शनिवार, ९ साउन २०८३
गोरखा जिल्लामा निर्माण हुन लागेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजना (PROR Project) को वित्तीय व्यवस्थापन (Financial Closure) सम्पन्न भएको छ। अनुमानित ७० अर्ब रुपैयाँ लागत रहेको यस आयोजनामा १० वटा बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त लगानी (consortium financing) मा ५२ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा गठित कन्सोर्टियमले बिहीबार काठमाडौंमा आयोजना प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी प्रालिसँग औपचारिक रुपमा ऋण लगानीसम्बन्धी सम्झौता गरेको हो। सम्झौतापत्रमा टाइम्स इनर्जीका सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरे।
नेतृत्वदायी बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्नेछ भने सह–नेतृत्वमा रहेका नबिल बैंक र लक्ष्मी सनराइज बैंकले ८–८ अर्ब, र ग्लोबल आइएमई बैंकले ७ अर्ब रुपैयाँ ऋण दिनेछन्। त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (HIDCL) तथा माछापुच्छ्रे बैंकले ४–४ अर्ब, सिटिजन्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, र प्रभु बैंकले ३–३ अर्ब, र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण उपलब्ध गराउनेछ। आयोजनाको ऋण भुक्तानी अवधि ५ वर्ष ४ महिना तोकिएको छ।
टाइम्स इनर्जी प्रालिले आयोजना निर्माण तथा विद्युत् उत्पादनका लागि पुस ०८० मा विद्युत् विकास विभागबाट अनुमति पत्र प्राप्त गरिसकेको छ। साथै, उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणसँग खरिद–बिक्री (PPA) सम्झौता पनि सम्पन्न भइसकेको छ।हाल आयोजनाको पूर्वतयारी तथा पूर्वनिर्माण कार्य भइरहेका छन्। कम्पनीका अनुसार, भदौ महिनाबाट मुख्य सिभिल निर्माण कार्य सुरु गरिनेछ। आयोजनालाई पुस १५, ०८७ (2029/30) सम्म पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ।यो आयोजना निजी क्षेत्रको अगुवाइमा भएको हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन हो, जसले आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।