शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

१० वामले बनाए नेपाली कम्युनिस्ट पार्टी

आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्ति बन्ने दाबी, एकीकृत पार्टीमा जोडिन सम्पूर्ण वामपन्थी शक्तिलाई आह्वान

माओवादी, एकीकृत समाजवादीलगायतका १० वाम दल–समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गरेका छन् । बुधबार राजधानीको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन गर्दै उनीहरूले एकीकृत पार्टी घोषणा गरेका हुन् । नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएका छन् । अन्तिम समयमा एकता प्रक्रियामा जोडिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल एकीकृत पार्टीको तेस्रो वरीयतामा छन् । नयाँ पार्टीको चुनाव चिह्न तारा राखिएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको हो । एकता राष्ट्रिय सम्मेलनबाट प्राप्त सुझावका आधारमा अन्तरिम विधान र घोषणापत्र सर्वसम्मतिले पारित गरिएको छ । केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजकलाई दिइएको छ । 

एकतामा सामेल सबै पार्टी–नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन गर्ने प्रस्ताव पारित भएको छ । यसबाहेक त्यसअगाडि सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय भएको छ । एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य भएका छन् । एकतापूर्व तत्तत् दलको चुनाव चिह्नबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि भएका छन् । पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैंक सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुने निर्णय छ । 

नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले एकीकृत पार्टी देशकै ठुलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । एकता राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनीहरूले आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरेका हुन् । साथै, एकीकृत पार्टीमा जोडिन सम्पूर्ण वामपन्थी शक्तिलाई उनीहरूको सामूहिक आह्वान छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव नेपाललगायतका नेताले एकतालाई ऐतिहासिक कदमको संज्ञा दिँदै अब अभियान लिएर जनताकहाँ जाने र चुनावी तयारी पनि सँगसँगै गर्ने बताएका छन् । एकता मञ्चबाट उनीहरूले सम्पूर्ण कम्युनिस्ट घटकलाई एकता प्रक्रियामा आउन आह्वानसमेत गरेका छन् । 

संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीलाई देशको एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने जिकिर गरे । ‘अब नेपालमा नेकपालाई देशको नम्बर एक पार्टी बन्न कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो भयो,’ प्रचण्डले सम्बोधनमा भने, ‘कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला, नलागे पनि नलागोस् ।’जेन–जी आन्दोलनले वाम घटकहरूलाई एक ठाउँमा ल्याउन भूमिका खेलेको भन्दै प्रचण्डले एकीकृत पार्टी जेन–जीका मर्म र भावनाअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय राजनीतिमा देखा परेका चुनौती र संकट समाधानमा पार्टीले भूमिका खेल्ने बताए । 

प्रचण्डले असाधारण एकता भएको भन्दै पार्टी नयाँ ढंगले अगाडि बढ्ने बताए । ‘मलाई संयोजकको रूपमा १० घटकको ठुलो भारी, जिम्मेवारी दिनुभएको छ । मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ,’ उनले भने, ‘कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हो । अझै विचार मिल्नेहरूसँग एकता प्रक्रिया अघि बढाउँदै लैजान्छौँ ।’प्रचण्डले गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चामा रहेका दलका साथै एमाले र कांग्रेससँग पनि हातेमालो गर्न तयार रहेको बताए । ‘१० पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा छैनौँ । 

अझै एकताबद्ध गर्न तयार छौँ,’ प्रचण्डले भने, ‘समाजवादी मोर्चामा रहेका होस् या अन्य कम्युनिस्ट घटकहरू या एमालेसँग समेत बृहत् एकता गर्न तयार छौँ । राष्ट्र बचाउन तथा लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति सबैसँग हातेमालो गर्न तयार छौँ । गणतन्त्रको रक्षाका लागि कांग्रेससँग पनि सहकार्य गर्छौँ ।’सह–संयोजक नेपालले अनेक अड्चनका बाबजुद लामो गृहकार्यपछि पार्टी एकतामा पुगेको बताउँदै आग्रह–पूर्वाग्रह नगरी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै लैजाने बताए । उनले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेपाली कम्युनिस्ट पार्टी भएको दाबी पनि गरे । 

‘नेकपाकालका ९ शीर्ष नेताहरूमध्ये ५ जना यहीँ छौँ । प्रचण्ड, म आफैँ, माधव नेपाल, जेएन खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ यही छौँ । त्यसैले मूल पार्टी यही भएको छ,’ उनले भने, ‘विगतको अनुभव समीक्षा गरेर अगाडि बढ्नुपर्नेछ ।’त्यसैबीच, एकता सम्मेलनमा एकीकृत पार्टीका २३बुँदे प्रतिबद्धता पत्र र नौबुँदे प्रस्ताव पारित गरिएको छ । नवगठित पार्टीले जेन–जी पुस्ताका मुद्दा र आकांक्षाको सम्बोधन गर्न प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको छ । विगतका कामको समग्र समीक्षा गरेर भएका कमी–कमजोरीहरू सच्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रूपान्तरण गर्दै अघि बढ्न तत्पर रहने पनि एकीकृत पार्टीको प्रतिबद्धता छ ।

नयाँ पार्टीले उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ । राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्तदुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आमजनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने पनि उसले प्रतिबद्धता जनाएको छ । भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।