शुक्रबार, ४ बैशाख २०८३
नुवाकोट । भूकम्पले चर्किएको भित्तो, भत्किएका गजुर र अधुरा ढोकाहरू - नुवाकोट दरबार अहिले पनि पुनर्निर्माणको प्रतीक्षामा छ। बि.स.२०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माण सुरु भएको सात वर्ष पुगिसक्दा पनि काम सुस्त गतिमा अघि बढेको देखिन्छ । यसले नेपालको ऐतिहासिक र सांस्कृतिक पहिचानका रूपमा रहेको नुवाकोट दरबारको भविष्य प्रति सरोकारवालाहरूको चासो बढेको छ। भूकम्पपछिको सात वर्ष पुग्दा पनि नुवाकोट दरबार पुनर्निर्माण अन्तिम चरणमा नपुग्दा स्थानीय, संस्कृतिविद् र पर्यटन व्यवसायी सबै चिन्तित छन् भने ऐतिहासिक दरबारको पहिचान र गौरव जोगाउन सरकारलाई तत्काल पहल गर्न माग गरिरहेका छन् ।
त्रिपुरासुन्दरी मन्दिरको पिँढीदेखि दरबार परिसरसम्म अहिले पनि ठेकेदारको उपकरण र कामदारका झोलाहरू अलपत्र छन्। २०७५ सालमा औपचारिक रूपमा सुरु गरिएको पुनर्निर्माण कार्य आजसम्म सम्पन्न हुन सकेको छैन। पुरातत्व विभाग, ठेकेदार कम्पनी र स्थानीय निकायबीचको असमञ्जसले दरबार पुनर्निर्माणको गति सुस्त बनाएको स्थानीयको आरोप छ।
ऐतिहासिक महत्वको दरबार, सुस्त पुनर्निर्माण
नुवाकोट दरबार केवल इँटाको संरचना होइन, नेपाल एकीकरण यात्राको महत्वपूर्ण साक्षी हो। यही दरबारमा पृथ्वीनारायण शाहले राज्य एकीकरणको रणनीति तयार पारेका थिए। भूकम्पले दरबारका सातै तल्ला क्षतिग्रस्त बनाएको थियो। २०७५ सालमा पुरातत्व विभागले करिब ४० करोड रुपैयाँको लागतमा पुनर्निर्माण योजना सार्वजनिक गरेको थियो। तर ठेकेदार कम्पनीले पटक–पटक समय थप गर्न माग गरेपछि काम सुस्त भएको विभागले नै स्वीकार गरेको छ।
स्थानीय र सरोकारवालाको असन्तुष्टि
ऐतिहासिक सम्पदाको पुनर्निर्माण केवल ईँटा र काठ जोड्ने कुरा होइन, त्यो सांस्कृतिक पुनर्जागरण हो। यसमा ढिलाइ हुनु राष्ट्रिय गौरवकै ह्रास हो। अहिले यो दरबारको पुनर्निर्माणमा भएको ढिलाईप्रति सचेत नागरिक अभियान र नुवाकोटको विकास निर्माणको मोडल कस्तो हुनसक्छ ? भन्ने नागरिक अभियन्ताहरुले ढिलाइ भएकोमा चर्को आलोचना गर्दै यसको पुनर्निर्माण जतिसक्दो छिटो सिध्याउन माग गरेका छन्। स्थानीय पर्यटन व्यवसायीहरू पनि पुनर्निर्माण ढिलाइका कारण प्रत्यक्ष प्रभावित भएका छन्। भूकम्पअघि दरबार परिसरमा दैनिक सयौं पर्यटक आउने गरेका थिए, तर अहिले त्यो संख्या नगण्य भएको छ।
ढिलाइका कारण र विवाद
नुवाकोट दरबार पुनर्निर्माणमा ढिलाइका मुख्य कारणहरूमा ठेकेदारको ढिलासुस्ती, प्राविधिक विवाद, बजेट वितरणमा ढिलाइ, र निगरानीको कमी प्रमुख रहेका छन्। पुरातत्व विभागका अनुसार, परम्परागत शैलीमा निर्माण गर्न आवश्यक काठ र ढुंगा ल्याउन समय लागेको थियो। तर स्थानीय समुदायका दाबी फरक छन् - उनीहरूका अनुसार, बजेट खर्चमा पारदर्शिता छैन र निगरानी संयन्त्र कमजोर छ । काम कुन मापदण्डमा भइरहेको छ भन्ने जानकारी स्थानीयलाई दिइँदैन।
सांस्कृतिक र आर्थिक असर
नुवाकोट दरबार केवल पुरातात्त्विक स्थल होइन, यो सांस्कृतिक पर्यटनको अभिन्न हिस्सा हो। दरबारको पुनर्निर्माण ढिलाइका कारण जिल्लाको पर्यटन व्यवसायमा ठूलो असर परेको छ। हप्तामा सयौं आन्तरिक पर्यटक आउने ठाउँ अहिले सुनसान बनेको छ।
सरकारको भनाइ र आगामी योजना
पुरातत्व विभागले भने आगामी वर्षभित्र नुवाकोट दरबार पुनर्निर्माण पूरा गर्ने लक्ष्य लिएको छ। अब अन्तिम चरणको काम भइरहेको छ। ढोकाजस्ता काठका कलाकृति तयार भइरहेका छन्। २०८२ सालभित्र दरबार सार्वजनिक खुला गर्ने लक्ष्य छ। तर विगतका ढिलाइका कारण स्थानीयहरू अझै सशंकित छन्। उनीहरू सरकार र ठेकेदार दुवैबाट स्पष्ट कार्यतालिका र जवाफदेहिताको माग गर्दै आएका छन्।
सुरक्षा र संरक्षणको चुनौती
दरबार क्षेत्र अहिले असुरक्षित बनेको छ। केही संरचना ढल्किएका छन्, कतिपय ठाउँमा सुरक्षा बार पनि छैन। यसले आगन्तुक र कामदार दुवैका लागि जोखिम बढाएको छ।
नुवाकोट दरबार नेपालको इतिहास, संस्कृति र वास्तुकलाको अमूल्य प्रतीक हो। यसको पुनर्निर्माणमा ढिलाइ हुनु केवल संरचनात्मक समस्या होइन - यो राष्ट्रको गौरव र पहिचानसँग जोडिएको प्रश्न हो। यदि सरकार, ठेकेदार र स्थानीय समुदायबीच सहकार्य र पारदर्शिता कायम गर्न सकिएन भने, दरबारको पुनर्निर्माण इतिहासकै अर्को अधुरो अध्याय बन्न सक्छ। के यो ऐतिहासिक सम्पदा फेरि पहिलेजस्तै गौरवमय बन्न सक्ला ? अहिले यहि प्रश्न आम मानिसमा पाउन सकिन्छ।