काठमाडौं उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उपत्यकालाई अत्यावश्यक पर्ने खाद्यान्न, ग्यास, पेट्रोलियमलगायतका सामग्री ढुवानीको आपूर्ति शृंखलामा असर परेको छ । जसले गर्दा उपभोक्तामा दैनिक उपभोग्य सामग्री अभाव हुने महँगीको त्रास फैलिएको छ । तर, वैकल्पिक मार्गबाट समेत नियमित रूपमा अत्यावश्यक सामग्री आइरहेका कारण उपत्यकाको मागअनुसार खाद्यान्न आपूर्ति सुनिश्चित भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइँटेलले जानकारी दिए । अहिले सरकारले खाद्यान्न, इन्धनलगायतका ठुला मालवाहक सवारीसाधनका लागि त्रिभुवन राजपथको सडक छुट्याइदिएको छ ।
उपत्यकामा तीन महिनाको मागलाई धान्न सक्ने चामल, तेल, गेडागुडीलगायतका खाद्यान्न मौज्दात रहेको विभागले जनाएको छ । बाढी र कृष्णभिर पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि विभागले संकलन गरेको तथ्यांकअनुसार चामल कम्तीमा एक महिनाको मागलाई धान्न पुग्ने मौज्दात छ । त्यस्तै, खाने तेलसमेत कम्तीमा १५ दिनलाई पुग्ने मौज्दात रहेको उनले जानकारी दिए । दाल र गेडागुडीको मौज्दात भने तीन महिनाभन्दा बढी समयलाई धान्न सक्ने अवस्थामा रहेको उनले बताए । ‘अहिले उपत्यकासँगको सबै बाटो अवरुद्ध भएको होइन, वैकल्पिक मार्गबाट नियमित रूपले खाद्यान्नको आयात भइरहेको छ,’ उनले भने, ‘त्यसैले, खाद्यान्न आपूर्तिका लागि उपभोक्ता अतालिनुपर्ने स्थिति छैन ।’
विभागका महानिर्देशक मोतीराम सापकोटाले पनि उद्योगी र आयातकर्तासँग नियमित रूपले तथ्यांक लिने काम भइरहेको बताए । ‘प्राप्त तथ्यांकमा खाद्यान्न मौज्दातको अवस्था सन्तोषजनक नै छ,’ उनले भने । खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले पनि खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको बताए । ‘थोक बजारमा मागेजति सबै खाद्यान्न उपलब्ध छ । त्यसैले कुनै समस्या छैन,’ उनले भने ।
उनले उपत्यकामा तीन महिनाको माग धान्न सक्ने खाद्यान्न सधैँ मौज्दातमा रहने गरेको पनि जानकारी दिए । ‘थोक तथा खुद्रा पसलमा नियमित रूपले तीन महिनाको माग धान्न सक्ने खाद्यान्न मौज्दात रहेको हुन्छ । अहिले पनि त्यही अवस्था हो,’ उनले भने, ‘उपभोक्ता त्रसित हुनुपर्ने अवस्था छैन ।’ उनले खाना पकाउने एलपी ग्यासको आपूर्ति असहज भइरहेका कारण उपभोक्ताले खाद्यान्नको पनि चिन्ता गर्नु स्वाभाविक रहेको बताए । ‘खाद्यान्नको आपूर्तिमा अहिलेसम्म कुनै असर परेको छैन,’ उनले भने । सरकारले पनि काठमाडौंमा खाद्यान्न आपूर्तिका लागि त्रिभुवन राजपथ र कान्ति लोकमार्ग प्रयोगका लागि सहजीकरण गर्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्