शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँको गोंगबुस्थित रहेको विनायक अस्पताल तथा प्रसुतिगृह प्रा.ली.ले आफ्नो सेवा विस्तार गरेको छ । पछिल्लो समय प्रबन्ध निर्देशकमा केपी लामिछाने नेतृत्वमा आएपछि दिनप्रतिदिन विनायक अस्पतालको मुहार फेरिँदो छ । अहिले विनायक अस्पताल आधुनिक सुविधासहित सञ्चालनमा छ । दीर्घकालीन स्वास्थ्य सेवाको माग र बदलिएको आवश्यकता अनुसार अस्पतालले उपचार सेवामा नयाँ प्राविधिक उपकरण, विशेषज्ञ चिकित्सक र सुविधाजनक सेवा प्रवाहको व्यवस्था गरेको छ । अस्पतालले अहिले बिभिन्न सेवाहरु थप गरि अस्पताललाई सुविधासम्पन्न बनाएको छ ।
विनायक अस्पतालमा यस अघि एक्स-रे, भिडियो एक्स रे, सिटिस्क्यान,आँखाको उपचार,दाँतको उपचार,4D भिडियो एक्स रे सेवा दिदै आएकोमा अहिले लेजर मेसिन,QMS,QR र ल्याप्रोस्कोपी सेवा थप भएको छ भने नयाँ सुबिधासम्पन्न भवन थपिएको छ । त्यस्तै, आकस्मिक कक्ष (इमर्जेन्सी), आईसीयू, एनआईसीयू र भेन्टिलेटरयुक्त सेवा पनि थपिएको छ । विनायक अस्पतालका कार्यकारी अध्यक्ष केपी लामिछानेले भने-“अब सामान्य चेकजाँचदेखि जटिल शल्यक्रिया उपचारसम्मका सम्पूर्ण सेवा हामीसँग उपलब्ध छन् । बिरामीलाई छिटो, सहज र सस्तो सेवामार्फत उपचारमा सहयोग पुर्याउने हाम्रो लक्ष्य छ ।”नयाँ संरचना विस्तारसँगै अस्पतालमा आन्तरिक तथा बाह्य बिरामीलाई बेड क्षमतासमेत बढाइएको छ ।
लेजर मेसिन
किड्नीमा पत्थर (stone) भएमा परम्परागत रूपमा ठूलो पत्थर निकाल्न शल्यक्रिया (operation) गर्नुपर्थ्यो । तर अहिले आधुनिक प्रविधिबाट लेजर मेसिन प्रयोग गरेर बिना अपरेशन नै पत्थर फुटाएर निकालीने उपचार हुन्छ, जसलाई प्रायः Laser Lithotripsy भनिन्छ। बिरामीलाई हल्का बेहोस (anesthesia) बनाएर "Ureteroscope" भन्ने पातलो ट्युब यौनमार्ग हुँदै मूत्रमार्ग (urinary tract) मार्फत पिसाब नली हुँदै किड्नीमा पुग्छ तर बाहिरबाट कुनै काट्ने काम हुँदैन। पत्थर भेटिएपछि Holmium:YAG Laser वा नयाँ Thulium Fiber Laser प्रयोग गरेर पत्थरलाई धेरै साना टुक्रा बनाइन्छ। ती टुक्रा पानीसँगै पिसाब मार्फत बाहिर निस्कन्छन् वा डाक्टरले केही टुक्रा विशेष उपकरणले निकालिदिन्छन्। लेजरले पत्थरलाई थिचेर निकाल्ने होइन, फुटाएर सानो टुक्रा बनाइदिन्छ जसले प्राकृतिक बाटो (पिसाबमार्ग) बाट सजिलै बाहिरिन सक्छ।
ल्याप्रोस्कोपी
पाठेघर (गर्भाशय) को अपरेशन ल्याप्रोस्कोपीबाट गरिने प्रविधिलाई Laparoscopic Hysterectomy भनिन्छ । यो न्यून–आक्रामक (minimally invasive) शल्यक्रिया हो, जसमा ठूलो चिरा नपारिकन पेटमा स–साना प्वाल (०.५–१ सेन्टिमिटर जति) बनाएर विशेष क्यामेरा र उपकरण प्रयोग गरेर पाठेघर निकालिन्छ । बिरामीलाई सामान्य बेहोस पारिन्छ भने पेटमा ३–४ वटा स–साना प्वाल पारिन्छ। एउटा प्वालमार्फत क्यामेरा हालिन्छ जसले स्क्रीनमा भित्रको दृश्य देखाउँछ। त्यस्तै अन्य प्वालबाट उपकरण हालेर पाठेघरलाई काटेर, भाग–भागमा वा सम्पूर्ण रूपमा निकालिन्छ। यसरी गर्दा ठूलो चिरा पर्दैन, केवल स–साना दाग मात्र हुन्छ। तर सामान्य वा मध्यम जटिल केसमा ल्याप्रोस्कोपी धेरै राम्रो हुन्छ भने अत्यन्त जटिल वा ठूलो समस्या भएको केसमा खुला अपरेशन अझ सुरक्षित हुन्छ।
