शुक्रबार, ४ बैशाख २०८३
दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा भएको पेट्रोलियम अन्वेषण अहिले परीक्षण प्रतिवेदनको पर्खाइमा छ। केही समयअगाडि यहाँ गरिएको पहिलो ड्रिलिङबाट ठूलो मात्रामा मिथेन ग्यास फेला परेपछि सिङ्गो मुलुकमै उत्साह छाएको छ। खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जियोलोजिकल सर्वे कम्पनीले गरेको अन्वेषणमा चार हजार १३ मिटर गहिराइसम्म गरिएको पहिलो ड्रिलिङबाट १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भेटिएको पुष्टि भएको छ। यो जम्मा चार सम्भावित कुवामध्ये पहिलो मात्र हो। प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमा ४३० अर्ब घनमिटरभन्दा बढी ग्यास रहने देखिएको छ, जसले करिब ५० वर्षसम्म नेपालको माग पूरा गर्न सक्ने सम्भावना प्राविधिकहरूले बताएका छन्।
हाल चिनियाँ टोलीले नमूनाको परीक्षण र अन्तिम प्रतिवेदन तयार गर्ने काम गरिरहेको छ। विभागका भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार सन् २०२५ डिसेम्बरसम्म विस्तृत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ। प्रतिवेदनले ग्यासको परिमाण, गुणस्तर र व्यावसायिक उत्पादनका सम्भावना बारे स्पष्ट जानकारी दिनेछ।यसैबीच सरकारले व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्न नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ। समितिले स्थलगत अवलोकन सकाइसकेको छ र ग्यासको उपयोग, लागत तथा पूर्वाधार निर्माणबारे अध्ययन गरिरहेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार, समितिको प्रतिवेदनका आधारमा सरकार अघि बढ्नेछ।
नेपाल र चीनबीच २०१९ मा भएको सम्झौता अनुसार सुरु भएको यो परियोजना चीनकै अनुदानमा सञ्चालन हुँदै आएको हो। करिब २ अर्ब ५० करोड रुपैयाँ लागतमा सञ्चालित पाइलट परियोजना नेपालकै अहिलेसम्मकै गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण मानिन्छ। दैलेखवासीले भने यसलाई नयाँ कुरा मानेका छैनन्। स्थानीय क्षेत्रमा धेरै पहिले देखि जमिनबाट आफैं ग्यास निस्कने र बल्ने दृश्य देखिँदै आएको छ। तर वैज्ञानिक रूपमा प्रमाणित हुन भने लामो समय लागेको हो।सरकार र प्राविधिकको अनुसार अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्रै उत्खनन, प्रशोधन र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्नेछ। पेट्रोलियम उत्खनन सफल भएमा नेपालमा ऊर्जा सुरक्षाको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।