शुक्रबार, ४ बैशाख २०८३
प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदमा अर्यालको मात्र उम्मेदवारीको प्रस्ताव परेकाले आइतबार उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित भएसँगै अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर पदभार ग्रहण गरेका छन् । नेपालमा सभामुखहरूमा दल र सरकारप्रति झुकाव राख्ने तथा रबरस्ट्याम्प बन्ने प्रवृत्ति देखिँदा संसदीय अभ्यास नै विकृत भएको इतिहास छ । यस्तोमा संसदीय मामिलाका जानकारहरू अर्यालसँग संसदीय अभ्यास मर्यादित बनाउने अवसर रहेको बताउँछन् । तटस्थता र निष्पक्षता सभामुख पदको गुण मानिन्छ ।
पदभार ग्रहण गर्दै अर्यालले संविधान, कानुन र नियमावलीलाई पालना गर्दै सबै सांसदहरूको सम्मान हुने र सदनको मर्यादा कायम हुने किसिमबाट निष्पक्ष भूमिका खेल्ने बताए । ‘प्रतिनिधिसभाको सभामुखको काम, कर्तव्य, अधिकार तटस्थ रहनुपर्ने र निष्पक्ष हुनुपर्ने राम्रोसँग बुझेको छु । त्यसैअनुसार काम गर्नेछु,’ उनले भने । अर्यालले सदनमा प्रतिपक्षी संख्याको हिसाबले सानो भए पनि जनता सबैभन्दा बलियो प्रतिपक्षी भएको बताए । ‘सदनमा एक मात्र प्रतिपक्षी किन नहोस् प्रतिपक्षी नै हो । उहाँहरू पावरफुल हुनुहुन्छ । सदन भनेको विशेषतः प्रतिपक्षकै हुनुपर्छ भन्ने मैले राम्रोसँग बुझ्न पाएको छु । सबै दलसँग समन्वय गरेर सदन चलाउँछु । कसैप्रति अन्याय हुँदैन,’ उनले भने ।
अर्यालले राज्यका तीनै निकायका साथै प्रतिनिधिसभा र राष्ट्रिय सभासँग पनि प्रभावकारी समन्वय गरिने बताए । ‘राष्ट्र, राष्ट्रियता र जनताको हितमा हुने विषयमा बहस चलाउँदा दुःख गरेर समन्वय गर्नुपर्छ जस्तो मलाई लाग्दैन । किनभने हामी राष्ट्र र जनताका लागि काम गर्दै छौँ भने त्यसमा विरोध गर्नुपर्ने कारण हुन्छ जस्तो लाग्दैन,’ उनले भने । संसद् सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङ नवनिर्वाचित सभामुख अर्याललाई कार्यसम्पादनमा ठुलो समस्या नरहेको बताउँछन् । तर, उनले विपक्षीलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘उहाँलाई सहजै छ, किनकि रास्वपाकै बहुमत छ । पार्टीको त झन्डै दुइतिहाइ बहुमत छ । अझै उता ढल्केको राम्रो हुँदैन’, उनले भने, ‘अब उहाँले विपक्षलाई बढी समय र ध्यान दिनुपर्छ । आफ्नै पार्टीभित्रै विवाद आए गाह्रो होला । नभए अहिलेको संसदीय अंकगणितमा गाह्रो हुँदैन ।’
तर, गुरुङले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेका सभामुखहरू इतिहासले सम्झिए पनि राजनीतिक करिअर खतरामा परेको उदाहरण प्रस्तुत गरे । ‘दमननाथ ढुंगानाले निष्पक्ष भएर शुद्ध सभामुखको भूमिका निर्वाचन गर्नुभयो । तर, पार्टीले न्याय गरेन । कृष्णप्रसाद भट्टराईको पनि त्यही हो । र, सुवास नेम्वाङले पनि खासै ग्रो गर्न पाउनुभएन,’ उनले भने, ‘धेरै नै निष्पक्ष भयो भने पोलिटिकल करिअर खतरामा पर्ने हुन्छ । यद्यपि, न्यूनतम सन्तुलन हुनुपर्छ । मूलतः संविधान, नियम र नियमावलीले दिएको अधिकारअनुसार चल्नुपर्यो ।’प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम र भौतिकमन्त्री सुनील लम्सालले समर्थन गरेका थिए ।
