शनिवार, ५ बैशाख २०८३
जगदम्बा स्टील्स लिमिटेडले उद्योगको अहित हुने गरी गलत र तथ्यहिन भ्रम फैलाइएको बताएको छ। उसले एक विज्ञप्ति जारी गर्दै जगदम्बा स्टील्स को श्रमिक युनियनले पुस ८ गते श्रमिकहरुले प्राप्त गर्ने बोनशको विषयमा गरेको पत्रकार सम्मेलन र सो मा उठाइएका उद्योगको आन्तरिक विषयवस्तु र मिडियामा प्रकाशित तथा प्रशारित समाचारका विषयमा उद्योगको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
युनियनका पदाधिकारीहरुले प्रचलित बोनश ऐन, नियम बमोजिम आफुले प्राप्त गर्ने बोनश रकम नबुझी मनोमानि ढंगले बोनश रकम माग गर्ने र माग गरे बमोजिमको रकम प्राप्त नहुँदा व्यवस्थापनमा कार्यरत व्यक्तिहरुलाई धाकधम्की दिई उद्योग परिसरमा उपस्थित हुन असहज वातावरण सृजना गर्ने, आफु कार्यरत उद्योगको अहित हुने गरी मनगढन्ते र तथ्यहिन कुरा गरी पत्रकार सम्मेलन गर्नुको साथै उद्योग, कर्मचारी र श्रमिकहरुसँग असम्बन्धित व्यक्तिहरुलाई उपस्थित गराई उद्योगको विरुद्धमा गलत सन्देश प्रबाह गर्ने जस्ता कार्य कानूनी र व्यवहारिक रुपमा समेत सह्य नहुने जनाएको छ ।
उद्योगले बोनश वितरणको सम्बन्धमा विवाद भई प्रचलित कानून बमोजिम बोनश वितरण गर्न सहजिकरण गरिदिनको लागि श्रम कार्यलय बीरगंज पर्सालाई समेत अनुरोध गरिएको जनाएको छ । तर बोनश ऐन विपरित गैरकानुनी रुपमा माग गरिएको रकम नदिए बन्दहड्ताल गर्न सक्छौँ भनि अल्टिमेटम दिएको हुँदा न्यायिक निकासका लागि अदालतको शरणमा जान बाध्य भयौँ उद्योगले आफ्नो बिज्ञप्तिमा भनेको छ । सो सम्बन्धमा सम्मानित अदालतबाट विवाद निरुपण समेत भइसकेको र सो फैसलामा चित्त नबुझे कानूनी उपचार खोज्नु पर्नेमा पुनः बोनसको बहानामा कारखानाको आधिकारीक ट्रेड युनियनले कारखाना बन्दगर्ने धम्किदिने, पत्रकार सम्मेलन गर्ने, सामाजिक सञ्जाल मार्फत धाकधम्कियुक्त सामाग्री सम्प्रेषण गरि दबाब दिने जस्ता गैरजिम्मेवार कार्य गर्दै आएकोमा आपत्ति जनाएको छ ।
साथै प्रचलित ऐन, नियम बमोजिम कर्मचारी तथा श्रमिकहरुलाई बोनश उपलब्ध गराउन तयार हुँदा समेत बोनश ऐनको बर्खिलाप हुनेगरि निजहरुले बोनश रकम माग गरेको र उक्त रकम नदिए हुलास स्टील उद्योग, त्रिवेणी स्पिनिङ उद्योग र भगवती स्टील इण्डष्ट्रिज उद्योगमा श्रमिक युनियनले उद्योगका पदाधिकारीहरुलाई गरेको दुव्र्यवहार जस्तै यस उद्योगमा पनि सोहि किसिमको व्यवहार गरिने धाकधम्की दिदै आएको र भदौ २९ गते सोही किसिमको ब्यवहार समेत गरेको हुँदा उद्योग व्यवस्थापन पक्ष विगत ३ महिना देखी उद्योग परिसरमा उपस्थित नभएको प्रस्ट पारेको छ । अन्ततः अझपनि कम्पनी बोनस ऐन, २०३० बमोजिम नियमानुसार बोनस वितरण गर्न तयार रहेको जानकारी समेत उद्योगले गराएको छ ।