका सचिव दुराले भने परिभाषित जिम्मेवारी पूरा नगरेको ठहर छ । ‘समिति सचिवको हैसियतले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै रहेको र प्रतिवेदन लेख्नेसमेत भूमिका रहेको देखिँदा दुराले परिभाषित जिम्मेवारी पूरा नगरेको,’ छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव मीरा आचार्य र कानुन मन्त्रालयका सहसचिव सुवास भट्टराईले प्रतिवेदन पाएर पनि त्रुटि सच्याउनेबारे ध्यान नदिएको समितिले जनाएको छ । त्यस्तै, मुख्यसचिव एकनारायण अर्याललगायत सचिवहरूले राज्य व्यवस्था समितिबाट पारित गरिसकेको व्यवस्था हटाउन पदीय आचरणविपरीत गरिविधि गरेको समितिको ठहर छ । मुख्यसचिव र सचिवहरू कुलिङ पिरियड हटाउन समूह नै बनाएर दलका नेताहरूकहाँ पुगेका थिए ।

प्रत्यक्ष वा परोक्ष रूपमा जिम्मेवार ठहर्‍याएको समितिले कसैलाई पनि कारबाहीका लागि कुनै सिफारिस गरेको छैन । समितिलाई दोषी किटान गरी कारबाहीको सिफारिस गर्नसमेत कार्यादेश थियो । प्रतिवेदनमा ‘राजनीतिक व्यक्तिको राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने’ उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।