शुक्रबार, ४ बैशाख २०८३
निर्मल भट्टराई
नेपालको भूराजनीतिक अवस्थाले नेपालमा स्थायित्वको समस्या सधैं रहँदै आएको छ। करिब ४ सय वर्ष भारत शासन गरेको वेलायतको इस्ट इन्डिया कम्पनीको शरणमा पुगेर सत्ता हत्याउन सफल जङ्गबहादुर राणाले सुरू गरेको जहाँनिया शासन स्थिरजस्तो देखिए पनि सत्ताप्राप्तिको लागि आफू आफूबीचको लफडा नदेखिएको होइन । वेलायतले भारत छोडेपछि, १९५०को शान्ति तथा मैत्री सन्धीसँगै नेपालमा प्रजातन्त्र आएपछि छिमेकी भारतको नेपाली राजनीतिमा अनावश्यक हस्तक्षेप जारी रह्यो । त्यही कारणले ०७ सालदेखि १७ सालसम्म देशले अनेक आरोह-अवरोह देख्यो,भोग्यो। ३० वर्षे राजाको शासनमा पनि कुनै स्थिरता थिएन। पञ्चहरूको छिना झपटी, राजपरिवारका सदस्यहरूको स्वार्थको बाझाबाझ, भारतीय माइक्रो मानेजमेन्ट र जनताको संगठित प्रतिरोधको कमीका कारण पञ्चायत कालमा जनताको मुहार फेरिने खास कुनै काम हुन सकेन ।
०४६सालको परिवर्तनपछि नेपाली कांग्रेसमा देखिएको सत्ता सङ्घर्ष, कम्युनिष्टहरूमा देखिएको वैचारिक अलमल र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको खेलोमेलोका कारण देशले स्थिरता पाउन सकेन । १० वर्षे माओवादी विद्रोह, संसदवादी दलभित्रको आपसी कलह र अपरिपक्वता र पुन: निरङ्कुश हुने राजतन्त्रको दाउका कारण देश चरम अस्थिरता र अन्योलमा गुज्रन वाध्य भयो। संविधानसभाको लामो रस्साकस्सीबाट बनेको वर्तमान संविधान लागू भएपछि पनि पटक-पटकको हङ् संसदको कारण अर्को एक दशक देशले स्थायित्व पाउन सकेन । यी सबै घटनाका साक्षी देशका प्रमुख ठूला दल नेपाली कांग्रेस र एमालेले मिलेर देशलाई स्थिरता र विकास दिने फैसला गरेपछि जनतामा केही आस पलाएको छ।
यो घटनापछि प्रमुख प्रतिपक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)को सत्ता गठबन्धन बनेपछि केही समय निरन्तर भाषण गरिरहे- यो गठबन्धन लामो टिक्दैन, केही दिनमै ढल्छ । उनले यो पनि भने, आफूसँग जादुमय सङ्ख्या छ, त्यही जादुमय सङ्ख्याले फेरि माओवादी सत्तामा पुगिहाल्छ । मानौं,एमाले-कांग्रेसको गठबन्धन भत्काउने काम प्रचण्डको बाँया हातको खेल हो । उनले आफूलाई सत्ता-खेलका महारथीको रूपमा प्रस्तुत गरिरहे । एमाले र कांग्रेसको तागतको अवमुल्यन गरिरहे । प्रचण्ड सत्ताको खेलमा निरन्तर लागिरहे । कहिले उनले देउबाको कान भरे-एमालेले नेपाली कांग्रेसलाई सहजै सत्ता हस्तान्तरण गर्दैन, ओली सोचेभन्दा खतरा छन्, पहिलेझैं संसद भङ्ग गर्ने दाउमा छन्-आदि भनेर।
उनले एमालेलाई खबर पठाए,नेपाली कांग्रेसले एमालेलाई काम गर्न दिंदैन, घेराबन्दी गर्छ, एमालेको प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेससँगको लामो सत्ता सहकार्य एमालेका लागि घातक हुन्छ, वामपन्थीहरू मिलेर सरकार बनाउँदा राम्रो हुन्छ, कांग्रेसजस्तो दक्षिणपन्थी शक्तिसँग एमालेजस्तो शक्ति लत्रिएर जानु हुँदैन आदि ।प्रधानमन्त्रीको सफल चीन भ्रमण देखाएर छिमेकी भारतलाई भड्काउन प्रयत्न गरे। ओली भारतविरूध्द ‘चाइना कार्ड’ प्रयोग गर्दैछन् भने । भारतलाई ओलीविरूध्द निकै उचाल्न सकियो भने कांग्रेस-एमाले गठबन्धन भत्कन सक्छ भन्ने उनको अनुमान फेल खायो । अहिले प्रधानमन्त्रीको भारत भ्रमण तय हुँदै गर्दा ‘अनुनय विनय गरेर भ्रमण मिलाएको’ जस्ता हल्काफुल्का टिप्पणी माओवादी वृत्तबाट सुरू भएको छ ।
