शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कर्णाली विकास बैंकमा एक लाख ग्राहकको सवा चार अर्ब निक्षेप जोखिममा

नेपालगन्ज उपमहानगरपालिका– १५, जमुनाहाकी जनतुन निशा कवडियाले करिब दुई वर्षअघि आवश्यक परेको समयमा खर्च गर्ने उद्देश्यले तीन लाख ७७ हजार नेपालगन्जस्थित कर्णाली विकास बैंकमा बचत गरेकी थिइन् । तर, आफूलाई चाहिएको समयमा पटक–पटक बैंकमा जाँदा पनि आफ्नो रकम फिर्ता नपाएको उनले गुनासो गरिन् । रकम झिक्न मंगलबार पनि उनी कर्णाली विकास बैंकको केन्द्रीय कार्यालयमा पुगिन् । तर, उनले जम्मा १२ हजार रुपैयाँ मात्रै फिर्ता पाइन् । टाउकोको नसा फुटेपछि उपचारका लागि पति मुर्तजा कवडिया १५ दिनदेखि भारतको लखनउस्थित एक अस्पतालमा उपचाररत रहेको उनले बताइन् । 

सोही बैंकमा पति मुर्तजाको खातामा पनि एक लाख ३० हजार रुपैयाँ छ । तर, उपचारका लागि आवश्यक रकम बैंकले नदिएको उनले बताइन् । ‘अहिले हामीलाई पैसाको सख्त जरुरत छ । उपचारमा दैनिक ५० हजार भारतीय रुपैयाँ खर्च भइरहेको छ । बैंकले दिएको १२ हजार त गाडी भाडामा ठिक्क होला,’ उनले गुनासो गरिन् । जुम्ला कनका सुन्दरी गाउँपालिका– ६, लहार्जका ८५ वर्षीय लक्ष्मीप्रसाद आचार्य पनि पैसाका लागि मंगलबार बैंकमा पुगे । तर, बैंकमा रकम नभएको भन्ने जवाफ पाएपछि उनी रित्तो हात फर्किए । दुई वर्षअघि मुद्दती खातामा १० लाख ७० हजार जम्मा गरेका उनले सबै रकम फिर्ता गरे दुई–तीन लाख रुपैयाँ छाड्नसमेत तयार रहेको बताए । ‘आफ्नो रकम लिन पनि भिख मागेझैँ गर्नुपर्छ । बैंक धाएर थाकिसकेँ । 

अब त बैंकमा आउन पनि लाज लाग्न थालेको छ,’ उनले भने, ‘रकम डुब्न लागेपछि चिन्ताले जिउ गलिसक्यो । सोमबार आन्दोलनमा आएका वेला बेहोस भएर ढलेँ । पीडा सहन नसकेर आन्दोलनमा आयौँ । यो टन्टलापुर गर्मीमा कसैलाई रहर थिएन ।’ वृद्धभत्ता, छोराछोरीले फलफूल किन्न दिएको रकम बैंकमा जम्मा गरेको उनले बताए । ‘बुढेसकालमा उपचारलगायत तागतिलो खानेकुरा किन्न सजिलो भनेर पैसा जम्मा गरेँ । ब्याज त के साँवासमेत नपाउने स्थिति आइलाग्यो,’ उनले भने । कर्णाली विकास बैंकमा करिब एक लाख ६ हजार निक्षेपकर्ता रहेको नेपाल राष्ट्र बैंकका उपनिर्देशक तथा बैंक व्यवस्थापन समितिका संयोजक टीकाराम खतिवडाले बताए । बैंकको जायजेथा बिक्री गरे पनि निक्षेपकर्ताको रकम असुल नहुने उनको भनाइ छ । ‘बैंकको सम्पूर्ण सम्पत्ति बिक्री गर्दा पनि निक्षेपकर्ताको रकम असुलउपर हुन्न,’ उनले भने । बैंकलाई बन्द गर्नुभन्दा पुनर्संरचना गरेर सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । 

‘बैंक बन्द गर्ने हो भने निक्षेपकर्ताको रकम डुब्ने देखिन्छ । बरु, यसको पुनर्संरचना गरी सञ्चालन गर्ने उपाय अपनाउनुपर्छ,’ उनले भने, ‘पाँच लाख जम्मा गरेकाले निक्षेप फिर्ता पाए पनि त्योभन्दा माथिको रकम भएकाहरूले फिर्ता पाउने देखिँदैन ।’ पीडितका अनुसार केही व्यक्तिको ८० लाखदेखि सात करोडसम्म निक्षेप बैंकमा अड्किएको छ । बैंकले करिब चार अर्ब ३० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्न बाँकी रहेको उनीहरूको दाबी छ । बैंकमा निक्षेपकर्ताको करिब चार अर्ब २० करोड रहेको नेपाल राष्ट्र बैंकका उपनिर्देशक खतिवडाले पनि स्वीकार गरेका छन् । ‘निक्षेपकर्ताको रकम र बैंकको सम्पत्तिको अवस्था निकै अन्तर छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।