प्रस्तावका समर्थक वाग्लेले संसद्मा विधायकको रूपमा विशिष्ट भूमिका निभाइसकेको र सरकारको मन्त्रीको रूपमा अनुभव लिइसकेको हुनाले अर्यालले संसद्को अभिभावकको रूपमा कार्यपालिका र व्यवस्थापिकाबिचको भूमिका र सन्तुलन जिम्मेवारीपूर्वक निभाउने विश्वास दिलाए । ‘एउटा ठुलो पुस्तान्तरण प्रतिबिम्बित भएको यस संसद्मा उहाँको संक्षिप्त, तर परिपक्व राजनीतिक अनुभव प्रस्तुत हुनेछ,’ उनले भने । वाग्लेले अर्यालसँग कुसल व्यवस्थापकीय गुण रहेको र समन्वयकारी भूमिकामा काम गर्न सक्ने बताए । ‘उहाँसँग उत्कृष्ट व्यवस्थापकीय क्षमता छ । शालीन र समन्वयकारी भूमिका छ । एउटा औसत मध्यमवर्गीय संघर्षबाट ओतप्रोत भएको जुन जीवनगाथा छ, त्यसलाई सार्वजनिक नीतिसँग जोड्नुपर्छ भन्ने उन्नत चेत उहाँमा पाएको छु । यिनै जीवन–अनुभवहरूबाट आगामी संसद् लाभाम्वित हुनेछ,’ उनले भने ।
आफ्नो सम्बोधनका क्रममा वाग्लेले २०१५ सालमा सभामुख भएका कृष्णप्रसाद भट्टराईले सरकार सत्तापक्षको, संसद् विपक्षको हुन्छ भन्ने मानक स्थापित गरेको स्मरण गराउँदै त्यो मानकलाई फर्केर न्याय गर्नुपर्नेमा जोड दिए । ‘प्रचण्ड बहुमतले सत्तापक्ष बलियो हुँदै गर्दा विपक्षीहरूप्रति थप उदार र सहिष्णु हुनुपर्ने पनि हाम्रो पार्टीको मान्यता रहेको छ,’ उनले भने । ०४८ सालका पहिलो सभामुख दमननाथ ढुंगानाले पनि आधुनिक युगका लागि संसदीय अनुभव बिर्सिसकेको नेपाली पुस्तालाई पनि ती उच्च मानकहरू के हुन सक्छन् भनेर पुनस्थार्पित गराएको वाग्लेले स्मरण गराए । त्यतिवेला विरोध गरिरहने सांसद विरोध खतिवडा र सभामुखको रूपमा ढुंगानाको ठट्टाको स्मरण गराउँदै वाग्लेले सदनलाई कर्मकाण्डको रूपमा मात्र नभई नेपाली जनताका मुद्दाहरूलाई मुखरित गर्ने ठाउँ र नतिजासम्म पुर्याउने प्रक्रियालाई जीवन्त बनाउने जिम्मेवारी सभामुखको भएको बताए ।
०६५ सालपछि संक्रमणमा सुवासचन्द्र नेम्वाङले व्यवस्थापकीय, समन्वयकारी भूमिका निर्वाह गरेर जटिलता सम्बोधन गरेको स्मरण पनि वाग्लेले गरे । ‘कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, सुवास नेम्वाङजस्ता आफूभन्दा अगाडि आएका अग्रजका राम्रा कुराहरूलाई, तर अहिलेको आधुनिक नेपालको नयाँ पुस्ताको आकांक्षालाई पनि जसरी हाम्रो पार्टीले जेन–जी आन्दोलनको म्यान्डेटलाई ग्रहण गरेर अगाडि बढ्यौँ र यो ऐतिहासिक उपस्थिति यहाँ हासिल गर्न सकेका छौँ, यो सबैको मर्मलाई माननीय डिपी अर्यालले बोकेर आफ्नै शैलीमा ढालेर एउटा मौलिकता दिनुहुनेछ । र, यो संसदीय कार्यकाल नेपालको संसदीय इतिहासमा साँच्चिकै अनुपम हुनेमा विश्वस्त छु,’ उनले भने । अर्की समर्थक एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्याल निर्विरोध सभामुख निर्वाचित हुनु आफैँमा यस सदनको सामूहिक विश्वासको स्पष्ट अभिव्यक्ति भएको टिप्पणी गरिन् । ‘यो केवल निर्वाचनको परिणाम होइन, यो सदनले तपाईंमाथि राखेको भरोसाको घोषणापत्र हो ।
अब त्यो विश्वासलाई संस्थागत गर्ने, संसद्लाई गरिमामय, निष्पक्ष र प्रभावकारी बनाउने जिम्मेवारी तपाईंको काँधमा आएको छ,’ मन्त्री गौतमले भनिन्, ‘म विश्वास गर्दछु– तपाईंको नेतृत्वमा यो संसद् बहसको सशक्त मञ्च बन्नेछ, जहाँ जनताको मुद्दा केन्द्रमा रहनेछ, बहस तथ्यमा आधारित हुनेछ र त्यही बहसबाट स्पष्ट नीतिगत निष्कर्ष निस्कनेछ, जसले सरकारलाई सही दिशामा मार्गनिर्देशन गर्नेछ ।’ अर्यालको नेतृत्वमा यो संसद् अझ प्रभावकारी, मर्यादित र जनउत्तरदायी बन्नेछ भन्ने विश्वास पनि व्यक्त गरिन् । मन्त्री गौतमले यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्नेमा जोड दिइन् । ‘यो संसद् जनताको मुद्दामा केन्द्रित, समाधानउन्मुख र स्पष्ट रूपमा परिणाममुखी बन्नैपर्छ । यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्छ, ता कि संसद् जनताको अपेक्षाको साँचो प्रतिबिम्ब बन्न सकोस्,’ उनले भनिन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।