भिजिट भिजा प्रकरणमा केही समय प्रचण्ड सल्बलाए । एमाले र कांग्रेसबाहेकका दलहरू बटुलेर संसद अवरूध्द गरे । अराजकतावादी र राजावादीसँग मिलेर सरकारविरूध्द आकाश पाताल जोड्ने प्रयत्न गरे । यथार्थभन्दा हौवाको बढी सहारा लिइएको उक्त प्रकरणमा आफू फस्ने देखेपछि प्रचण्ड भिजिट भिजाको जगमा बनेको विपक्षी गठबन्धनबाट उनी अलग्गिए । वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयासस्वरूप प्रचण्डले नेपाली कांग्रेसका संस्थापन इतरका नेता डाक्टर शेखर कोोइरालालाई प्रधानमन्त्रीको अफर गरे । उनलाई संसदमा आवश्यक गणित पुर्याउन सुझाए । शेखरले पनि केही दिन आवश्यक सङ्ख्या पुर्याउन कसरत गरे। नसकिने देखेपछि शेखरले हात उठाए । त्यता पनि प्रचण्डको ट्रिक काम लागेन।
पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय रूपमा एमालेको राजनीति गर्ने सङ्केत पाएका प्रचण्डले ओलीको कारण कम्युनिष्ट एकता नभएको र भण्डारीले एमालेको नेतृत्व लिन सके नेपालमा भण्डारीको नेतृत्वमा कम्युनिष्ट एकता हुने गुलियो सन्देश पठाए। एमालेको नवौं बैठकले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका कोही पनि एमालेको सक्रिय राजनीतिमा फर्कन नसक्ने निर्णय गरेपछि एमालेमा सुँड पसाउन सक्ने कुनै ठाउँ प्रचण्डलाई बाँकी रहेन। नेपाली कांग्रेस र एमाले आफ्नो सात बुँदे सहमतिमा अडिग रहेपछि, ०८४सम्म वर्तमान सत्ता गठबन्धन टिकाउनबाट टसमस नभएपछि प्रचण्डको भाषा हिजोआज फेरिन थालेको छ । सत्ता गठबन्धन भत्काउन भगीरथ प्रयत्न गरेका प्रचण्ड अब थाकेको जस्तो देखिन्छ ।
सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा हालै प्रचण्डले भने, ‘यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।’यहाँ पञ्चतन्त्रको एउटा कथा स्मरणीय छ । एउटा फ्याउरो लटरम्म पाकेका अङ्गुरको बगैंचामा पुग्दछ । त्यो फ्याउरो अग्लो ठाउँमा झुण्डिएको अङ्गुरको झुप्पो टिप्न आफ्नो सम्पूर्ण तागत लगाएर उफ्रन्छ । लामो समयसम्म उफ्रँदा पनि अङ्गुरको झुप्पो छुन नसकेपछि ‘यो अङ्गुर अमिलो छ’ भनेर त्यो फ्याउरो लाखापाखा लाग्छ । अहिले प्रचण्डलाई सरकार ‘अङ्गुर अमिलो’ भएको छ । आफ्नो ‘जादुमयी सङ्ख्या’को वास्तविक औकात थाहा पाएपछि, धरातलीय यथार्थमा आफूलाई पाएपछि प्रचण्डको टेन्सनको पारो निकै घटेको अनुमान गर्न कठिन छैन ।र, यसबाट प्रष्ट भएको छ, नेपाली सत्ता विस्तारै मजबुत हुँदै गएको छ ।
कालो बादलमा चाँदीको घेरा हुन्छ भनिन्छ । सधैं मुख भारततिर फर्किएको भनिने र मानिने नेपाली कांग्रेस र बेइजिङमा पानी पर्दा नेपालमा छाता ओड्छन् भन्ने आरोप लाग्दै आएका कम्युनिष्टहरू मिलेर देशलाई स्थिरता र विकासमार्फत् नेपाललाई एक स्वाधीन, सवल र सम्मुन्नत राष्ट्र बनाउने प्रयास गर्नुलाई कुनै बहानामा अनुचित मान्न सकिँदैन । यो पृष्ठभूमिमा अब बिस्तारै आगामी आम चुनावको चर्चा हुन थालेको छ । ०८४को निर्वाचनमा जनताले दिने फैसला नै देशको सुन्दर भविष्यको लागि कोशेढुङ्गा हुनसक्छ ।