काठमाडौँ, २० भदौः भोटेकोशी बाढीपछि फेला परेका एक हजार ३४४ मध्ये एक हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ । फेला परेका शवको पहिचानका लागि डिएनए नमूना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका एक हजार १२ वटा डिएनए नमूना सङ्कलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार डिएनएलगायत आवश्यक विवरण सङ्कलनपश्चात् ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो ।
व्यवस्थापनका क्रममा प्रत्येक शवको सङ्केत/कोड नम्बर जमिनमुनि तथा माथि राखिएको छ । त्यस्तै शव व्यवस्थापन गरिएको स्थानको ‘जिपिएस लोकेशन’, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन् ।
जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डिएनए नमूना, सङ्केत नम्बर, हुलिया, सनाखतसम्बन्धी विवरण, शव परीक्षण प्रतिवेदन, मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिएको छ । भविष्यमा कुनै परिवार/आफन्तले आफ्नो सदस्यका रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानुनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता काफ्लेले उल्लेख गर्नुभयो ।
पहिचान नभएका एक हजार २७० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा ‘अपलोड’ गरिएका छन् । आज बिहानसम्म बाढीमा परी निधन भएका एक हजार ३४४ वटा शव विभिन्न जिल्लामा फेला परेका छन् । बाढीप्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापनलगायतमा हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार बाढीमा परी बेपत्ता भएका चार हजार ८८६ को खोजी भइरहेको छ । बाढीको जोखिममा रहेका तटीय क्षेत्रका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा खोज तथा उद्धार र सडक अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्