मङ्गलबार, ५ साउन २०८३
नेपालमा छ हजार भन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार छ हजार ६ सय ६८ जनामा डेङ्गु पुष्टि भएको छ । त्यस्तै पाँच जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । डोल्पा र मनाङमा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढि बागमती प्रदेशमा एक हजार ६ सय ४९ जनामा पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकीमा एक हजार ६३१, लुम्बिनीमा एक हजार ११७, कोशीमा ८९६, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेशमा १३९ जनामा डेङ्गु पुष्टि भएको छ । चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन् । त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।