शनिवार, ५ बैशाख २०८३
काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भारी गिरावट देखिएको छ। बजार खुल्ने बित्तिकै सुरु भएको ओरालो यात्रा अन्तिम समयसम्म कायम रहँदा लगानीकर्तामा स्पष्ट निराशा देखिएको छ। आज नेप्से परिसूचक १०५.५० अंकले घट्दै २६७६.६८ विन्दुमा झरेको छ। यो गिरावटसँगै बजार पूँजीकरणमा एकै दिन करिब १ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ, जसले लगानीकर्तालाई ठूलो झट्का दिएको छ।
कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। आज ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर १ लाख ४१ हजार ३६ पटक किनबेच हुँदा कुल १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँ बराबरको कारोबार भएको छ।बजारको ‘ब्रेथ’ अत्यन्त कमजोर देखिएको छ। कुल २६१ कम्पनीको सेयर मूल्य घट्दा मात्र ७ कम्पनीको मूल्य बढेको छ भने कुनै पनि कम्पनीको मूल्य स्थिर रहन सकेन।
यद्यपि समग्र बजारमा भारी गिरावट भए पनि केही साना कम्पनीका लगानीकर्ताले भने लाभ लिन सफल भएका छन्। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्योदय हाइड्रोपावरका सेयरमा सकारात्मक सर्किट लागेको छ।समग्रमा, आजको कारोबारले बजारमा बिक्री दबाब उच्च रहेको संकेत गरेको छ भने आगामी दिनमा बजारको दिशा कस्तो रहने भन्नेबारे लगानीकर्तामा अन्योल बढाएको छ।
आज बजारमा नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स कम्पनी, भुगोल इनर्जी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भी इनर्जीमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड २५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी शिवम् सिमेन्टको ४५.१७ करोड, ङादी ग्रुप पावरको ४२.०३ करोड र नेशनल हाइड्रोपावरको ३६.७० करोड क्रमशः सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।कारोबार सुरु भएदेखि नै घटेको बजारले पहिलो ३ घण्टामा १०० अङ्कको करेक्सन लिएको थियो । त्यसपछि केही सुधार आए पनि अन्तिम समयमा बजार थप घटेको हो । सरकारले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएपछि बजारमा नकारात्मक प्रभाव देखिएको हो ।