शनिवार, ३० फागुन २०८२

images

शनिवार, ३० फागुन २०८२

शनिवार, ३० फागुन २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

चुन्न प्रसाद पौडेलको सात संकल्प : स्वास्थ्य सेवामा क्रान्ति ल्याउने अठोट

रुपन्देही। नेपाली कांग्रेसबाट रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चुन्न प्रसाद पौडेलले आफू निर्वाचित भए स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। “हरेक एजेण्डा लागू गर्छु, भन्ने  प्रतिबद्धता, सन्देशसहित सार्वजनिक गरिएको उनको घोषणापत्रले स्वास्थ्य सेवा सुधारलाई केन्द्रमा राखेको छ। रुपन्देही क्षेत्र नम्बर–२ मा यसपालि चुनावी बहसको केन्द्र स्वास्थ्य बनेको छ । चुन्न प्रसाद पौडेलले “स्वस्थ रुपन्देही, सुरक्षित भविष्य”को स्पष्ट दृष्टिकोणसहित सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेपछि मतदातामाझ नयाँ उत्साह देखिएको छ । चुनावी मैदानमा उत्रिएका पौडेलले स्वास्थ्य सेवा पहुँच, गुणस्तर र संरचनागत सुधारलाई आफ्नो प्राथमिक एजेण्डा बनाएका छन्।

जेष्ठ नागरिकलाई सम्मानसहित स्वास्थ्य सुरक्षा
७० वर्ष माथिका जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने घोषणा सामाजिक सुरक्षा प्रणालीलाई व्यवहारमै उतार्ने प्रतिबद्धता हो। दीर्घरोगको समयमै पहिचान र उपचारले परिवारको आर्थिक भार घटाउने विश्वास गरिएको छ।

सेवानिवृत्त राष्ट्रसेवकलाई विशेष सुविधा
राज्यका लागि जीवन अर्पण गरेका सेवानिवृत्त राष्ट्रसेवकलाई स्वास्थ्य सुविधा र जेष्ठ नागरिक भत्ताको सुनिश्चितता दिने योजना सम्मान र सुरक्षा दुवैको सन्देश बोकेको छ।

लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण
प्रदेशकै प्रमुख अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नति गर्ने लक्ष्य दीर्घकालीन रणनीतिक कदम मानिएको छ। यसले विशेषज्ञ चिकित्सक उत्पादन, अनुसन्धान र विशिष्ट उपचार सेवा विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। बिरामीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हटाउने उद्देश्य पनि यससँग जोडिएको छ।

सिदार्थ बाल तथा महिला अस्पताललाई मेडिकल कलेजका रूपमा विकास

बाल तथा महिला स्वास्थ्य सेवालाई थप मजबुत बनाउँदै मेडिकल कलेज स्थापना गर्ने योजना क्षेत्रीय स्वास्थ्य पूर्वाधारमा ठूलो फड्कोका रूपमा हेरिएको छ। यसले मातृ–शिशु स्वास्थ्य सुधार, रोजगारी सिर्जना र शैक्षिक अवसर विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पाँच लाखसम्मको स्वास्थ्य बीमा विस्तार
रु. ५ लाखसम्मको स्वास्थ्य बीमा कार्यक्रम लागू तथा विस्तार गर्ने प्रतिबद्धताले निम्न र मध्यम वर्गलाई प्रत्यक्ष राहत दिने विश्वास गरिएको छ। उपचार खर्चकै कारण गरिबीमा धकेलिने अवस्थालाई अन्त्य गर्ने लक्ष्य यसमा स्पष्ट देखिन्छ।

सांसद सुविधाबाट नागरिकको उपचार
आफूले सांसदका रूपमा पाउने सेवा–सुविधा नागरिकको उपचारमा खर्च गर्ने घोषणा राजनीतिक नैतिकताको सशक्त सन्देशका रूपमा प्रस्तुत गरिएको छ। यसले नेतृत्वप्रति विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

क्षेत्र नम्बर–२ का अस्पतालहरूको स्तरवृद्धि
स्थानीय अस्पतालहरूको पूर्वाधार, उपकरण र जनशक्ति सुदृढीकरण गर्दै गुणस्तरीय सेवा सुनिश्चित गर्ने योजना पनि अघि सारिएको छ। गाउँ–गाउँमै उपचार पहुँच विस्तार गर्ने लक्ष्यसहित आबस्यक पहल गर्ने दाबी गरिएको छ।

उनले रुपन्देही–२ मा स्वास्थ्यलाई केन्द्रमा राखेर ल्याएको स्पष्ट रोडम्यापले  मतदातामाझ आशा र उत्साह जगाएको छ । यदि यी प्रतिबद्धता कार्यान्वयनमा रूपान्तरण भए, रुपन्देही प्रदेशकै नमुना स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुने सम्भावना बलियो देखिन्छ। स्वास्थ्य क्षेत्रमा ठोस सुधारको खाका सार्वजनिक गर्दै मैदानमा उत्रिएका पौडेलको यो एजेण्डाले मतदातामाझ सकारात्मक सन्देश प्रवाह गरेको छ। चुनावी प्रतिस्पर्धा तीव्र भइरहेका बेला स्वास्थ्य–केन्द्रित प्रतिवद्धताले रुपन्देही–२ को चुनावी बहसलाई नयाँ मोड दिएको छ। स्वास्थ्यलाई केन्द्रमा राखिएको यो अभियानले रुपन्देहीको चुनावी बहसलाई नयाँ उचाइमा पुर्‍याएको छ।