शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एउटा रणनीति बनायो– चुपचाप घण्टीमा छाप । रास्वपाको यो रणनीतिसँगै ‘घण्टी चिन्ह र बालेन’ ब्रान्डिङले दुईतिहाइ नजिकको जीत निकाल्न सफल भयो । नयाँ संविधान जारी भएपछि पहिलोपटक संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार बनाउने गृहकार्यमा रहेको रास्वपाले सरकार सञ्चालनका लागि पनि चुनावकै जस्तो नारा र रणनीति तय गरेको छ । रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि ‘चुपचाप बालेनलाई साथ’को नारासहित सरकार सञ्चालन प्रक्रिया अघि बढाउने भएको छ ।
रास्वपाको यही रणनीतिअनुसार प्रधानमन्त्रीको शपथग्रहणअघिबाटै पार्टीले भावी प्रधानमन्त्रीलाई ‘रियल र भर्चुअल’ दुवै स्थानबाट चुपचाप राख्दै आएको छ । रास्वपा उच्च स्रोतका अनुसार यो नीतिले सरकारका काममा सांसद, मन्त्री र पार्टी सदस्यले सहयोग गर्ने, सरकारले गरेका नराम्रा काम सरकार र पार्टी संयन्त्रभित्र राखेर समाधानको पहल गर्ने जस्ता विषय छन् ।यो नीतिको विस्तृत खाका पार्टीको नीति अनुसन्धान विभागले अन्तिम रूप दिएपछि पूर्ण कार्यान्वयनमा ल्याउने रास्वपाको योजना छ । चुनावी रणनीति बनाउँदादेखि नै काठमाडौंको एक होटलमा बसेर कार्यकर्ता र नेतासँग भेटघाट गरिरहेका बालेन्द्र निर्वाचन परिणाम आइसक्दा पनि सोही होटलबाटै आगामी राण्नीति बनाउने र भेटघाट गर्नमै व्यस्त छन् ।
रास्वपा उच्च स्रोतका अनुसार शपथग्रहणअघि कुनै पनि खुल्ला कार्यक्रममा बोल्न नलगाउने र शपथग्रहणपछि मात्र सम्बोधन गर्न लगाउने रणनीतिअनुसार बालेन चुपचाप छन् । निर्वाचनसम्मुखमा बृहत् एकता सहमतिमार्फत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेनले झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले हराए ।तर चुनाव जितेपछि उनी मतदातालाई धन्यवाद दिन निर्वाचन क्षेत्र पुगेका छैनन् भने सामाजिक सञ्जालबाट समेत उनले मतदातालाई धन्यवाद दिएका छैनन् । ‘उहाँ विगतमा पनि हल्ला कम, काम बढी गर्ने नेता हो, प्रधानमन्त्रीका रूपमा पनि उहाँले गफ र कुराभन्दा बढी कामले देखाउने हो,’ बालेनको सचिवालयका एक सहयोगीले भने ।
उनका अनुसार बालेनकै सुझाव, सल्लाह र चाहनामा प्रधानमन्त्रीका रूपमा शपथग्रहण नगरेसम्म सार्वजनिक भाषण र अन्तर्वार्ता नदिने रास्वपाको रणनीति रहेको छ । यो रणनीति विषयमा रास्वपाले उच्च तहका नेताबाहेकलाई औपचारिक रूपमा जानकारी दिएको छैन । बालेनलाई राज्यसत्तामा समेत ‘ब्रान्डिङ’ गर्ने रणनीतिअनुसार अघि बढेको रास्वपाले प्रतिनिधिसभा सदस्य जितेका पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा समेत बालेनलाई उपस्थित गराएन । उद्घाटन कार्यक्रममा वरिष्ठ नेता बालेन र समापनमा अध्यक्ष रवि लामिछानेले सम्बोधन गर्ने भनिए पनि मंगलबार राजधानीमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा बालेन उपस्थित भएनन् । ललितपुरको ग्वार्कोस्थित एक होटलमा कार्यक्रम भइरहँदा बालेन काठमाडौंको एउटा होटलमै बसेर निकटस्थहरूसँग भेटघाट गरिरहेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।