शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

घनश्यामको नेतृत्वमा नयाँ पार्टी बन्ने

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्म निरौलाले अब सम्मानित नेता खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताए ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालको नेतृत्वमा नयाँ दलको घोषणा हुँदै छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल संरक्षक र भुसाल अध्यक्ष हुनेगरी छलफल थालिएको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहित साना कम्युनिस्टका बीचमा पार्टी एकता गर्ने निर्णयसँगै खनाल–भुसाल समूह असन्तुष्ट बनेको छ । शनिबार काठमाडौंको सुकेधारामा असन्तुष्ट समूहको भेलामा सहभागीहरूले खनाललाई संरक्षक र भुसालको नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपर्ने सुझाव दिएको बताइन्छ ।

समाजवादी मोर्चामा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपासहित मोर्चाबाहिर रहेका केही साना कम्युनिस्टहरूका बीचमा पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । पार्टी एकीकरणको गृहकार्य चल्दैगर्दा यी पार्टीमा आन्तरिक विद्रोह सुरु भएको हो । पार्टी एकताको विरोधमा रहेको खनाल–भुसाल समूहनिकट एक नेताका अनुसार अब झलनाथ खनालको नेतृत्वमा पार्टी पुनर्गठन हुन नसक्ने र नेतृत्वमा दोस्रो पुस्ताका भुसाललाई ल्याउनुपर्ने हुन्छ । भेलामा सोही अनुसारका सुझावहरू आइरहेको र छिट्टै नै पार्टी पनुर्गठनको घोषणा हुने तयारी भइरहेको छ ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्म निरौलाले अब सम्मानित नेता खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताए । अब नेतृत्व महासचिव भुसालले गर्नुपर्ने र पुनर्गठित पार्टीको संरक्षकमा खनाल हुनुपर्ने आफूहरूको स्पष्ट सुझाव रहेको उनले बताए ।‘पार्टी पुनर्गठनको आवश्यकता अहिले छ, हामी पार्टी पुनर्गठन गर्दै अगाडि बढ्ने र पछि अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता गर्दै अगाडि बढ्नुपर्ने हुन्छ,’ पोलिटब्युरो सदस्य निरौलाले भने, ‘पहिला हामी माधवजीहरूसँग अलग हुन्छौं, एक साताभित्रमा हामी राष्ट्रिय कार्यकर्ता भेला गरेर आफ्ना दृष्टिकोण पनि सार्वजनिक गर्छौं ।’

एकीकृत समाजवादीका सम्मानित नेता खनालले माओवादी केन्द्रसँग एकता गर्ने निर्णयप्रति आपत्ति जनाउँदै आफूहरू एकता प्रक्रियामा नगई पार्टी पुनर्गठन गर्ने बताए । पार्टी एकताको निर्णयमै आफूहरूको विरोध भए पनि पार्टी एकताको निर्णय सर्वसम्मत भएको भन्दै झुठो प्रचार गरिएको उनले बताए ।‘उहाँहरू माओवादी केन्द्रसँग जाने भएपछि कानुनी रूपमा मिले यही पार्टी अघि बढाउँछौं, नमिले नयाँ पार्टी बनाउँछौं,’ खनालले भने । माधवकुमार नेपालले तानाशाही व्यवहार देखाएको भन्दै खनालले एकता गर्न नहुने पक्षमा सयभन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गरे । तत्काल आफूहरू अन्य कुनै पनि पार्टीमा प्रवेश नगर्ने समेत खनालले बताएका छन् । आजको राजधानी दैनिकमा समाचार छ।