काठमाडौं, भदौ ११ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गहिरो दुःख व्यक्त गरेको छ। नाडाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
राष्ट्रिय विपद्को यस घडीमा राज्यसँगै काँधमा काँध मिलाएर उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता नाडाले जनाएको छ। साथै, नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भएर प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सहयोग गर्न नाडाले आह्वान गरेको छ। नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
बाढीपछिको उद्धार तथा राहतमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परताप्रति पनि नाडाले कृतज्ञता व्यक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र र गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गर्नुका साथै उद्धार तथा राहतका लागि निजी क्षेत्र र नागरिक समाजलाई समेत सहकार्य गर्न गरेको आह्वानको नाडाले उच्च कदर गरेको जनाएको छ।
विपद्कै बीच नाडा अटो शो निरन्तर
यसैबीच, नाडा अटो शो २०२६ सञ्चालन भइरहेकै समयमा मुलुकमा महाविपद् आएको भन्दै नाडाले भृकुटीमण्डपमा जारी अटो शो भने निरन्तर सञ्चालन हुने स्पष्ट पारेको छ। नाडाका अनुसार विपद्सँग जुध्दै आर्थिक गतिविधिलाई समेत चलायमान राख्नुपर्ने अवस्था रहेकाले अटो शो पूर्वनिर्धारित रूपमा सञ्चालनमा रहनेछ। आर्थिक गतिविधिको निरन्तरता र विपद् व्यवस्थापनलाई सँगसँगै अघि बढाउनुपर्नेमा नाडाले जोड दिएको छ।नाडाले सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्