बुधबार, २५ चैत २०८२

images

बुधबार, २५ चैत २०८२

बुधबार, २५ चैत २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

स्मार्ट लाइसेन्स अब एकै दिनमा छापिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ प्रक्रियालाई तीव्र बनाउँदै नयाँ व्यवस्था लागू गरेको छ। अब यातायात व्यवस्था विभागबाट आवश्यक विवरण प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्ने प्रणाली सुरु गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रको अत्याधुनिक प्रविधि प्रयोग गरेर एकै दिनमै लाइसेन्स छपाइ गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। साथै, हालसम्म छपाइ बाँकी रहेका करिब २९ लाख लाइसेन्स आगामी ०८३ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य पनि तय गरिएको छ।

१३ चैतको मन्त्रिपरिषद् निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले १० वटा प्रमुख सुधारात्मक कार्यक्रमसहित विस्तृत कार्ययोजना स्वीकृत गरेको छ। यस कार्ययोजनामा प्रत्येक कार्यक्रमका लागि स्पष्ट कार्य, कार्यसम्पादन सूचक, समयसीमा तथा जिम्मेवार अधिकारी तोकिएको मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरले जानकारी दिएका छन्।

डिजिटल शासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्यअनुसार सेवा प्रवाहलाई सहज बनाउने, लागत घटाउने र समय बचत गर्ने उद्देश्यका साथ विभिन्न प्राथमिकता निर्धारण गरिएको छ। नागरिक एपमार्फत प्रहरी प्रतिवेदन, राहदानी र सवारीचालक अनुमतिपत्रलगायत सेवा एकीकृत गर्ने गरी ४५ दिनभित्र एकीकृत आवेदन प्रणाली सञ्चालनमा ल्याइनेछ। हाल नागरिक एपबाट प्रहरी प्रतिवेदन प्राप्त गर्ने सेवा भने कार्यान्वयनमा आइसकेको छ।

यस्तै, सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले हुलाक सेवालाई ९० दिनभित्र सरकारी कुरियर सेवाका रूपमा विकास गरिने योजना रहेको छ। यसअन्तर्गत डाँकमार्गको पुनरावलोकन ०८३ वैशाख मसान्तसम्म गर्ने, साथै हुलाकमार्फत राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्र र नेपाल टेलिकमका सिमकार्डजस्ता कागजात देशभरका वितरण केन्द्रसम्म पुर्‍याउने व्यवस्था गरिनेछ। स्वास्थ्य परीक्षणका नमुनालाई सुरक्षित रूपमा प्रयोगशालासम्म ढुवानी गर्ने प्रणालीसमेत विकास गरिने मन्त्रालयले जनाएको छ।