काठमाडौँ, २५ असोजः गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि प्रभावित क्षेत्रमा पुगेको नेपाली सेनाको उद्धार टोलीले प्रभावित क्षेत्रका स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा उद्धारको काम गरिरहेको जनाएको छ । हाल हवाई र स्थलमार्गबाट सो प्रभावित क्षेत्रमा सेना खटिइरहेको र अन्य सुरक्षा निकाय तथा स्थानीयसँगको समन्वयमा थप खोज तथा उद्धारको काम भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
आज बिहान करिब ४ः३० बजे गोरखा जिल्ला, चुमनुब्री गाउँपालिका–३ स्थित फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी नदीले उक्त अवरोध खोली लेदो तथा गेग्रानसहित आकस्मिक आएको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्याएपछि सेनाको टोली उक्त प्रभावित क्षेत्रमा उद्धारमा खटेको हो । उक्त बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट पनि फौज खटिएको सो निर्देशनालयले जनाएको छ । सो निर्देशनालयले दिएको जानकारीअनुसार हालसम्म सो प्रभावित क्षेत्रको जगत इलाकाबाट छ, न्याक्फेदीबाट नौ, यारुबाट एक शिशु तथा एक विदेशीसहित नौ जना र पायुबाट १२ जना गरी ३६ जनाको उद्धार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्