शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिनमा

पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा तानिएका छन् । यो दायरामा पूर्वमन्त्रीद्वय देउवापत्नी आरजु राणा र दीपक खड्का पनि परेका छन् । नयाँ सरकारको ‘स्पिरिट’अनुसार सम्पत्ति शुद्धीकरण विभागले उनीहरूमाथि छानबिन थालेको हो । पूर्वमन्त्री एवं कांग्रेस नेता खड्कालाई सिआइबीले आइतबार पक्राउ गरिसकेको छ भने ओली, प्रचण्ड र देउवादम्पतीको ठेगानामा प्रहरीमार्फत विभागले पत्र पठाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही बुझ्नुपर्ने भन्दै पाँचैजनालाई विभागमा उपस्थित हुन पत्र काटिएको स्रोतले बतायो । 

पूर्वप्रधानमन्त्री ओली जेन–जी आन्दोलनमा दमन गरेको घटनामा पक्राउ परी प्रहरी हिरासत (उपचारका लागि अस्पताल)मै छन् । शनिबार पक्राउ परेका उनलाई अदालतले पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । देउवादम्पती देशबाहिर छन् भने प्रचण्ड स्वदेशमै छन् । जेन–जी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठस्थित निवासमा ठुलो मात्रामा पैसाका नोट जलेका फेला परेका थिए । त्यसका भिडियो र फोटोहरूसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । ओली र प्रचण्डको निवासमा भने पैसा जलेको आरोप लगाइए पनि आधिकारिक कुनै प्रमाण भेटिएको छैन । त्यस्तै, खड्काको घरमा पनि आन्दोलनकारीले विदेशी नोट जलाएको र उडाएको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । 

विभागले अनुसन्धानका लागि असोज पहिलो साता ती नेताहरूको घरमा गएर जलेका भनिएका नोटबारे निरीक्षण गरी मुचुल्का उठाएर ल्याएको थियो । ती नोटको प्रहरीमार्फत फरेन्सिक परीक्षणसमेत गरिएको थियो । यसका अतिरिक्त अनुसन्धान टोलीले सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो र भिडियोसमेत विश्लेषण गरेको थियो । विभागले अनुसन्धानको दायरामा परेका नेता र तिनका परिवारका नाममा रहेका सम्पत्ति तथा कारोबारको विवरण खोजेको थियो । गत असोजमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार कार्यालय, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र भूमिसुधार तथा मालपोत विभागलाई पत्राचार गर्दै उनीहरूको बैंक खाता, कम्पनी, धितोपत्र कारोबार र घरजग्गाको विवरण मागेको थियो । 

अलग्गै अनुसन्धान टोली गठन गरेर अनुसन्धान अघि बढाए पनि विभागले छानबिन नै टुंगोमा नपुर्‍याई छाडेको थियो । अहिले नयाँ सरकार आएसँगै छानबिनको प्रक्रिया अघि बढाइएको हो । सरकारले छानबिनको दायरामा ल्याएका देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका नेता हुन् । पछिल्ला दशकमा सदाबहारजसो सत्ता र शक्तिमा रहेका पतिसँगको पारिवारिक सम्बन्धको दुरुपयोगबाट अनुचित लाभ लिएको आरोप देउवापत्नी आरजुमाथि लाग्दै आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी अनुसन्धानको दायरामा तानिएकी थिइन् । यसबाहेक नियुक्ति, सरुवा–बढुवामा अनुचित लाभ लिएको भन्दै उनी विवादित छिन् । 

ठेक्कापट्टा र व्यापारमा जोडएका उनीहरूका छोरा जयवीर पनि अनुचित गतिविधिमा संलग्न भएको भन्दै विवादित छन् । त्यस्तै, चारपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष ओली र तीनपटक प्रधानमन्त्री बनेका नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि आर्थिक पारदर्शितालाई लिएर प्रश्न उठ्ने गरेको छ । स्रोतका अनुसार शीर्ष नेताको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विभागले प्रारम्भिक तहमा मात्र हेर्नेछ । प्रारम्भिक छानबिनपछि सम्बन्धित कसुर हेर्ने निकायलाई थप छानबिन र अभियोजन गर्ने गरी प्रतिवेदन हस्तान्तरण गर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।