शुक्रबार, ४ बैशाख २०८३
नुवाकोट,मङ्सिर १३ । दुप्चेश्वर गाउँपालिका–६ स्थित ऐतिहासिक दुप्चेश्वर महादेव मन्दिर परिसरमा पाँच दिने विशेष धार्मिक मेला सुरु भएको छ । हिमाली भेगको सुन्दर प्राकृतिक भू–दृश्य, चिसो पानीका झरना र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित दुप्चेश्वरमा आजदेखि भक्तजनको भीड बढ्न थालेको छ। मन्दिर क्षेत्र समुद्र सतहभन्दा करिब २,३५० मिटर उचाइमा रहेको छ भने यो मन्दिर वर्षैभरि आन्तरिक धार्मिक पर्यटकको आकर्षण केन्द्र बनेको छ । विशेषगरी मंसिरको दोस्रो सातादेखि लाग्ने ५ दिने धार्मिक मेला भित्र दर्शन, सांस्कृतिक प्रदर्शन, स्थानीय उत्पादनको प्रदर्शनी र बिभिन्न जातजातिको पारम्परिक झाँकीका कारण अझ भव्य मानिन्छ। भक्तजनहरुले बिहानैदेखि महादेवको विशेष पूजाअर्चना गरिरहेका छन ।
दुप्चेश्वर मेलालाई गाउँपालिकाले पर्यटन प्रवर्द्धनको मुख्य कार्यक्रमका रूपमा प्रस्तुत गर्दै यहाँको धार्मिक तथा प्राकृतिक विरासतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको छ। सुरक्षा, स्वास्थ्य र आवत–जावतका लागि विशेष व्यवस्था गरिएको छ। समृद्ध प्राकृतिक सुन्दरता, शक्तिपीठको धार्मिक आस्था र स्थानीय संस्कृतिको संगम बनेको दुप्चेश्वर यस वर्ष पनि धार्मिक पर्यटनको केन्द्र बनेको छ। ५ दिने विशेष मेलाले दुप्चेश्वर क्षेत्रलाई अझै रौनकमय बनाएको छ।यो आस्था–स्थल केवल पूजाआजाको केन्द्र मात्र होइन, धार्मिक, सांस्कृतिक र प्राकृतिक अनुभवको त्रिवेणी संयोग बनेको आध्यात्मिक तीर्थगन्तव्य हो। प्रकृतिका गर्भबाट निस्कने सेता झरनाहरू, कञ्चन पहाडतिर हेलिँदै आएको हिमाली हावा र देवस्थलमा गुन्जिने मन्त्र–ध्वनिले आगन्तुकलाई स्वतः नै अध्यात्म र शान्तिको अनुभूति गराउँछ।
यही वातावरणमा सुरु भएको पाँच दिने विशेष मेलाले देशभरका भक्तजन तथा धार्मिक पर्यटकलाई दुप्चेश्वरतर्फ तानिरहेको छ । दुप्चेश्वर गाउँपालिकाले यस वर्ष मेलालाई व्यवस्थित र सुरक्षित बनाउँदै धार्मिक पर्यटनलाई दीर्घकालीन रूपमा विस्तार गर्ने लक्ष्य लिएको छ। पवित्रता, पौराणिकता र प्रकृतिको सुन्दर समिश्रण भएको दुप्चेश्वर आजभोलि ‘हिमालयको ऊर्जास्पद तीर्थ’ का रूपमा उभिएको छ। दुप्चेश्वरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटन नक्सामा स्थापित गर्ने महत्त्वपूर्ण अवसर बनेको छ।