शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कांग्रेसमा मिलेन महाधिवेशनको विवाद : तेस्रोपटक केन्द्रीय समिति बैठक स्थगित

उनीहरूले सहमति नभए अनिर्णयको बन्दी नहुने बरु केन्द्रीय समितिमा बहुमतका आधारमा निर्णय गर्नुपर्ने पनि सुझाव दिएका थिए ।

कांग्रेसमा महाधिवेशनको विवाद अझै साम्य हुनसकेको छैन । निर्वाचनपछि महाधिवेशन गर्ने संस्थापन पक्षको रणनीति र चुनावअघि नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने इतर समूहको मागका कारण केन्द्रीय समिति बैठक तेस्रोपटक सरेको छ । शुक्रबारका लागि डाकिएको बैठक अब आइतबार बस्ने भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नभएसम्म बैठक सारिरहने बताएका छन् ।

दुई पक्षबिच विवाद चर्किरहेका वेला सभापति शेरबहादुर देउवाले बिहीबार आफूनिकट वर्तमान र पूर्वपदाधिकारीसहित १८ नेता तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग चरणबद्ध छलफल गरेका छन् । पुस मसान्तभित्र महाधिवेशन प्रक्रिया सुरु गर्ने मध्यमार्गी विकल्पबारे छलफल भएको छ । पूर्वपदाधिकारीसहितका नेतासँगको छलफलमा देउवाले सहमतिबाट महाधिवेशन मिति टुंग्याउन थप पहलका लागि कार्यवाहक सभापति खड्कालाई आग्रह गरेका थिए । सहमतिको प्रयास सफल नभए बहुमतका आधारमा केन्द्रीय समितिबाट निर्णय लिनुपर्ने, तर महाधिवेशनबारे अन्योल लामो समय राख्न नहुनेमा देउवाको जोड थियो । 

२८ पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानको बाध्यता तथा इतर पक्षको चर्को दबाबबिच सभापति देउवाले तीन दिनदेखि निकास निकाल्न समन्वय गरिरहेका छन् । ‘विशेष महाधिवेशनको मागका लागि दर्ता भएको हस्ताक्षर र निवेदन यथावत् नै भए पनि पुसमा महाधिवेशनको प्रक्रिया सुरु गर्ने र माघमा सम्पन्न गर्नेलगायत विकल्पमा छलफल भएको छ । सभापति देउवा सहमतिमा निकास होस् भन्नेमा प्रयत्नरत हुनुहुन्छ,’ उनीनिकट एक नेताले नयाँ पत्रिकासँग भने । देउवाले सुरुमा निकटस्थ १८ जना नेतासँग भेटेपछि महामन्त्री थापा र शर्मासँग छलफल गरेका थिए । ‘पुसमा महाधिवेशन प्रक्रिया प्रारम्भ गर्ने प्रकारको मध्यमार्गी लाइनमा कुराकानी भइरहेको छ, शीर्ष नेताहरूबिच यसमा सहमति भयो भने अब बस्ने बैठकले यसलाई पारित गर्छ,’ संस्थापन पक्षका एक नेताले भने । 

बिहीबार निटकस्थहरूसँगको छलफलमा कार्यवाहक सभापति खड्कासहित नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, डा. शशांक कोइराला, रमेश लेखक, उमेश श्रेष्ठ, रमेश रिजाल, भीष्मराज आङ्देम्बे, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, एनपी साउद, महेन्द्र यादव, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय (डिना), मीन विश्वकर्मा सहभागी थिए । एक नेताका अनुसार पार्टीको महाधिवेशन मितिबारे महामन्त्रीद्वयसँग भएको छलफलको पछिल्लो जानकारी दिन सुरुमा देउवाले कार्यवाहक सभापति खड्कालाई आग्रह गरे, तर उनले बोलेनन् । उनले नेता रमेश लेखकलाई बोल्न भने । महामन्त्रीद्वय थापा र शर्मासँग भएका चरणबद्ध वार्ताबारे लेखकले ‘ब्रिफिङ’ गरेका थिए । लेखकले संस्थापन पक्षका तर्फबाट महाधिवेशन मितिमा सहमति खोज्न महामन्त्रीद्वयसँग छलफल गर्दै आएका छन् ।

सहभागी एक नेताका अनुसार लेखकले भने, ‘विशेष महाधिवेशन टार्ने गरी वा त्यो प्रस्ताव फिर्ता हुने अवस्था होस् भनेर पुस मसान्तभित्र महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेँ । तर, उहाँहरू विशेष महाधिवेशनको दर्ता प्रस्ताव फिर्ता गराउन तयार हुनुभएको छैन ।’ लेखकले पुस मसान्तभित्र महाधिवशेन गर्ने कार्यतालिका नै मध्यमार्गी प्रस्ताव सहमतिको विन्दु हुने पनि बताएका थिए । एक नेताका अनुसार लेखकले बोल्दै गर्दा सभापति देउवाले प्रश्न गरे, ‘विशेष महाधिवेशनको के हुन्छ ? फिर्ता नभए के हुन्छ ? कहिलेसम्म यत्तिकै राख्ने ? छिटो सहमति गर्नुपर्‍यो ।’

लेखकको जानकारीपछि सहभागी नेताहरूले पनि बोलेका थिए । लेखकले भनेको मध्यमार्गी प्रस्तावमा नेताहरू विभाजित थिए । पुसभित्रै महाधिवेशनको मध्यमार्गी प्रस्तावमा भीष्म आङ्देम्बे, मीन विश्वकर्मा, उमेश श्रेष्ठ र रमेश रिजालले समर्थन जनाए । तर, निधि, सिटौला, कोइराला, महतलगायले पार्टी विधानको दफा ४३ अनुसार केन्द्रीय समितिको अवधि ६ महिनादेखि एक वर्षसम्म थप्न, सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न र वैशाखमा १५औँ महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । विशेषत: निधि र सिटौलाले भनेका थिए, ‘निर्वाचनअघि पार्टीको आन्तरिक काममा नलागौँ किनभने समय छैन । चुनावअघिको महाधिवेशनले चुनावमा कांग्रेसको अवस्था बलियो हुँदैन ।’ 

उनीहरूले सहमति नभए अनिर्णयको बन्दी नहुने बरु केन्द्रीय समितिमा बहुमतका आधारमा निर्णय गर्नुपर्ने पनि सुझाव दिएका थिए । देउवासँगको छलफलमा नेता सिटौलाले विशेष महाधिवेशन हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले बिहीबार पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्ति पढेर सुनाएको सहभागी एक नेताले बताए । कांग्रेस प्रवक्ता महतले निर्वाचनको मितिअघि महाधिवेशन गर्न व्यावहारिक रूपमै सम्भव नभएको र यही विषयमा छलफल भएको जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।