शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जेनजी आन्दोलन : सुदूरपश्चिममा २ सय ३४ भौतिक संरचना क्षति

निजीतर्फ कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा घरमा क्षति पुगेको छ ।

महेन्द्रनगर, ११ कात्तिकः जेनजी आन्दोलनका क्रममा भएको आगजानी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टीका कार्यालय गरी दुई सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ । धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बढी क्षति भएको विवरण सङ्कलन गरिएको छ ।

सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरका एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँचवटा सरकारी संरचना पूर्ण रूपले क्षति भएको छ भने प्रदेशभरि एक सय ५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो ।

आंशिक क्षतिमा पनि सबैभन्दा बढी कैलालीमा एक सय तीन, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीनवटा सरकारी भवन परेका छन् । त्यसैगरी, सुदूरपश्चिममा व्यापारिक र निजीघरतर्फ ३८ घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निजीतर्फ कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा घरमा क्षति पुगेको छ ।

जेनजी आन्दोलनमा यहाँ सात सय ८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । यहाँ पाँच सय ७३ दुईपाङ्ग्रे र एक सय ३५ चारपाङ्ग्रे सवारीसाधनमा क्षति भएको छ । निजी सवारीसाधनतर्फ तीनवटा साधनमा क्षति पुगेको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले ठाडो निवदेन आए पनि जाहेरी आएको छैन । 

“जाहेरी आए पनि सङ्कलन गर्ने भन्ने छ”, प्रवक्ता बोहराले भन्नुभयो, “किटानी जाहेरी दिएर ठाडो उजुरी दिएको अवस्था छैन, क्षति विषय उल्लेख गरिएको छ ।” कञ्चनपुर कारागारबाट भागेका चार सय ७८ जनामध्ये ९८ जना कैदी अझैसम्म फरार छन् । उनीहरुको खोजीकार्य जारी छ ।

त्यसैगरी, कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा जाहेरी नपरेको बताउनुभयो । “भागेकामध्ये चार सय छ जना आए, दुई सयभन्दा बढी अझै फरार रहँदा खोजीकार्य पनि तीव्र रूपमा हुँदैछ”, प्रवक्ता सिंहले भन्नुभयो, “कैलाली प्रहरीले जेनजी आन्दोलनमा काठमाडौँमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौँ पठाएको छ ।”