बिहिबार, १० बैशाख २०८३
काठमाडौँ । बिचौलिया समूहसँग शंकास्पद आर्थिक कारोबारमा जोडिएको आरोपपछि गृहमन्त्री सुधन गुरुङले पद सम्हालेको २६ दिनमै राजीनामा दिएका छन्। बुधबार पद त्याग्दै उनले आफूमाथि उठेका आरोपमाथि निष्पक्ष छानबिनका लागि मार्ग खुला गर्न निर्णय गरेको बताएका छन्। यससँगै रास्वपा नेतृत्वको सरकारमा छोटो अवधिमै पद गुमाउने गुरुङ दोस्रो मन्त्री बनेका छन्। यसअघि श्रममन्त्री दीपककुमार साह श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा निरन्तरता दिएको विवादका कारण नियुक्त भएको १३ दिनमै पदमुक्त भएका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पछिल्ला महिनादेखि विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर समूहसँग सम्बन्धित आर्थिक कारोबारमाथि छानबिन गरिरहेको छ। सोही क्रममा भट्ट र उनका सहयोगी सुलभ अग्रवाल प्रहरी हिरासतमा छन्। उनीहरूद्वारा हिमालयन रिइन्स्योरेन्स र सहायक कम्पनीमार्फत अर्बौँ रकम दुरुपयोग भएको आशंका गरिएको छ। छानबिनको अन्तिम चरणतिर पुगेका बेला भट्टसँग गुरुङको पनि कारोबार जोडिएको संकेत देखिएपछि राजनीतिक र सार्वजनिक दबाब बढेको थियो।
विशेषतः स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरुङको २५ लाख बराबरको सेयर रहेको कागज बाहिरिएपछि विवाद थप चर्किएको हो। यद्यपि, गुरुङको प्रत्यक्ष संलग्नता अझै प्रमाणित भइसकेको छैन। तर सम्पत्ति विवरण र भट्टसँगको सम्बन्धबारे छानबिनको माग व्यापक भएपछि उनले पद छाड्दै अनुसन्धानलाई सहज बनाउने बताएका छन्। त्यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर पनि विवादमा तानिएका छन्।
विभागकै सिफारिसमा अनुसन्धानको दायरामा रहेका विवादास्पद व्यापारी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा आफ्नै श्रीमतीको नाममा सेयर रहेको खुलेपछि स्वार्थ द्वन्द्वको गम्भीर प्रश्न उठेको हो। कम्पनीमा आफ्नै श्रीमतीको नाममा सेयर रहेको खुलेपछि स्वार्थ द्वन्द्वको गम्भीर प्रश्न उठेको हो। सार्वजनिक कागजातअनुसार भट्टसँग जोडिएको हिमालयन रि-इन्स्योरेन्स कम्पनीमा ठाकुरकी श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता सेयर रहेको देखिएको छ।