शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यमान कानुनले अनुमति दिएमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवारलाई टिकट दिँदा आफ्नो सट्टा अर्का नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन तयार रहेको बताएका छन्। बुधबार बिहान आफ्नै निवास महाराजगन्जमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएको करिब ४५ मिनेट लामो छलफलका क्रममा सभापति देउवाले यस्तो धारणा राखेका हुन्। उनले कानुनी रूपमा सम्भव भए पार्टीभित्र सहमतिको वातावरण बनाउन आफू लचिलो हुन तयार रहेको संकेत गरेका छन्।
एक नेताका अनुसार देउवाले भने, “माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा मेरै हस्ताक्षरमा उम्मेदवारी दर्ता भयो। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा पनि मैले नै हस्ताक्षर गरेँ। अब प्रत्यक्षतर्फको निर्वाचनमा अर्का साथीलाई हस्ताक्षर गर्ने अधिकार दिन कानुनले मिल्छ कि मिल्दैन, त्यसको कानुनी निर्क्योल गरौँ-म तयार छु।”छलफलका क्रममा देउवाले आगामी वैशाखमा तय गरिएको १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुने निश्चित भइसकेको उल्लेख गर्दै अहिले नै नेतृत्व परिवर्तनको विषय उठाउनु उपयुक्त नहुने बताएका थिए।
“मैले सार्वजनिक रूपमै अब सभापतिको उम्मेदवार नबन्ने घोषणा गरिसकेको छु। विधान अनुसार पनि म पुनः सभापति बन्न पाउँदिन। केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार वैशाख २८ देखि ३१ गतेसम्म हुने १५औँ महाधिवेशनबाट म सभापतिको उम्मेदवार हुँदिन, त्यतिबेलासम्म धैर्य गरौँ,” देउवाले भनेको स्रोतले जनाएको छ।देउवाको भनाइपछि महामन्त्रीद्वयले पार्टीभित्रका अन्य नेताहरूसँग थप छलफल गर्नुपर्ने बताउँदै निवासबाट बाहिरिएका थिए। भेटवार्तामा पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ।