शनिवार, १२ बैशाख २०८३
बनेपा, वैशाख १२ गते । काभ्रेपलाञ्चोकको बनेपासहित आसपासका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग तत्कालका लागि बन्द गरिएको छ। सम्भावित बाढी तथा डाइभर्सन बग्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले राजमार्गमा सवारी साधन सञ्चालन रोक लगाएको हो। प्रहरी नायब उपरीक्षक रबिन विष्टका अनुसार रोशी खोलाको माथिल्लो क्षेत्रमा वर्षा सुरु भइसकेकाले सतर्कताका लागि राजमार्ग बन्द गरिएको हो।
मौसममा सुधार नभएसम्म तथा अर्को सूचना जारी नभएसम्म राजमार्ग सञ्चालनमा नआउने उहाँले जानकारी दिनुभयो। प्रहरीले सर्वसाधारणलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ। विशेषगरी बीपी राजमार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग रोज्न समेत सुझाव दिइएको छ। गत वर्ष असोज दोस्रो साताको बाढीले भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्डमा ठूलो क्षति पुर्याएको थियो।
क्षतिग्रस्त सडकको पुनर्निर्माण कार्य जारी रहे पनि हाल रोशी खोलाको किनारमा बनाइएको अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको छ।तर वर्षा हुनेबित्तिकै खोलामा पानीको सतह बढ्ने र डाइभर्सन बग्ने खतरा रहने भएकाले सुरक्षाका लागि पटक–पटक राजमार्ग बन्द गरिँदै आएको प्रहरीले जनाएको छ।