नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकामा रहेको बिकट घ्याङस्वारा कुनै समय झाडी र बुट्यानले ढाकिएको थियो । आज त्यो भूभाग पञ्चकन्या गाउँपालिकाको विकास र पर्यटनको केन्द्रसँगै चर्चामा आउन थालेको छ। सहिद स्मारक पर्यटकीय पार्क तथा खेलमैदान, चिया खेती र त्यससँग जोडिएका पूर्वाधार निर्माणका कामले घ्याङस्वारालाई गाउँपालिकाको सम्भावनायुक्त आर्थिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गैरहेको छ।
स्थानीय तह निर्वाचन २०७४ पछि गाउँपालिकाको नेतृत्वमा आएका तेजबहादुर तामाङ ‘रमेश’को कार्यकालमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र प्रशासनिक पूर्वाधारसँगै पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता राख्दै निरन्तर काम भैरहेको पाइन्छ । पञ्चकन्याको विकास यात्रामा अहिले सबैभन्दा चासोको विषय घ्याङस्वाराको अर्गानिक चिया बनेको छ । गाउँपालिकाले घ्याङस्वारा अर्गानिक चियाको उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, मूल्य निर्धारण, बिक्री तथा वितरणसम्बन्धी कार्यविधि जारी गरेको छ । यसले चिया खेतीलाई केवल कृषि गतिविधिमा सीमित नराखी स्थानीय उत्पादनको पहिचान र बजार विस्तारसँग जोड्ने संस्थागत प्रयास अघि बढेको देखाउँछ।
झाडीबाट पर्यटकीय पार्क
पञ्चकन्याको विकास योजनामा घ्याङस्वारा सहिद स्मारक पर्यटकीय पार्क तथा खेलमैदानले विशेष स्थान ओगटेको पाउन सकिन्छ।प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत घ्याङस्वाराको झाडी तथा बुट्यानयुक्त क्षेत्रलाई सहिद स्मारक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने काम अघि बढाइएको थियो ।
घ्याङस्वाराको विकास योजनामा चिया खेती थपिएसँगै पञ्चकन्याले आफ्नो सम्भावनालाई नयाँ दिशातर्फ लैजाने प्रयास गरेको देखिन्छ। पछिल्ला वर्षमा घ्याङस्वारा चियाको उत्पादन र प्रशोधनलाई अघि बढाउने काम भएको छ। घ्याङस्वारा चियाले स्थानीय किसान, महिला समूह, सहकारी तथा युवालाई उत्पादन र रोजगारीसँग जोड्न सक्यो भने यो गाउँपालिकाको कृषि क्षेत्रमा महत्त्वपूर्ण परियोजना बन्न सक्छ।
पूर्वाधार बिकासमा तिब्रता
ग्रामीण विकासमा सडक संजालको भूमिका महत्त्वपूर्ण मानिन्छ । सडक पुगेपछि कृषि उत्पादन बजारसम्म लैजान, स्वास्थ्य सेवा लिन, विद्यार्थीलाई विद्यालय पुग्न र पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुन्छ। गाउँपालिकाले आफ्नो विकास योजनामा सडक विस्तारलाई प्राथमिकता दिएको छ।यहाँ २०७९/८० सम्म ९ किलोमिटर पक्की, ५३.५ किलोमिटर ग्राभेल र १४२ किलोमिटर कच्ची सडक रहेको छ। घ्याङस्वारा पार्क र चिया खेतीको व्यावसायिक सम्भावना पनि सडकको गुणस्तर तथा यातायात सुविधासँग जोडिएको छ।
खानेपानीमा पहुँच बिस्तार
खानेपानी ग्रामीण विकासको अर्को महत्त्वपूर्ण आधार हो। पञ्चकन्या गाउँपालिकाले खानेपानी तथा सरसफाइका विभिन्न योजना अघि बढाएको छ। खानेपानीको पहुँचले स्थानीय नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। पञ्चकन्याको विकास मूल्याङ्कन गर्दा सडक र पर्यटनसँगै खानेपानीको उपलब्धता तथा स्थायित्वलाई पनि महत्त्व दिएको पाउन सकिन्छ ।
शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन
पञ्चकन्याको विकास योजनामा शिक्षा र स्वास्थ्य पनि प्राथमिकताका क्षेत्र हुन्। गाउँपालिकाले विद्यालय, स्वास्थ्य संस्था तथा सम्बन्धित पूर्वाधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । सामुदायिक विद्यालयमा कम्प्युटर र प्रिन्टर दिनुका साथै शिक्षामा प्रविधिको प्रयोग, विद्यालयको भौतिक अवस्था, शिक्षक व्यवस्थापन र विद्यार्थीको सिकाइ उपलब्धि विकासको महत्त्वपूर्ण सूचकमा काम गरेको पाइन्छ। त्यसैगरी स्वास्थ्य चौकीको पूर्वाधार, स्वास्थ्यकर्मीको उपलब्धता र नियमित स्वास्थ्य सेवाले गाउँपालिकाको सामाजिक विकासको अवस्था रामो देखाउँछ।
प्रशासनिक भवन
स्थानीय तह गठनपछि गाउँपालिकाको आफ्नै प्रशासनिक पूर्वाधार निर्माण गर्नु पनि महत्त्वपूर्ण कार्य हो। पञ्चकन्या गाउँपालिकाको वेबसाइटमा भवन नुवाकोट कै उद्कृष्ट भवन हो।
विकासको दशक
बि.स.२०७४ पछि पञ्चकन्या गाउँपालिकामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, प्रशासनिक भवन, पर्यटकीय पार्क र चिया खेतीजस्ता क्षेत्रमा उल्लेख्य प्रगति भएका छन्। घ्याङस्वारा सहिद स्मारक पर्यटकीय पार्क, अर्गानिक चिया खेती,सडक पक्की हुनुका साथै बिभिन्न क्षेत्रमा व्यापक आमुल परिवर्तन भएको पाउन सकिन्छ। पार्कले पर्यटक आकर्षित गर्ने र चिया खेतीले कृषि उत्पादन, रोजगारी र स्थानीय ब्रान्ड निर्माणको ढोका खोलेको पाइन्छ।
घ्याङस्वारामा पार्क निर्माणसँगै भूमेस्थान/सिद्धिगणेश क्षेत्रतर्फ जाने सिँढी, खेलमैदान, वनभोजस्थल, होमस्टेलगायत संरचना थपिँएका छन् । पछिल्ला वर्षमा घ्याङस्वारामा आन्तरिक पर्यटकको आगमन बढेको छ भने स्थानीय उत्पादनको बिक्री तथा होटल–रेस्टुरेन्ट व्यवसायमा समेत गतिविधि बढेको पाइन्छ ।त्यस्तै यसको पछिल्लो विस्तार चिया खेतीसम्म पुगेको छ। रोजगारी कार्यक्रमबाट सुरु भएको श्रमलाई स्थायी सम्पत्ति र उत्पादनमूलक क्षेत्रसँग जोड्ने प्रयास भएको देखिन्छ।
पञ्चकन्याको पछिल्लो दशकलाई ‘सडक पुगेको गाउँ’बाट ‘पर्यटन र उत्पादनबाट आम्दानी गर्ने गाउँ’तर्फको संक्रमणका रूपमा हेर्न सकिन्छ। सडक सञ्जाल विस्तार, खानेपानी तथा आधारभूत सेवाको पहुँच, स्वास्थ्य–शिक्षाका पूर्वाधार, प्रधानमन्त्री रोजगार कार्यक्रम, घ्याङस्वारा पर्यटकीय क्षेत्र र चिया खेती—यी सबैलाई एउटै कडीमा जोडेर हेर्दा पञ्चकन्याले विगत दशकमा विकासको नयाँ आधार तयार गर्ने प्रयास गरेको देखिन्छ। पूर्वाधारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, सडकलाई दीगो र पक्की बनाउने, घ्याङस्वारालाई नियमित पर्यटकीय गन्तव्यमा परिणत गर्ने र चिया खेतीलाई वास्तविक व्यावसायिक आम्दानीको स्रोत बनाउनुपर्ने देखिन्छ। पञ्चकन्याको पहिलो दशक पूर्वाधार बनाउने दशक रह्यो भने आगामी चरण ती पूर्वाधारबाट स्थानीय अर्थतन्त्र चलाउने चरण बन्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्