शनिवार, ३० फागुन २०८२
बाँसगढी, बर्दिया । कुनै समय वैदेशिक रोजगारीको बाध्यता, खालिँदो गाउँ र बाँझो बन्दै गएको खेतबारीले चिनिएको बाँसगढी आज औद्योगिक समृद्धिको नयाँ पहिचान बनिरहेको छ। बर्दिया जिल्लाकै पहिलो उद्योग बाँसगढी नगरपालिका–३ मा सञ्चालनमा रहेको चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्स इन्टरप्राइजेज प्रालि (वाईवाई चाउचाउ उत्पादन गर्ने उद्योग) ले यहाँको सामाजिक–आर्थिक संरचना नै परिवर्तन गरिदिएको छ। रोजगारी, आयआर्जन, पूर्वाधार, शिक्षा–स्वास्थ्यदेखि समग्र जीवनस्तरसम्म बाँसगढी आज औद्योगिक विकासको सकारात्मक उदाहरणका रूपमा उभिएको छ।
गाउँमै रोजगारी, घरमै खुसी
उद्योग सञ्चालनले बाँसगढीका सयौँ स्थानीय नागरिकले रोजगारी पाएका छन्। हिजो मलेसिया, कतार र खाडी मुलुकतर्फ भौंतारिन बाध्य युवाहरू आज आफ्नै गाउँमा काम गर्दै परिवारसँगै सुरक्षित र सम्मानजनक जीवन बिताइरहेका छन्। यसले बालबालिकाको शिक्षा, आमाबाबुको हेरचाह र सामाजिक स्थायित्वमा प्रत्यक्ष प्रभाव पारेको छ।
आम्दानी बढ्दा अर्थतन्त्र चलायमान
नियमित रोजगारीले घर–घरमा नगद आम्दानी बढेको छ। यसले बाँसगढी बजारमा खुद्रा व्यापार, होटल, यातायात, सेवा व्यवसाय र निर्माण क्षेत्रमा उल्लेखनीय चलायमानता ल्याएको छ। पहिले सिमित उपभोगमा बाँधिएका परिवारहरू आज शिक्षा, स्वास्थ्य, आवास र व्यवसायमा लगानी गर्न सक्ने अवस्थामा पुगेका छन्। युवा गाउँमै रोकिँदा खेतीबारी निरन्तर सञ्चालनमा आएको छ। उद्योगले सिर्जना गरेको स्थिर आम्दानी र बजार पहुँचका कारण तरकारी, धान, मकै, पशुपालन जस्ता गतिविधि विस्तार हुँदैछन्। यसले उर्वर जमिन बाँझो हुनबाट जोगिनुका साथै खाद्य सुरक्षा र आत्मनिर्भरता पनि बढाएको छ।
शिक्षा, स्वास्थ्य र पूर्वाधारमा गुणात्मक सुधार
औद्योगिक गतिविधिसँगै सडक, विद्युत्, संचार, खानेपानी र आवास जस्ता पूर्वाधारमा उल्लेखनीय सुधार आएको छ। उद्योगको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, स्वास्थ्य सेवा, सरसफाइ र सीप विकास क्षेत्रमा सहयोग पुगिरहेको स्थानीयको भनाइ छ। यसले बाँसगढीलाई आधुनिक नगरतर्फ डोर्याइरहेको छ। उद्योगका कारण बढेको जनघनत्व र आवागमनले होटल, रेस्टुरेन्ट, यातायात, बैंकिङ र खुद्रा व्यापार फस्टाएको छ।यसले बाँसगढीलाई स्थानीय पर्यटन र सेवामूलक अर्थतन्त्रको केन्द्र बन्दै लगिरहेको छ।
राष्ट्रका लागि औद्योगिक योगदान सीजी फुड्स जस्ता उद्योगहरूले आयात प्रतिस्थापन, कर राजस्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, निर्यात सम्भावना मार्फत राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका छन्। 'उद्योग गाउँमा पुगे, समृद्धि पनि गाउँमै पुग्छ' भन्ने उदाहरण बाँसगढीले देखाएको छ। चौधरी ग्रुपको उद्योगले बाँसगढीलाई खालीँदो गाउँबाट अवसरले भरिएको नगरमा रूपान्तरण गरेको छ। यो केवल एक उद्योगको कथा होइन, नेपालमा ग्रामीण समृद्धिको सम्भावनाको जीवित उदाहरण हो। आज बाँसगढीमा रोजगारी छ, उत्पादन छ, आत्मविश्वास छ र भविष्यप्रति आशा छ।