शनिवार, ५ बैशाख २०८३
८ मंसिर, काठमाडौं । साताको दोश्रो दिन सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक ५०.४४ अंकले बढ्दै २६५० अंकमा पुगेको छ। दिनभर हरियो देखिएको बजारमा लगानीकर्ताको मनोबल बलियो रह्यो। बजारसँगै कारोबार रकम पनि उक्लिएको छ। अघिल्लो दिन ६ अर्ब २८ करोडमा सीमित कारोबार आज वृद्धि हुँदै ७ अर्ब ३ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
आजको कारोबारमा २१५ कम्पनीको मूल्य बढ्दा ३७ ओटाको घट्यो र ६ कम्पनी स्थिर रहेका छन् । सबै समूहका उप–सूचक हरियै रहे। सबैभन्दा उत्कृष्ट प्रदर्शन जीवन बीमा समूहले गरेको छ, जसको उप–सूचक ४.९४ प्रतिशत बढ्यो। त्यस्तै निर्जीवन बीमा २.९९ प्रतिशत, होटल तथा पर्यटन २.२४ प्रतिशत, लगानी १.८३ प्रतिशत, उत्पादन तथा प्रशोधन १.६४ प्रतिशत, माइक्रोफाइनान्स १.९३ प्रतिशत तथा बैंकिङ १.४० प्रतिशतले उक्लिएको छ। हाइड्रोपावर ०.८० प्रतिशत, अन्य १.६८ प्रतिशत, विकास बैंक १.२१ प्रतिशत, फाइनान्स १.४२ प्रतिशत र व्यापार समूह ०.७६ प्रतिशतले बढेका छन् ।