QMS system
QMS system भन्नाले Queue Management System (टोकन प्रणाली) हो । यसले भीड व्यवस्थापन गर्न सजिलो बनाउछ भने बिरामीले लाइनमा लामो समय उभिनु पर्दैन। टोकन नम्बर पाएको बिरामीलाई आफ्नो पालो कहिले आउँछ भन्ने प्रष्ट हुन्छ। अनावश्यक धक्का–मुक्की र झमेला हट्छ। अस्पतालमा टोकन प्रणालीले सेवा प्रवाहलाई पारदर्शी, व्यवस्थित र छिटो बनाउँछ, जसले बिरामीको सन्तुष्टि र अस्पतालको छवि दुवैमा सुधार ल्याउँछ ।
QR प्रणाली
यस अन्तर्गत बिरामीले आफ्नो ल्याबको रिपोर्ट कस्तो आयो भनेर घरमा नै बसेर हेर्न सक्दछन । बिलमा दिएको user name र password प्रयोग गरेर qr कोड स्क्यान गरेर आफ्नो रिपोर्ट हेर्न सकिन्छ । यस सुविधाले रिपोर्ट लिन जानुपर्ने झन्झटबाट मुक्ति दिन्छ भने यसले समयको समेत बचत गर्छ ।
विनायक अस्पतालले अहिले अर्को भवनसमेत भाडामा लिएर सेवा बिस्तार गरेको छ। ५ तलाको उक्त भवनमा २ ओटा लिफ्ट सुबिधा रहेको छ भने अन्डरग्राउण्ड पार्किङको सुबिधा रहेको छ। जसमा ३० बटा गाडी र १०० ओटा मोटरसाइकल थप पार्किङ गर्न सकिन्छ। अब अस्पतालमा १० आइसीयु र ४ भेन्टिलेटर रहेको छ भने एनआइसीयु ७ र भेन्टिलेटर २ रहेका छन् । त्यस्तै बिनायाकमा आधुनिक सुबिधासंम्पन्न ओपीडी सेवा समेत रहेको छ । विनायकमा क्याबिनसहितको सुविधायुक्त रुममा आरामदायी रुपमा उपचार गर्न पाइने छ । अस्पतालले २ वटा डिलक्स क्याबिनसहित ११ वटा क्याबिन संचालनमा ल्याएको छ ।
यस क्याबिनमा टेलीफोन, टेलिभिजन, इन्टरनेट, सोफा, आरामदायी बेड देखि तातो-चिसो पानी समेत उपलब्ध छन । यस अस्पतालमा अहिले अपरेसन थ्रिएटर दुईवटा छ । यस सुविधाले अपरेसन गर्दा पालो पर्खनुपर्ने बाध्यताको अन्त्य भएको छ । यस अस्पतालले स्पाइनल (घाँटीको पछाडिको भाग) को समेत उपचार गरिरहेको छ । अहिले अस्पतालले दाँतसम्बन्धि सम्पूर्ण उपचार गरिरहेको छ । त्यस्तै नाक,कान,घांटीको फेक्जिबल इन्डोस्कोपी सुबिधा समेत रहेको छ। यस अस्पतालले जेनजी आन्दोलनमा घाइते भएका करिव ७०-८० जनाको निशुल्क उपचार गरेको छ भने बि.स.२०६२/६३ को जनआन्दोलनका घाइतेहरुको समेत निशुल्क उपचार गरेको थियो ।
बि.स. २०५२ सालमा करिव ४ करोड लगानीबाट चावहिलमा स्थापना भएको यो अस्पतालको सम्पति अहिले करिव ६० करोड पुगेको छ । बि.स.२०६१ सालमा गोंगबुमा यो अस्पताल सारिएको थियो । यो अस्पताल अहिलेसम्म भाडामा रहेको भवनमा भएपनि अब भने आफ्नो नयाँ भवन निर्माण गर्ने तयारीमा छ । अस्पतालले आफ्नो सम्पति एक अर्व पुर्याउने लक्ष्य राखेको छ । अस्पतालले गोंगबुमा २ रोपनी जग्गा खरिद गरिसकेको छ । यस अस्पतालमा १ सय ३५ कर्मचारीसहित करिव २ सय जनाले सेवा प्रवाह गरिरहेका छन् ।