शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सरकारलाई गिज्याइरहेको एउटा पुल

लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्मा भने ०७८ यताको हकमा बिमाको भुक्तानीका विषयमा मुद्दा–मामिला रहेकाले पुल निर्माणमा ढिलाइ भएको दाबी गर्छन् ।

पप्पु कन्स्ट्रक्सन–लुम्बिनी बिल्डर्स जेभीले तीन वर्षमा सक्ने सर्तमा ०६८ मा ठेक्का पाएको सिराहास्थित कमला नदीको ४६९.२ मिटर लामो पक्की पुलको हालतले देशको विकासलाई सदृश्य चित्रण गरेको छ । तीन वर्षमा सक्नुपर्ने पुल ठेकेदारले १० वर्ष लगाएर ०७८ मा बल्लतल्ल अन्तिम चरणमा पुर्‍याएको थियो, तर सञ्चालनमा नल्याउँदै पुल नै भासियो । यति गम्भीर लापरबाही गरेको पप्पु–लुम्बिनी बिल्डर्सले नै पुन: पुल तयार पार्ने ठेक्कामा निरन्तरता पायो । तर, त्यसयता पनि फेरि चार वर्ष सकिइसक्दा पुलको हालत उस्तै छ । पप्पु कन्स्ट्रक्सन उपेन्द्र यादव नेतृत्वको जसपाबाट प्रतिनिधिसभाका सांसदसमेत बनेका हरिनारायण रौनियारको हो । हाल कन्स्ट्रक्सनका सञ्चालक उनका छोरा सुमित रौनियार छन् ।  त्यस्तै, लुम्बिनी बिल्डर्सको सञ्चालक विष्णुप्रसाद शर्मा हुन् ।

हुलाकी राजमार्गमा पर्ने उक्त पुल बनाउन पप्पु–लुम्बिनी बिल्डर्स जेभीले ३१ जेठ ०६८ मा ठेक्का पाएको थियो । ३० मंसिर ०७१ अर्थात् तीन वर्षमा सक्नुपर्ने ठेक्का अवधि १४ वर्ष नाघिसकेको छ । आठौँपटक थपेको म्यादसमेत गत असारमा गुज्रिसकेको छ । ०७५ मा बाढीले आफ्ना मेसिनरी सामान र सिमेन्टलगायत सामग्री बगाएपछि पप्पुले नोक्सानी भएको भन्दै लुम्बिनी बिल्डर्सलाई काम सुम्पिएर बाहिरिएको थियो । त्यति वेलासम्म पप्पुले पुलका १२ स्ल्याबमध्ये दुईवटा ढलान गरेको थियो । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी १० वटा स्ल्याब ढलान र रेलिङ निर्माण सकेको थियो । नदीमा तटबन्धसहित नियन्त्रण र पहुँच मार्गबाहेक पुल निर्माणको काम अन्तिम चरणमा पुगेका बेला १७ असार ०७८ मा पुलको सिराहातर्फ दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फ तेस्रो पाया भासिएपछि निर्माण अनिश्चित बन्यो । पाया भासिएपछि सिराहातर्फ गत पुसको तेस्रो सातादेखि मर्मत थाले पनि वैशाखको पहिलो सातादेखि फेरि काम ठप्प पारेको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय, जनकपुरका सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायले बताए ।

बिल्डर्सले बर्खा लाग्नुअघि नै काम सक्ने प्रतिबद्धता जनाएपछि पछिल्लोपटक असार मसान्तसम्मको म्याद दिइएको थियो । तर, वैशाखदेखि काम रोकेपछि आयोजनाले १५ दिन म्याद राखेर ३१ असोजमा जवाफ माग्दै पत्र पठाएको थियो । तर, जवाफ नपठाएपछि र यहीबिचमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रुग्ण आयोजना सूची मागेपछि आयोजनाले कमला पुलको ठेक्का रद्दको सूचना निकाल्ने तयारी थालेको थियो । सरकारको ‘एक्सन’पछि बिल्डर्सले शनिबारदेखि नदीको पश्चिमतर्फ धनुषामा काम गर्ने भन्दै क्याम्प खडा गरेको छ । आयोजनाले पनि सूचना निकाल्ने तयारी तत्काललाई रोकेको छ ।‘ठेकेदार कम्पनीले शनिबारदेखि कमलाको पश्चिमतर्फ धनुषामा क्याम्प खडा गरी काम थालेपछि सूचना निकाल्ने तयारी तत्काललाई रोकिएको छ,’ हुलाकी राजमार्ग निर्देशनालयका साइट इन्जिनियर सूर्यनारायण मण्डलले भने ।

लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्मा भने ०७८ यताको हकमा बिमाको भुक्तानीका विषयमा मुद्दा–मामिला रहेकाले पुल निर्माणमा ढिलाइ भएको दाबी गर्छन् । ‘बनिसकेको पुल बाढीका कारण भासियो । पुलमा भएको क्षतिको मूल्यांकनका आधारमा १३ करोड बिमा दाबी गरिएको थियो । आपसी सहमतिमा साढे १० करोड क्षति मूल्यांकन भए पनि नेको बिमा कम्पनीले पैसा आनाकानी गरेपछि उच्च अदालत पाटनमा मुद्दा चल्दै छ । त्यही भएर ढिलाइ भएको हो,’ उनले भने । भ्याटसहित २४ करोड ९० लाख ठेक्का सम्झौताबाट पुलसहित १३ सय मिटर नदी नियन्त्रण र दुई सय मिटर पहुँच मार्ग पनि बनाउनुपर्ने उल्लेख छ । ठेकेदार कम्पनीले २३ करोड १९ लाख भुक्तानी लगिसकेको छ । भौतिक प्रगति ९३ प्रतिशत रहेको आयोजनाले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।