लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

कृष्ण अष्टमी : बिहानैदेखि देशभरका कृष्णमन्दिरमा भक्तजनको लाम

कला सस्कृति

कृष्ण अष्टमी : बिहानैदेखि देशभरका कृष्णमन्दिरमा भक्तजनको लाम

न्युज बिहानी
न्युज बिहानी
Shares
कृष्ण अष्टमी : बिहानैदेखि देशभरका  कृष्णमन्दिरमा भक्तजनको लाम

काठमाडौँ, १९ भदौः प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । 

राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको लाम लागेको छ । काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुनाकुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको लाम लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम नागरिकलाई शिक्षा दिनुभएको छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवतगीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामलेसमेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । गीतामै टीका लेख्ने पनि धेरै छन् ।बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । 

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । रथयात्रा भने अष्टमीको भोलिपल्ट निकालिन्छ । भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुसीयालीमा भाद्रकृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले  जानकारी दिनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup