शुक्रबार, ४ बैशाख २०८३
सम्पत्ति शुद्धीकरणमा छानबिनमै रहेका पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ अनुमति मागेपछि जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । देउवादम्पती हाल हङकङमा छन् । त्यसैले, पुर्जी जारी भए पनि तत्काल पक्राउ असम्भव छ । उनीहरूलाई आफैँ चाँडो स्वदेश नफर्किए इन्टरपोलमार्फत झिकाउने सरकारको तयारी छ । रेडकर्नर नोटिस जारी गर्ने विषयमा छलफल भइरहेको विभाग स्रोतले बताएको छ । सम्बन्धित देशको अदालतले पक्राउ पुर्जी जारी गरिसकेको, तर पक्राउ गर्न अन्य देशको सहयोग चाहिने अवस्थामा रेडकर्नर नोटिस जारी गरिन्छ ।
विभाग स्रोतका अनुसार देउवाको नाममा भौतिक सम्पत्ति देखिँदैन । तर, पत्नी आरजु र छोरा जयवीरसिंह देउवाको नाममा भने मुलुकका विभिन्न ठाउँमा गरी ११५ रोपनी आठ आना जग्गा रहेको देखिन्छ । जसमध्ये आरजुको नाममा ३९ रोपनी १५ आना र जयवीरको नाममा ७५ रोपनी नौ आना रहेको खुलेको छ । विभागका अनुसार आरजुको नाममा डडेलधुराको खलंगा, कैलालीको धनगढी, मकवानपुरको हेटौँडा र बर्दियाको ढोडरीमा तथा जयवीरको नाममा काठमाडौंको बुढानीलकण्ठ, कास्कीको ढिकुरपोखरी, कञ्चनपुरको कृष्णपुर र बर्दियाको ढोडरीमा जग्गा छ । आमा–छोराकै नाममा रहेका केही सम्पत्ति भने पुर्ख्यौली स्रोतबाट नामसारी हुँदै आएको देखिए पनि अधिकांशको बलियो स्रोत देखिएको छैन । जयवीरको नाममा रहेको अधिकांश सम्पत्ति ०७४ देखि ०७८ सम्म नामसारी भएको देखिएको, तर आम्दानीको स्रोत भने नदेखिएको विभाग स्रोतले बतायो । अनुसन्धानमा भेटिएका यिनै तथ्यका आधारमा देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाइएको छ ।
‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाममा भौतिक सम्पत्ति देखिँदैन । तर, उनकी पत्नी आरजु र छोरा जयवीरको नाममा भने अस्वाभाविक सम्पत्ति देखिन्छ । त्यसमध्ये केही पुर्ख्यौली स्रोतबाट सरेर आएको देखिन्छ । बाँकी सम्पत्तिको स्रोत देखिँदैन,’ विभाग स्रोतले भन्यो, ‘अनुसन्धानमा कैफियत देखिएपछि देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । अब रेडकर्नर नोटिस जारी गर्ने सम्बन्धमा छलफल चलिरहेको छ ।’विभागका अनुसार देउवादम्पती र छोरा जयवीरको बैंक खाता र कारोबार सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ । देउवाको बैंक खातामा पनि ठुलो कारोबार खासै भएको देखिएको छैन । तर, आरजु र जयवीरको खातामा भने अस्वाभाविक कारोबार भएको देखिएको स्रोतले बतायो ।
‘शेरबहादुर देउवाको बैंक खातामा खासै कारोबार भएको देखिँदैन । तर, आरजु र जयवीरको खातामा भने ठुला कारोबार भएको देखिन्छन् । त्यसमध्ये कतिपय कारोबार अस्वाभाविक देखिन्छ ।’देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि जयवीरको हकमा यस्तो पुर्जी जारी भएको छैन । तर, आवश्यक परेको खण्डमा जयवीरविरुद्ध पनि पक्राउ पुर्जी जारी हुन सक्ने विभाग स्रोतले जनायो ।रेडकर्नर नोटिस भने प्रहरीले नै जारी गर्ने हो । यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई अनुरोध गर्न सक्छ । वारेन्ट जारी भएका फरार अभियुक्तको खोजी गर्न रेडकर्नर नोटिस जारी हुन सक्छ भने पक्राउ पुर्जी जारी नभएका, तर विवरण आवश्यक परेको खण्डमा प्रहरीले इन्टरपोलमार्फत सम्बन्धित व्यक्तिविरुद्ध डिफ्युजन नोटिस जारी गर्न सक्छ । देउवादम्पतीको हकमा वारेन्ट जारी भइसकेकाले प्रहरीले रेडकर्नर नोटिस जारी गर्न सक्छ ।
‘रेडकर्नर नोटिस जारी हुने आफ्नै प्रक्रिया छ । प्रक्रिया पुगेपछि अभियुक्तविरुद्ध यस्तो नोटिस जारी हुन सक्छ । यस्ता विषय अत्यन्तै गोप्य रहन्छन्,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले भने । यद्यपि उनी देउवादम्पतीको पक्राउ पुर्जीबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भन्न सक्ने भन्दै पन्छिए ।जेन–जी आन्दोलनपछि उपचारका लागि सिंगापुर गएका देउवादम्पती पछि स्वदेश फर्किएका थिए । तर, निर्वाचनको केही दिन अघि १४ फागुनमा देउवा उपचार गराउन भन्दै फेरि सिंगापुर उडेका थिए । त्यसअघि नै आरजु भारत गइसकेकी थिइन् । त्यतैबाट उनी पनि सिंगापुर पुगिन् । ७ चैतमा हङकङ पुगेका देउवादम्पती अहिले त्यहीँ छन् । छोरा जयवीर पत्नी शिवाना श्रेष्ठसँग लन्डनमा छन् । जेन–जी आन्दोलनअघि नै लन्डन पुगेका उनीहरू त्यसयता स्वदेश फर्किएका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।