शनिवार, ३० फागुन २०८२

images

शनिवार, ३० फागुन २०८२

शनिवार, ३० फागुन २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कृषिबाट समृद्ध रूपन्देही : रूपन्देही-२ लाई ‘एग्रो–हब’ बनाउने चुन्न प्रसाद पौडेलको लक्ष्य

रुपन्देही। नेपाली कांग्रेसबाट रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चुन्न प्रसाद पौडेलले आफू निर्वाचित भए कृषि क्षेत्रमा देखिएका समस्या समाधानलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। “हरेक एजेण्डा लागू गर्छु, भन्ने  प्रतिबद्धता, सन्देशसहित सार्वजनिक गरिएको उनको घोषणापत्रले कृषि सुधारलाई केन्द्रमा राखेको छ। रुपन्देही क्षेत्र नम्बर–२ मा यसपालि चुनावी बहसको केन्द्र कृषि बनेको छ । पौडेलले आफू निर्वाचित भए कृषि क्षेत्रलाई केन्द्रमा राखेर जिल्लाको समग्र आर्थिक रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएका पौडेलले “रूपन्देहीको समृद्धिको आधार कृषि हो” भन्दै व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री कृषि अभियान अघि सार्ने घोषणा गरेका छन्। रूपन्देही–२ मा यसपटकको निर्वाचन केवल सत्ता प्रतिस्पर्धामा सीमित छैन, बरु विकासको स्पष्ट खाकामाथि केन्द्रित बन्दै गएको छ। पौडेलले कृषि क्षेत्रलाई केन्द्रमा राख्दै जिल्लाको आर्थिक रूपान्तरण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।

कृषि किन पहिलो प्राथमिकता?
रूपन्देही तराईको उर्वर भूमिमा पर्ने जिल्लाहरु मध्येको एक हो। यहाँ धान, गहुँ, मकै, तरकारी, उखु र पशुपालन मुख्य आम्दानीका स्रोत हुन्। तर विगतका वर्षहरूमा उत्पादन लागत बढ्दो,मल–बीउ अभाव,बजार व्यवस्थापन कमजोर,सिँचाइको असमान पहुँच,किसानले उचित मूल्य नपाउने समस्या जस्ता चुनौतीले किसान निराश बनेका छन्। यही यथार्थलाई आधार मानेर पौडेलले कृषि सुधारको स्पष्ट रोडम्याप सार्वजनिक गरेका हुन्।

कृषि तथा पशुपन्छी व्यावसायिक केन्द्र स्थापना
उनको योजना अनुसार रूपन्देही–२ भित्र कृषि तथा पशुपन्छीका लागि एकीकृत व्यावसायिक सेवा केन्द्र स्थापना गरिनेछ।प्राविधिक परामर्श,रोग परीक्षण,आधुनिक खेती तालिम,पशु स्वास्थ्य सेवा एकै ठाउँबाट उपलब्ध हुनेछ। यसले किसानलाई बजारमुखी र प्रतिस्पर्धी उत्पादनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

बाली पकेट क्षेत्र निर्धारण र उत्पादन वृद्धि
पौडेलले भू–स्वरूप र माटोको गुणस्तर अनुसार कृषि बाली पकेट क्षेत्र निर्धारण गर्ने योजना अघि सारेका छन्। उनले तरकारी पकेट,धान/गहुँ विशेष क्षेत्र,डेरी तथा पशुपालन क्लस्टर आदि बनाउने योजना बनाएका छन्। यसले उत्पादनमा विशेषज्ञता बढाउँदै लागत घटाउने र आम्दानी बढाउने विश्वास व्यक्त गरिएको छ।

व्यवस्थित सिँचाइ र उत्पादनमा उछाल
उनले कृषियोग्य जमिनमा वर्षैभरि सिँचाइको पहुँच पुर्‍याउने लक्ष्यसहित साना–मझौला सिँचाइ आयोजना,डिप बोरिङ विस्तार,सौर्य पम्प जडान जस्ता कार्यक्रम सञ्चालन गरिने योजना बनाएका छन्। यसबाट परम्परागत वर्षामा निर्भर खेतीलाई आधुनिक प्रणालीमा रूपान्तरण गर्न सकिन्छ।

