शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

परेडमा पुटिन र किम : ट्रम्पले लगाए सीमाथि अमेरिकाविरुद्ध षड्यन्त्रको आरोप

चीनले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव अवसरमा विशाल सैन्य परेड आयोजना गरेको हो ।

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकाविरुद्ध ‘षड्यन्त्र’ गरेको आरोप लगाउनुभएको छ ।ट्रुथ सोसलमा गरिएको एक पोस्टमार्फत ट्रम्पले दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पणको ८०औँ वार्षिकोत्सव मनाउन आयोजित परेडमा सीको उपस्थिति र सहभागितालाई संयुक्त राज्य अमेरिकाविरुद्धको ‘षड्यन्त्र’ का रुपमा चित्रित गर्नुभयो ।

चीनले सन् १९४५ मा जापानलाई हराउँदै प्राप्त विजयलाई सम्झना गर्न सेप्टेम्बर ३ लाई विशेष वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ ।“राष्ट्रपति सी र चीनका अद्भुत जनताले भव्य र चिरस्थायी उत्सव मनाउन् । कृपया भ्लादिमिर पुटिन र किम जोङ–उनलाई मेरो न्यानो अभिवादन दिनुहोस्, किनकि तपाईंहरूले संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गर्नुभयो”, परेड चलिरहेको बेला ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।“उत्तर दिनुपर्ने ठूलो प्रश्न के हो भने चीनका राष्ट्रपति सीले संयुक्त राज्य अमेरिकाले चीनलाई धेरै मित्रहीन विदेशी आक्रमणकारीबाट आफ्नो स्वतन्त्रता सुरक्षित गर्न मद्दत गर्न ठूलो मात्रामा समर्थन र आफ्नै रगतसमेत दिएको थियो ? चीनको विजय र गौरवको यात्रामा धेरै अमेरिकीहरूले ज्यान दिएका थिए । म आशा गर्दछु उनीहरूको बहादुरी र बलिदानलाई उचित सम्मान र सम्झना गरिन्छ”, ट्रम्पले लेख्नुभयो ।

चीनले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव अवसरमा विशाल सैन्य परेड आयोजना गरेको हो । यस अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उन बेइजिङमा चीनको सैन्य शक्ति प्रदर्शन अवलोकन गर्न उपस्थित हुनुहुन्थ्यो ।परेडका क्रममा चीनले आफ्नो एचक्यु–९सी मिसाइल प्रणाली प्रदर्शन गर्‍यो । पाकिस्तानले आफ्ना सुरक्षा आवश्यकताका लागि यसै मिसाइल प्रणालीको संस्करण प्राप्त गरेको थियो । पाकिस्तानी मिडियाका अनुसार यस प्रणालीले ‘अपरेसन सिन्दूर’ मा प्रयोग भएको देखिए पनि भारतीय मिसाइल आक्रमण रोक्न भने असफल भएको थियो ।

यस अवसरमा चिनियाँ राष्ट्रपति सीले देशलाई ‘अजेय’ भन्दै शान्तिपूर्ण विकासप्रतिको आफ्नो दृढता दोहोर्‍याउनुभयो ।“चीन शान्तिपूर्ण विकासको बाटोमा अडिग रहनेछ । चिनियाँ राष्ट्रको कायाकल्प रोक्न सकिँदैन र मानवताको शान्ति तथा विकासको लक्ष्य प्रबल हुनेछ”, उहाँले भन्नुभयो ।विश्वभर फैलिएका द्वन्द्वहरूको सन्दर्भमा उहाँले चीन ‘इतिहासको सही पक्षमा’ दृढतापूर्वक उभिने र मानवताको साझा भविष्य भएको समुदाय निर्माणमा हातेमालो गर्ने आश्वासन दिनुभयो ।“मानवता फेरि शान्ति वा युद्ध, संवाद वा टकराव, र जीत–जीत परिणाम वा शून्य–राशिको खेलबीच छनोटको अवस्थामा छ । चिनियाँ जनता इतिहासको सही पक्षमा, मानव प्रगतिका पक्षमा अडिग रहनेछन् । 

हामी शान्तिपूर्ण विकासको बाटोमा अटल रहनेछौँ र मानवताको साझा भविष्य भएको समुदाय निर्माणमा विश्वसँग हात मिलाउनेछौँ”, उहाँले भन्नुभयो । राष्ट्रपति सीले राष्ट्रिय कायाकल्पका लागि सेनाले रणनीतिक समर्थन पुर्‍याउनुपर्नेमा जोड दिँदै पिपुल्स लिबरेसन आर्मीलाई विश्वस्तरीय शक्ति बन्न र राष्ट्रिय सार्वभौमिकता, एकता तथा क्षेत्रीय अखण्डताको दृढ रक्षा गर्न आह्वान गर्नुभयो । उहाँले विश्वभरका राष्ट्रहरूलाई युद्धको कारण हटाउन र विगतका त्रासदीहरू पुनरावृत्ति हुन नदिन आह्वान गर्दै भन्नुभयो, “राष्ट्रहरूले एकअर्कालाई समान रूपमा व्यवहार गरे मात्र, सद्भावमा बसे मात्र र पारस्परिक समर्थन जनाए मात्र साझा सुरक्षाको रक्षा गर्न सकिन्छ ।”