आईतबार, ३ साउन २०८३
नेपालबाट भारतको दिल्लीमा संगठित तवरले मिर्गौला तस्करी गर्ने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ७ का ३८ वर्षीय श्यामकृष्ण भण्डारी छन् । उनको समूहले नेपालबाट मात्रै सयभन्दा धेरै नेपालीको भारतका विभिन्न सहरमा मिर्गौला बेचेको तथ्य नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले खोलेको हो ।
ब्युरोको टोलीले भण्डारीलाई भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ । उनीसँगै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– २ का २९ वर्षीय सुजन भारती पनि पक्राउ परेका छन् । उनी गिरोहका भण्डारीपछिका मुख्य नाइके हुन् । गत १९ साउनमा पक्राउ परेका काभ्रेको पाँचखाल नगरपालिका– १० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार, नुवाकोटको बेलकोटगढी नगरपालिका– ९ का २४ वर्षीय समीर नेपाली र वडा नम्बर ४ का ४७ वर्षीय राकेश नेपाली पनि भण्डारीकै समूहका सदस्य हुन् ।
ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले भण्डारीले सात वर्षदेखि भारतको नयाँदिल्लीमा बसी नेपाली नागरिकको मिर्गौला बेच्दै आएको बताए । २५ जनाभन्दा धेरै नेपालीको मिर्गौला बेचेको तथ्य उनले प्रहरीको बयानमै स्वीकार गरेको उनको भनाइ छ । ‘नेपाली नागरिकलाई विभिन्न प्रलोभन देखाउँदै भारतको दिल्ली लगेर मिर्गौला बिक्री गर्ने गिरोहका मुख्य नाइके श्यामकृष्ण भण्डारी रहेको देखिन्छ । उनले सात वर्षदेखि यो धन्दा चलाउँदै आएका थिए । हामीलाई प्राप्त सूचनाअनुसार यिनीहरूले सयभन्दा धेरै नेपालीको मिर्गौला बेचेको देखिन्छ । २५ जना नेपालीको मिर्गौला बेचेको तथ्य त उसले हामीसँगको बयानमै स्वीकार गरेको छ,’ उनले भने ।
प्रहरीका अनुसार मिर्गौला कारोबारकै लागि भण्डारीले दिल्लीबाट भारतीय आधार कार्ड लिएका छन् । भण्डारी भारतीय प्रहरीको पनि खोजीमा रहेको अभियुक्त हुन् । उनीविरुद्ध भारतीय प्रहरीले अनुसन्धान गरिरहेको ब्युरो प्रमुख एसएसपी पंगेनीले बताए । ‘भण्डारीले भारतीय आधार कार्ड लिएको देखिन्छ । मिर्गौला तस्करी गर्न उनले ठुलो गिरोह बनाएको पनि देखिन्छ । भण्डारी भारतीय प्रहरीको समेत अनुसन्धानको घेरा रहेका व्यक्ति हुन् । उनीविरुद्ध अहिले भारतीय प्रहरीले अनुसन्धान अघि बढाइसकेका सूचना प्राप्त गरेका छौँ,’ उनले भने ।
प्रहरीका अनुसार भण्डारीले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई आकर्षक रोजगारी मिलाइदिने प्रलोभनमा भारत पु¥याउँथे । महिना दिनसम्म होटेलमा राखी सत्कार गर्थे । सोही क्रममा मिर्गौला बेच्न प्रेरित गर्थे । उनीहरूलाई सुरुमा प्रतिमिर्गौला ६ लाख रुपैयाँ दिने प्रलोभन दिन्थे । नमाने ज्यान मार्ने धम्की दिन्थे । राजी भएपछि पीडितको आँखामा कालोपट्टी बाँधिदिन्थे । ट्याक्सीमा राखेर सहर घुमाउँदै अस्पताल पुर्याउँथे । इन्जेक्सन लगाई बेहोस पार्थे । मिर्गौला झिकिदिन्थे । पाँच दिन अस्पताल राख्थे । घाउ सुकेपछि पुनः पीडितको आँखामा कलोपट्टी बाँधिदिन्थे । र, सहर घुमाएर होटेल पुर्याउँथे ।
मिर्गौला बेचेबापतको रकम माग्दा उनले एक लाखदेखि दुई लाख रुपैयाँ मात्रै दिने गरेको प्रहरीको भनाइ छ । बाँकी रकम भने अर्को ग्राहक खोजेपछि उपलब्ध गराइदिने भन्थे । उनीसँगै पक्राउ परेका २९ वर्षीय भारती सोहीमध्येका एक हुन् । उनले भण्डारीकै योजनामा चार वर्षअघि मिर्गौला बेचेका थिए । त्यसबापत उनले सुरुमा एक लाख रुपैयाँ मात्रै प्राप्त गरेका थिए । प्रहरीका अनुसार बाँकी रकम उपलब्ध गराइदिने प्रलोभनमा भण्डारीले उनलाई थाहै नपाई गिरोहका सदस्य बनाएका थिए । तर, भण्डारीले आफ्नो भने मिर्गौला बेचेका छैनन् ।
‘भण्डारीले अनेक प्रलोभनमा पारी पीडितलाई भारतको विभिन्न सहर लगेर ट्र्यापमा पारी मिर्गौला बेच्न लगाउने गरेको पाइयो । कबुल गरेअनुसारको रकम भने नदिने, मिर्गौला बेचेकालाई नै नयाँ ग्राहक खोज्न दबाब दिने र मिर्गौला तस्करीमा संगठित गिरोह निर्माण गरेको अनुसन्धानबाट देखिन्छ,’ ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।