शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले अलग्गै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरूप्रति कठोर बनेका छन् । महाधिवेशनमा दुईतिहाइभन्दा बढी मतसहित निर्वाचित भएका ओलीले पोखरेल–पाण्डे प्यानलमाथि ‘निषेधको नीति’ अपनाएका छन् । ओलीले अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल र महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई मात्र होइन, उनीहरूको प्यानलतर्फका कुनै पनि पदाधिकारी उम्मेदवारलाई खुलातर्फको केन्द्रीय सदस्यको सूचीमा समावेश गरेनन् । त्यसको प्रत्यक्ष असर देखिँदै पाण्डे केन्द्रीय सदस्यको निर्वाचनमै पराजित भएका छन् ।
यसको विपरीत, ईश्वर पोखरेल नेतृत्वको प्यानलले भने केपी ओली र शंकर पोखरेलसहित ओली प्यानलका अधिकांश पदाधिकारी उम्मेदवारलाई केन्द्रीय सदस्यको सूचीमा समेटेको थियो । ईश्वर प्यानलबाट पराजित एक पदाधिकारी उम्मेदवारले भने, “हामीले सहकार्यको हात बढायौँ, तर उहाँले निषेधको नीति लिनुभयो । पार्टी यसैगरी चलाइयो भने सबैको योग्यता, क्षमता र योगदान उपयोग नहुने खतरा छ।” महाधिवेशनपछि निर्वाचित ओलीलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका पोखरेल र पाण्डेलाई शपथ समारोहमा समेत नबोलाइएको स्रोतको दाबी छ ।
बन्दसत्रको अध्यक्षमण्डलका अध्यक्षको हैसियतमा ओलीले उनीहरूलाई बोलाउन उपयुक्त ठानेनन् भने निर्वाचन आयोगले पनि मुख्य प्रतिस्पर्धीलाई एउटै मञ्चमा राख्न चाहेन । शपथका लागि बोलावटको प्रतीक्षामा रहेका पोखरेल र पाण्डे दुवैले अन्ततः शपथ समारोहमा सहभागिता जनाएनन् । यस घटनाले एमालेभित्रको आन्तरिक शक्ति संघर्ष अझै गहिरिएको संकेत गरेको छ ।