आईतबार, ३ साउन २०८३
रुपन्देही । रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्न प्रसाद पौडेलले चुनावी मैदानमा आफ्नो बलियो पकड जमाएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पौडेललाई स्थानीय तहदेखि व्यवसायिक पृष्ठभूमि र युवापुस्ताको सक्रिय समर्थन रहेको पाइएको छ। व्यवसायीका रूपमा स्थापित पौडेलले रुपन्देहीमा रोजगारी सिर्जना, स्थानीय लगानी प्रवर्द्धन र सामाजिक अभियानमा सक्रिय भूमिका खेल्दै आएका छन्। उद्योग–व्यापार क्षेत्रमा उनको संलग्नताले आर्थिक एजेन्डामा विश्वसनीयता थपेको समर्थकहरूको भनाई छ।
हामीले रुपन्देही -२ का मतदाताको घर-घरमा पुगी नमुना मत विश्लेषण गर्दा उनको पक्षमा बलियो समर्थन रहेको पायौं। यद्यपि रुपन्देही -२ को मुख्य प्रतिस्पर्धामा रास्वपाका सुलभ खरेल, नेकपा एमालेका उपाध्यक्ष समेत रहेका बिष्णु पौडेल र काङ्ग्रेसका चुन्न प्रसाद पौडेलविच हुने देखिन्छ। यस अघि एमालेका बिष्णु पौडेलले रास्वपाका उम्मेदवार गणेश पौडेलसँग झिनो मतान्तरले जित हाँसिल गरेका थिए। तर, अहिले जेनजी आन्दोलन, रास्वपा प्रति जनताको समर्थन र स्थानिय रुपमा युवाहरुमाझ सफल उद्योगी र लोकप्रिय नेताको रुपमा स्थापित चुन्न प्रसाद पौडेलप्रतिको स्थानिय जनताको भरोसाले रुपन्देही-२ मा कडा चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।
यता, जुत्ता चुनाव चिन्ह लिएर जेनजीको मुद्दालाई अगाडि सारेर स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल भुसाल (निकोलस) ले पनि धेरथोर मत ल्याउने पक्का छ। उनलाई आउने मत प्रायः रास्वपाको मत काटिएर आउने स्थानिय युवासमुहकै भनाइ छ। विगतका निर्वाचन परिणाम हेर्दा रुपन्देही-२ मतान्तर कम हुने एकदमै कडा प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ। तर, यसपटक व्यवसायिक पृष्ठभूमि, विकासमुखी एजेन्डा र युवा सहभागिताका कारण पौडेलले फरक लय समातेको स्थानिय मतदाताहरुको विश्लेषण छ। पौडेलले आफ्नो अभियानलाई राष्ट्रिय नाराभन्दा बढी स्थानीय मुद्दामा केन्द्रित गरेका छन्।
सिँचाइ र कृषिको लागत घटाउने योजना, पर्यटन सम्भावना विस्तार (लुम्बिनी नजिकको क्षेत्रीय लाभ), औद्योगिक करिडोर विस्तार र रोजगारी सृजना लगायत कारणले “विकासमुखी र व्यवस्थापन गर्न सक्ने उम्मेदवार” को छवि बनेको समर्थकहरूको दाबी छ। हामी रुपन्देही–२ का उम्मेदवारको घरदैलो पुगेर हेर्दा चुन्न प्रसाद पौडेल को चुनावी अवस्था सशक्त देख्यौं। यसो भन्दै गर्दा रास्वपाका सुलभ युवा, व्यवसायिक समुदाय र संगठनात्मक संरचनाको संयोजनले उनलाई प्रतिस्पर्धामा अगाडि राखेको संकेत मिलिरहेको छ। अन्तिम मतपरिणामले कस्तो मोड लिन्छ भन्ने निर्वाचन दिनले तय गर्नेछ, तर हालसम्मको माहोल पौडेलको पक्षमा बलियो देखिन्छ।