शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित सैन्य कारबाही दुई साताका लागि स्थगित गर्ने घोषणा गरेका छन्। उनले तोकेको अन्तिम समयसीमा सकिनुअघि आएको यस निर्णयलाई अमेरिका–इरानबीच बढ्दो सैन्य तनावबीच महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यसअघि ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ‘सभ्यता समाप्त पार्ने’ सम्मको अभिव्यक्ति दिएका थिए, जसलाई परमाणु आक्रमणको संकेतका रूपमा समेत व्याख्या गरिएको थियो। उक्त अभिव्यक्तिपछि अमेरिकाभित्रै आलोचना चुलिएको थियो।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति भएको जनाउँदै यसलाई सम्भावित व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदम बताएका छन्। उनले इजरायल पनि आक्रमण रोक्न सहमत भएको दाबी गरेका छन्।उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि लिइएको हो। उनीहरूले सम्भावित द्वन्द्व टार्न कूटनीतिक पहल गर्दै आएका थिए।ट्रम्पले प्रस्तावित युद्धविराम सशर्त रहेको स्पष्ट पार्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनः सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।
‘यो दुई पक्षीय युद्धविराम हुनेछ, जसमा दुवै पक्षले आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ,’ उनले उल्लेख गरेका छन्।त्यसैगरी, ट्रम्पले इरानबाट १० बुँदे शान्ति प्रस्ताव प्राप्त भएको जानकारी दिँदै अधिकांश महत्वपूर्ण विषयमा प्रारम्भिक सहमति बनिसकेको दाबी गरेका छन्। उनले दुई साताको यो अन्तरालले अन्तिम सम्झौताका लागि आवश्यक वातावरण तयार पार्ने विश्वास व्यक्त गरेका छन्। दुई देशबीच लामो समयदेखि जारी तनावका बीच आएको यो निर्णयले सम्भावित ठूलो द्वन्द्व टर्ने आशा बढाएको विश्लेषकहरूको भनाइ छ।