काठमाडौं । भृकुटीमण्डपमा भदौ ९ गते मंगलबारदेखि सुरु भएको १८औं संस्करणको नाडा अटो शो २०२६ मा बीवाईडीले तीनवटा नयाँ तथा अपग्रेडेड मोडल सार्वजनिक गरेको छ। कम्पनीले विद्युतीय एसयूभी सीलायन ७ लाई महत्वपूर्ण अपग्रेडसहित पुनः बजारमा ल्याएको छ भने एट्टो २ को सुपेरियर भेरियन्ट र नयाँ सार्क ६ प्लग–इन हाइब्रिड पनि नेपाली बजारमा सार्वजनिक गरेको छ ।
नयाँ सीलायन ७ मा सबैभन्दा महत्वपूर्ण परिवर्तन मोटर पावरमा गरिएको छ। मोटर पावरसँगै गाडीको इन्टेरियर तथा अन्य फिचरमा समेत सुधार र थप सुविधा ल्याइएको कम्पनीले जनाएको छ।त्यस्तै एट्टो २ को सुपेरियर भेरियन्ट पनि नेपाली बजारमा थपेको छ । नाइमा मोबिलिटी एक्स्पोमा एट्टो २ को इसेन्सियल भेरियन्ट सार्वजनिक गरिएको थियो।
नयाँ सुपेरियर भेरियन्टमा प्यानोरामिक ग्लास टप र सनरुफ लगायतका प्रिमियम फिचर थपिएका छन्। सार्क ६ प्लग–इन हाइब्रिडमा ठूलो ब्याट्री, विद्युतीय मोटर र १.५ लिटर टर्बो पेट्रोल इन्जिनको संयोजन रहेको छ। यसलाई विद्युतीय, इन्धन र हाइब्रिड गरी तीनवटा ड्राइभिङ मोडमा सञ्चालन गर्न सकिन्छ। कम्पनीका अनुसार ब्याट्री चार्ज गरेर मात्र चलाउँदा यसले १०० किलोमिटरभन्दा बढी विद्युतीय रेन्ज दिन्छ। तीन फरक प्रकृतिका मोडल एकैपटक सार्वजनिक गर्दै बीवाईडीले नाडा अटो शो २०२६ मा प्रिमियम इलेक्ट्रिक एसयूभीदेखि कम्प्याक्ट एसयूभी र अफरोड प्लग–इन हाइब्रिडसम्मको आफ्नो उत्पादन दायरा विस्तार गरेको छ।
एट्टो २ सुपेरियर
बीवाईडी एट्टो २ को नयाँ सुपेरियर भेरियन्टलाई यस रेन्जको टप भेरियन्टका रूपमा ल्याइएको छ। यसको सबैभन्दा देखिने परिवर्तन पानोरामिक ग्लासरुफ र इलेक्ट्रिक सनशेड हो। साथै, रियर कोलिजन वार्निङ, रियर क्रस ट्राफिक अलर्ट/ब्रेक, ब्लाइन्ड स्पट डिटेक्सन र डोर ओपन वार्निङजस्ता सुरक्षा प्रणाली यसमा थपिएका छन्।
यसमा ५१.१३ kWh ब्याट्री र १०० kW मोटर छ भने रेन्ज ३४५ किलोमिटर छ। १२.८ इन्चको रोटेटिङ टचस्क्रिन, ६ एयरब्याग र लेभल–२ ADAS जस्ता फिचरले यसलाई प्रविधिमैत्री कम्प्याक्ट एसयूभी बनाएको छ । नाडा अटो शोका लागि यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
सीलायन ७
बीवाईडीले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी सीलायन ७लाई अझ शक्तिशाली बनाएर पुनः प्रस्तुत गरेको छ। नयाँ संस्करणमा पहिलेको १०० kW रियर मोटरको स्थानमा १७० kW मोटर राखिएको छ। यसले ० देखि १०० किमी/घण्टाको गति ७.३ सेकेन्डमा लिन सक्छ। अगाडि फ्लोटिङ क्यालिपर ब्रेक पनि प्रयोग गरिएको छ।
यसको मुख्य आकर्षण भनेको आरामदायी प्रिमियम एसयूभी र स्पोर्टी पर्फमेन्सलाई एउटै प्याकेजमा ल्याउनु हो। यसमा ७१.८ kWh ब्याट्री, करिब ४४० किमी रेन्ज, १५.६ इन्च रोटेटिङ स्क्रिन, ५० इन्च AR HUD, नापा लेदर सिट, ११ एयरब्याग र D-Pilot 100 ADAS जस्ता प्रिमियम फिचर छन्। यसको नाडा अटो शोमा विशेष मूल्य ९२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
शार्क ६
माथिका दुई ईभीभन्दा बिल्कुलै फरक शार्क ६ प्लग–इन हाइब्रिड पिकअप रहेको छ । बीवाईडीको यो पिकअप DMO Super Hybrid Off-road Platform मा आधारित रहेको छ । १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग दुईवटा इलेक्ट्रिक मोटर जोडिएका छन् र यसले संयुक्त रूपमा करिब ४३० hp तथा ६५० Nm टर्क उत्पादन गर्छ। ०–१०० किमी/घण्टा पुग्न केवल ५.७ सेकेन्ड लाग्छ।
यसमा २९.५८ kWh Blade Battery, फोर–ह्वील ड्राइभ र विभिन्न अफरोड ड्राइभ मोड रहेका छन् । इलेक्ट्रिक मोडमा करिब १०० किमी र हाइब्रिड प्रयोगमा ८४० किमीसम्म संयुक्त रेन्ज दिन छ। ८३५ किलोसम्म पेलोड र २,५०० किलोसम्म टोइङ क्षमता भएकाले यो केवल शो–पीस नभई उपयोगितामुखी पिकअप पनि हो। तर शार्क ६ को मूल्य र बिक्री सुरु हुने मिति भने अझै सार्वजनिक गरिएको छैन। तर हाल नाडा अटो शोमा यसको प्रदर्शन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्