शनिवार, ५ बैशाख २०८३
जेन–जी आन्दोलनको धक्काले किनारामा परेपछि दलहरूबाट आधारभूत नैतिक अभ्यास र चरित्रको अपेक्षा गरिए पनि मधेश प्रदेशमा ‘फिक्सिङ’मा मुख्यमन्त्री नियुक्ति र शपथपछि राजनीतिक वृत्तले फेरि नकारात्मक चर्चा पाएको छ । मधेश प्रदेश प्रमुख (सोमबार साँझ बर्खास्त) सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मध्यराति मुख्यमन्त्री नियुक्त गरेर एकाबिहानै होटेलमा शपथ खुवाएपछि त्यसको राजनीतिक र कानुनी प्रतिवाद पनि सुरु भएको छ ।
उपचार गराउन काठमाडौं हिँडेँ भनेर जनकपुरबाट बिदा भएकी भण्डारीले सरकार गठनको आह्वानविनै ‘फिक्सिङ’मा मुख्यमन्त्री नियुक्त गरिन् र होटेलमा शपथ खुवाइन् । विवादास्पद निर्णय गरेपछि सरकारले भण्डारीलाई प्रदेश प्रमुखबाट बर्खास्त गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय गरिसकेको छ । मधेश प्रदेश सभामा प्रतिनिधित्व सात राजनीतिक दलहरूले यो घटनाको तीव्र विरोध गरेका छन् । भण्डारीले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको नजिर बेवास्ता गरेर यादवलाई मध्यराति मुख्यमन्त्री नियुक्त गरी एकाबिहानै शपथ खुवाएपछि विवाद सडकसम्म पुगेको छ ।
प्रतिवादमा कांग्रेस, जसपा नेपाल, जनमत, लोसपा, माओवादी, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरे, मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको निवासमा तोडफोड गरे । मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि हातपात गरे । उनीहरूले नियुक्तिविरुद्ध सर्वाेच्च अदालत जाने निर्णय पनि गरेका छन् । आइतबार कांग्रेस, जसपा, माओवादी, जनमतसहित सात राजनीतिक दलसँगको संवाद गरेकी भण्डारीले सोमबार बिहान भने संविधानको धारा १६८ (३) बमोजिम एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यसपछि भण्डारीले सोमबार झिसमिसे बिहान करिब ४ बजे बर्दिबासको पानस होटेलमा यादवलाई शपथ गराइन् ।
प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखबाट संविधानको धारा र निश्चित समय दिएर आह्वान हुन्छ । लोसपा नेतासमेत मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउने अवस्था नदेखेपछि गत शनिबार राजीनामा दिए । तर, प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरिनन् । सोमबार बिहान साढे तीन बजे प्रदेश प्रमुख भण्डारीले कामचलाउ सरकारका मुख्यमन्त्री सोनललाई फोन गरी आफू बिरामी भएको र उपचारका लागि काठमाडौं जानुपर्ने बताएकी थिइन् । ‘काठमाडाैं जानुअघि प्रदेश प्रमुखले मेरो स्वास्थ्य ठिक भएन, उपचार गराउन जानुपर्ने भयो, सहज व्यवस्था मिलाई दिनुस् भनेर आग्रह गर्नुभो । मैले उहाँको आग्रह सुनेँ । र, फूलमाला लगाएर बिदाइ गरेँ,’ सोनलले भने, ‘तर उहाँ महोत्तरी र सिन्धुलीको सीमामा पर्ने एक होटेलमा गएर एमालेका नेतालाई गुपचुप रूपमा मुख्यमन्त्रीमा नियुक्त गरी शपथ खुवाएर मधेशी जनतासँग धोका गर्नुभो ।’ यो संविधान र संघीयता समाप्त गर्ने षड्यन्त्रअनुसार एमालेले गरेको हर्कत हो ।’
निवासबाट बिदाइ भएको करिब आधा घण्टापछि भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथग्रहण गराएको खबर सार्वजनिक भएको थियो । एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने हल्ला आइतबार नै चलेपछि दलहरू प्रदेश प्रमुखलाई भेट्न पुगेका थिए । प्रदेश प्रमुख कार्यालयअगाडि धर्ना पनि दिएका थिए । कामचलाउ सरकारका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख भण्डारीले एमाले दलका नेतालाई गुपचुप होटेलमा शपथ गराएर मधेश प्रदेशको अस्मिता समाप्त गर्ने काम गरेको आरोप लगाए । ‘हामीसँग बहुमत सांसद हुँदाहुँदै प्रदेश प्रमुखले असंवैधानिक रूपमा एमालेका नेतालाई संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन् । सात दलका झन्डै दुईतिहाइ सांसदले लिखित रूपमा प्रदेश प्रमुखलाई धारा १६८(२) अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका थियौँ, उनले भने, ‘प्रदेश प्रमुखज्यूले पटक–पटक हामीलाई संविधानअनुसार नै नयाँ सरकार गठन गर्छु भनेर भन्नुभो । तर, सोमबार गुपचुप रूपमा दलीय प्रभावमा परी असंवैधानिक काम गर्नुभयो ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।