कृषि उत्पादन बिक्री केन्द्र र बजार ग्यारेन्टी

किसानको सबैभन्दा ठूलो समस्या बजार भएको उल्लेख गर्दै उनले स्थानीय कृषि उत्पादन बिक्री केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्। यसले गर्दा बिचौलिया नियन्त्रण,उचित मूल्य सुनिश्चित,स्थानीय उत्पादनको ब्रान्डिङमा सहयोग पुर्‍याउने अपेक्षा उनको रहेको छ।

सरल ऋण, अनुदान र बीमा व्यवस्था
कृषकलाई सहज वित्तीय पहुँच दिन सरल कृषि ऋण,लक्षित अनुदान,कृषि तथा पशुजन्य बीमाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता उनले गरेका छन् । प्राकृतिक विपत्ति, रोग वा मूल्य गिरावटबाट हुने क्षतिलाई न्यून गर्न बीमा प्रणालीलाई अनिवार्य र प्रभावकारी बनाइने योजना रहेको छ।

उपकरण, बीउ–मल र औषधिको सुनिश्चितता
समयमै मल, गुणस्तरीय बीउ, आवश्यक कृषि औषधि र आधुनिक उपकरण उपलब्ध गराउन मागमा आधारित आपूर्ति प्रणाली लागू गरिनेछ। यसले हरेक सिजनमा दोहोरिने मल अभावको समस्या अन्त्य गर्ने लक्ष्य राखिएको छ।

कृषिमार्फत आर्थिक रूपान्तरण
पौडेलले रूपन्देहीलाई कृषि उत्पादनको हब बनाउने हो भने अब नीति, प्रविधि र बजारलाई एकीकृत गर्नुपर्ने आबस्यकता ठान्दै त्यसलाई एजेण्डा केवल घोषणामात्र नभई, कृषि–आधारित स्थानीय अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन रणनीति भएको बताएका छन । उनको यो कृषि केन्द्रित स्पष्ट एजेण्डा मतदातामाझ प्रभावकारी बन्न सक्छ भने विशेषगरी किसान र युवा उद्यमी वर्गमा यसले राम्रो छाप पारेको पाउन सकिन्छ ।

नाराभन्दा कार्ययोजना
पौडेलले भने- “रूपन्देहीको समृद्धिको आधार खेत हो, त्यो खेतलाई सुरक्षित, उत्पादनमुखी र बजारसँग जोड्नु नै मेरो पहिलो कर्तव्य हुनेछ।”उनको स्पष्ट कृषि रोडम्यापसहितको एजेण्डाले किसान, युवा र कृषि उद्यमी वर्गमा सकारात्मक सन्देश दिएको छ।

रूपन्देही–२ मा यसपटकको निर्वाचनमा विकास र रोजगारीको ठोस एजेण्डा मुख्य बहस बनेको छ। पौडेलले अघि सारेको कृषि क्रान्तिको खाका कार्यान्वयनमा आएमा रूपन्देहीलाई आत्मनिर्भर, उत्पादनमुखी र निर्यात–उन्मुख जिल्लाको रूपमा स्थापित गर्ने सम्भावना बलियो देखिन्छ । यदि प्रस्तुत योजनाहरू कार्यान्वयनमा आए, रूपन्देहीलाई आत्मनिर्भर र कृषि–आधारित आर्थिक केन्द्रको रूपमा स्थापित गर्ने छ । निर्णय मतदाताको हातमा छ—कृषि क्रान्तिको यो प्रतिबद्धता व्यवहारमा उतार्ने अवसर कसलाई दिने? मतदाताको निर्णयले यो प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने टुंगो लगाउनेछ भने त्यसको लागि फागुन २१ गते पर्खनुपर्नेछ।