शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं, २६ चैत। ३० वर्षे पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै नेपालमा बहुदलीय प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ। वि.सं. २०४६ चैत २६ गते नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनको दबाबमा तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गर्नुभएको थियो। सो घोषणासँगै २०१७ पुस १ गतेदेखि लागू भएको ३० वर्षे दलविहीन पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो।
वि.सं. २०४६ फागुन ७ गतेदेखि सुरु भएको जनआन्दोलन कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा करिब ५० दिनसम्म चलेको थियो। आन्दोलनका क्रममा देशभर प्रदर्शन, जुलुस र प्रतिरोधका कार्यक्रम सञ्चालन भएका थिए। लोकतन्त्र पुनःस्थापनाका लागि भएका संघर्षमा धेरै नागरिक घाइते भएका थिए भने केहीले ज्यानसमेत गुमाएका थिए। २०४६ सालको जनआन्दोलनलाई नेपालको लोकतान्त्रिक यात्राको निर्णायक मोडका रूपमा लिने गरिन्छ। यस आन्दोलनपछि बहुदलीय शासन व्यवस्था पुनःस्थापना हुनुका साथै २०४७ सालको संविधानमार्फत संसदीय लोकतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया अघि बढेको थियो।
जनआन्दोलन दिवसका अवसरमा आज राजनीतिक दल, नागरिक समाज, लोकतन्त्र सेनानी तथा विभिन्न संघसंस्थाले सभासमारोह, विचारगोष्ठी, दीपप्रज्वलन र श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्। लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानको स्मरण गर्दै आजको दिनलाई लोकतान्त्रिक मूल्य, जनअधिकार, सुशासन र राजनीतिक उत्तरदायित्वप्रति पुनःप्रतिबद्धता जनाउने अवसरका रूपमा हेरिएको छ।
पञ्चायती व्यवस्थाको अन्त्य र जनदबाबको विजय
नेपालमा वि.सं. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार विघटन गर्दै संसदीय शासन व्यवस्थाको अन्त्य गर्नुभएको थियो। त्यसपछि दलविहीन पञ्चायती व्यवस्था लागू गरिएको थियो, जसले करिब तीन दशकसम्म राजनीतिक दलमाथि प्रतिबन्ध, नागरिक स्वतन्त्रतामाथि अंकुश र केन्द्रिकृत सत्ताको अभ्यासलाई निरन्तरता दिएको थियो। तर समयक्रममा पञ्चायती व्यवस्थाप्रति जनअसन्तुष्टि बढ्दै गयो। राजनीतिक अधिकार, प्रेस स्वतन्त्रता, मानवअधिकार र जनप्रतिनिधिमूलक शासन व्यवस्थाको माग सशक्त बन्दै जाँदा नेपाली कांग्रेस र वामपन्थी शक्तिहरू एकजुट भएर संयुक्त जनआन्दोलन मा उत्रिएका थिए।
५० दिने जनआन्दोलनले बदल्यो नेपालको राजनीतिक दिशा
वि.सं. २०४६ साल फागुन ७ गते बाट सुरु भएको जनआन्दोलनले देशव्यापी जनलहर सिर्जना गरेको थियो। उक्त मिति वि.सं. २००७ साल फागुन ७ गते नेपालमा पहिलोपटक प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनसँग जोडिएको थियो। कांग्रेस नेता गणेशमान सिंहको नेतृत्व तथा वाममोर्चासहितको सहकार्य मा अघि बढेको आन्दोलन करिब ५० दिनसम्म चलेको थियो। राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा प्रदर्शन, सभा, जुलुस, नाकाबन्दी र प्रतिरोधका कार्यक्रम सञ्चालन भएका थिए। आन्दोलनका क्रममा अनेकौं नागरिक घाइते भए, धेरैले गिरफ्तारी भोगे, र केहीले लोकतन्त्रका लागि आफ्नो ज्यानसमेत अर्पण गरे। ती सहिदहरूको बलिदानकै जगमा नेपालमा पुनः प्रजातन्त्रको ढोका खुलेको मानिन्छ।