शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

प्रदीप अधिकारीको मोबाइलले खोल्दै छ उनको पोल : अकुत सम्पत्ति लुकाउनेदेखि सरकार ढाल्नेसम्मका योजना

भ्रष्टाचार मुद्दा लागेर हाल कारागारमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी आफ्ना निकटस्थसँग हत्तपत्त फोनमा कुरा गर्दैन थिए । गोप्य कुराहरू ‘ट्र्याक’ हुन सक्ने डरले सुरक्षित ठानेर ह्वाट्सएप रोज्थे । त्यही ह्वाट्सएपबाट उनका भ्रष्टाचारजन्य गतिवधि, आपराधिक योजना र अवैध सम्पत्तिका प्रमाण फेला परेका छन् । अनुसन्धान गर्ने निकायहरूले उनको मोबाइलमा फेला पारेका विवरण चकित पार्ने किसिमका छन् । अधिकारीमाथि भ्रष्टाचार र अपराधको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीबाट छुट्टाछुट्टै अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा उनको मोबाइलबाट सुशीला कार्की नेतृत्वको चुनावी सरकार ढाल्ने प्रयास गरेकोदेखि अकुत सम्पत्ति साथीहरूको नाममा लुकाएको तथा विभिन्न व्यक्तिलाई वितरण गरिएको पैसाको विवरण भेटिएका हुन् । आफ्नो भ्रष्टाचार मुद्दा रोक्न अख्तियारका प्रमुख आयुक्तलगायत अधिकारीलाई अन्डरवल्र्ड समूह खडा गरी धम्क्याएको विषयमा हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । जसक्रममा उनको मोबाइलबाट उनका थप अनुचित गतिविधि फेला परेका हुन् । यो विषयमा उनीमाथि छुट्टै मुद्दा अभियोजनको तयारी छ । 

अधिकारीमाथि दुई वर्षअघिदेखि नै अख्तियारले छानबिन गर्दै आएको थियो । जेन–जी आन्दोलनपछि अनुसन्धानले तीव्रता पायो । सुशीला कार्की नेतृत्वको सरकारसमेत आफ्नो विपक्षमा भएपछि उनी सरकार गिराएर नयाँ चुनावी सरकार बनाउने योजनामा लागेको उनका कुराकानीमा देखिन्छ । प्राधिकरणकै उपनिर्देशक चाँदमाला श्रेष्ठ र बिचौलिया पृष्ठभूमिका ठेकेदार नवीनराज बस्नेतसँगको कुराकानीमा सरकार ढाल्ने योजनामा आफू सक्रिय रहेको उनले बताएका छन् । चाँदमालालाई गत ३० कात्तिकमा पठाएको सन्देशमा उनले क्यानको डिजीलाई फाल्ने कुरा गलत रहेको, अब हाम्रो सरकार आउने उल्लेख गरेका छन् । बस्नेतसँगको ह्वाट्सएप च्याटमा पनि उनीहरूबिच बारम्बार यस विषयमा कुरा भएको थियो । ४ मंसिरम भएको च्याटमा बस्नेतले सोेधेका छन्, ‘कहिले जाने भयो सरकार दाइ ?’ जसमा अधिकारीले ‘भेरी सुन (छिट्टै) भन्दै जवाफ फर्काएका छन् । 

आफूनिकट बैंककी कर्मचारी जुनु थापालाई पठाएको सन्देशमा पनि उनले देशको अवस्था राम्रो नभएको र आफूहरूको सरकार नआउन्जेल बस्नका लागि कुनै अपार्टमेन्टको साजसज्जा गराउन अधिकारीले ३ मंसिरमा भनेका थिए । त्यसको दुई सातापछि अर्थात् १७ मंसिरमा अख्तियारले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । आफू पक्राउ पर्न सक्ने संकेत पाएपछि उनले त्यसरी नयाँ अपार्टमेन्ट खोजेका थिए । न त उनको सरकार ढालेर अनुकूलको सरकार बनाउने योजना सफल भयो, न आफूविरुद्धको भ्रष्टाचार मुद्दा रोक्न । अख्तियारले उनीविरुद्ध हालसम्म तीनवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । थप मुद्दामा अनुसन्धान पनि चलिरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।