शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

बञ्चरेडाँडा संकट : जनप्रतिनिधिको दृष्टि कहाँ हरायो?

बञ्चरेडाँडाको फोहोरले वरपरका गाउँबस्तीमा दुर्गन्ध, स्वास्थ्य समस्या र वातावरणीय संकट निम्त्याइरहेका छन्, तर ठोस कार्ययोजना अझै अघि बढेको छैन।

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले फोहोर बोकेका गाडीहरू करिव एक हप्ता रोकेपछि सहरी विकास मन्त्रि कुलमान घिसिङ फिल्डमा नै पुगेर १५ दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछी अहिलेलाई समस्याको अस्थायी समाधान भएको छ । बि.स.२०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयहरूले काठमाडौं महानगरपालिकासहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकेका थिए । संघीय सरकार र काठमाडौं महानगरपालिकाले समस्यालाई बेवास्ता गरेको भन्दै चर्को विरोध स्थानीयको छ । 

बञ्चरेडाँडाको फोहोरले वरपरका गाउँबस्तीमा दुर्गन्ध, स्वास्थ्य समस्या र वातावरणीय संकट निम्त्याइरहेका छन्, तर ठोस कार्ययोजना अझै अघि बढेको छैन। उपत्यकाको फोहोर व्यवस्थापन समस्या यो पहिलो भने होइन। बञ्चरेडाँडा ल्याण्डफिल साइटमा दिनहुँ थुप्रिँदै गएको फोहोरले वातावरणीय तथा स्वास्थ्य संकट सिर्जना गरिरहेको तर वर्षौंसम्म पनि स्थायी समाधान खोज्न नसक्दा झन् समस्या बल्झिएको हो । बञ्चरेडाँडा ल्याण्डफिल साइट काठमाडौं उपत्यकाको मुख्य फोहोर व्यवस्थापन केन्द्र हो। 

धादिङ र नुवाकोट सिमानामा पर्ने यो ठाउँमा सुन्दरबस्ती र हरियाली क्षेत्रबीच फोहोर थुप्रिँदै आएको करिब दुई दशकभन्दा बढी भयो। तर फोहोर व्यवस्थापनका स्थायी विकल्प र योजना नबनाई अस्थायी समाधानमै सिमित गरिँदै आएको छ । स्थानीय बासिन्दाले पटक–पटक आन्दोलन गर्दै चेतावनी दिँदै आएका छन्, तर तिनका मागहरू तत्कालीन सम्झौतामा सीमित हुने गरेका छन्। सरकारले र जनप्रतिनिधिहरूले हरेक पटक अस्थायी रूपमा फोहोर उठाउने निर्णय गरे पनि समस्या फेरि दोहोरिने क्रम रोकिएको छैन।

यस क्षेत्रले पटक पटक मन्त्रि र मुख्यमन्त्रि जन्माएपनी उनीहरुको नजर यता पर्न सकेन। अब प्रश्न उठेको छ - के हेरेर बसे जनप्रतिनिधि? फोहोर व्यवस्थापनलाई प्राथमिक विकास एजेन्डा बनाउन नसक्नु जनप्रतिनिधि  र सरकार दुवैको कमजोरीको रूपमा देखिएको छ। यहाँका जनप्रतिनिधिहरूले फोहोरको समस्या देखे पनि दीर्घकालीन समाधानको दृष्टि देखाउन सकेका छैनन्।बञ्चरेडाँडाका स्थानीय बासिन्दाले पटक–पटक आन्दोलन गरेर आफ्नो आवाज उठाउँदै आएका भएपनि हरेक पटक अस्थायी सम्झौताले मात्रै समस्या थामिएको छ। 

फोहोर उठाउने, ल्याण्डफिल पुर्‍याउने, र फेरि संकट दोहोरिने - यही चक्र वर्षौंदेखि चल्दै आएको छ । जनप्रतिनिधिहरूले अब एक अर्कामा  दोषारोपणको राजनीति छोडेर ठोस योजना बनाउने समय आएको छ । यहि क्षेत्रबाट डा.रामशरण महत,डा.प्रकाशशरण महत,अर्जुननरसिंह केसी र हित बहादुर तामाङ मन्त्रि बनेका थिए भने बहादुर सिंह लामा तामाङ,शालिकराम जमरकट्टेल र राजेन्द्र पाण्डे मुख्यमन्त्रि बने । तर उनीहरू अहिलेसम्म  ‘के हेरेर बसे?’ भन्ने प्रश्नलाई ‘अब के गर्ने? भन्नेमा रूपान्तरण गर्नुपर्ने बेला आएको छ। 

स्थायी फोहोर प्रशोधन प्लान्ट निर्माण, फोहोर घटाउने नीति, र जिम्मेवार नेतृत्वको व्यवहारिक कदमबिना बञ्चरेडाँडा संकट अन्त्य हुने सम्भावना देखिँदैन। सहर सफा राख्ने कुरा कागजमै सीमित हुँदा जनस्वास्थ्य र वातावरण दुवै जोखिममा परेका छन्। उपत्यकाको फोहोर समस्या फेरि चुलिँदै जाँदा बञ्चरेडाँडा ल्याण्डफिल साइटमा राहतभन्दा असहजता बढ्दै गएको छ। वर्षौंदेखि निरन्तर उठिरहेको ‘फोहोर समस्या कहिले अन्त्य हुन्छ?’ भन्ने प्रश्न अझै अनुत्तरित छ। तर यसबीच जनप्रतिनिधिहरू भने समस्या समाधानभन्दा पनि जिम्मेवारी टार्ने र आरोप–प्रत्यारोपमै सीमित देखिन्छन्। अब नागरिकको अपेक्षा स्पष्ट छ - फोहोर देख्ने होइन, समाधान ल्याउने नेतृत्व देख्ने समय आएको छ।