शुक्रबार, ४ बैशाख २०८३
काठमाडौंमा निर्माण व्यवसायीहरूको साझा संगठनको २६औँ साधारण सभा तथा १३औँ अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको प्रतिस्पर्धा दिनप्रतिदिन तीव्र बन्दै गएको छ। महासंघको भावी दिशा निर्धारण गर्ने यस महत्वपूर्ण अधिवेशनप्रति व्यवसायीहरूबीच व्यापक चासो देखिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा सुरु भएको महाधिवेशनसँगै अध्यक्ष पदका प्रत्याशी निकोलस पाण्डे आफ्नो सशक्त टिमसहित औपचारिक रूपमा चुनावी मैदानमा उत्रिएका छन्। उनले नयाँ बानेश्वरस्थित थापागाउँको अर्पण ब्याङ्क्वेटमा आफ्नो प्यानल सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्रता दिएका हुन्।
पाण्डे समूहले वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) लाई अघि सारेको छ भने प्रदेशगत सन्तुलन कायम गर्ने उद्देश्यसहित विभिन्न प्रदेशबाट उपाध्यक्षका उम्मेदवारहरू चयन गरेको छ। जसअनुसार कोशीबाट धिरेन्द्र दहाल, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट राजेन्द्र पहारी, लुम्बिनीबाट सहदेव खड्का, कर्णालीबाट हिमबहादुर बुढा र सुदूरपश्चिमबाट इञ्जिनियर भीमबहादुर पाल मैदानमा छन्।
त्यसैगरी, संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित अन्य पदहरूमा पनि अनुभवी व्यक्तित्वहरूलाई अघि सारिएको छ। उपाध्यक्ष (एसोसिएट) मा नरहरी थपलिया, महासचिवमा बलिभद्र राना, उपमहासचिव (नीतिगत) मा मंगलबहादुर शाही तथा उपमहासचिव (आन्तरिक) मा सुवित श्रेष्ठ उम्मेदवार छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङलाई जिम्मेवारीका लागि प्रस्तुत गरिएको छ।
“समस्या सुन्ने, समाधान दिने नेतृत्व” भन्ने नारासहित पाण्डे टिमले व्यवसायीहरूमाझ विश्वासको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्षका प्रत्याशी पाण्डेका अनुसार निर्माण व्यवसायीहरूको घट्दो साख पुनःस्थापना गर्नु, संस्थालाई पारदर्शी र उत्तरदायी बनाउनु तथा समस्या समाधानमा केन्द्रित कार्यशैली अपनाउनु उनका प्रमुख प्राथमिकता हुन्।चैत १७ गतेबाट सुरु भएको यस अधिवेशन नजिकिँदै जाँदा विभिन्न प्यानलहरूबीच प्रतिस्पर्धा अझ रोचक र तीव्र हुने अनुमान गरिएको छ। महासंघको आगामी कार्यदिशा तय गर्ने भएकाले यस अधिवेशनप्रति सरोकारवालाहरूको ध्यान केन्द्रित भएको छ।