शुक्रबार, ४ बैशाख २०८३
राजन गौतम ( नकुल )
काठमाडौँ । नेपालको राजनीति यतिबेला फेरि एक पटक निर्णायक मोडमा पुगेको छ । देशमा लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन स्थापित राजनीतिक दलहरू नै जन आस्थाको केन्द्र बन्नुपर्नेमा अहिले उल्टै आलोचनाको निशानामा परेका छन् । पछिल्लो समय भएको दलभित्र बढ्दो विभाजन, नेतामुखी संस्कृति, सत्ता–समीकरण र भ्रष्टाचारको आरोपबीच ‘पार्टी पुनर्गठन’ को माग तीव्र रुपमा हुन् थालेको छ । देश राजनीतिक संक्रमण र अस्थिरतामा अल्झिरहेको बेला नयाँ पुस्ताले उठाएको आवाज ‘जेन–जी आन्दोलन’ अहिलेको चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालबाट सुरु भएको यो आन्दोलन सडकसम्म पुगेपछि पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि गम्भीर प्रश्न मात्र उठेन कि उनीहरुको भागाभाग समेत हुन् पुग्यो । यो आन्दोलनले दल पुनर्गठन नभएसम्म यो देश उही पुरानै शैलीमा चल्ने,नेता मात्र बदलेर नभई सोचाइ नै बदल्नुपर्ने बेला आएको छ भन्ने संदेश दिएको छ ।
नेपालमा राजनीतिक दल पुनर्गठनको माग यतिबेला तीव्र भएको छ भने सबैको साझा दृष्टिकोण दल पुनर्गठन अब विकल्प होइन, आवश्यकता बनेको छ । अहिले नेपालमा राजनीतिक दल पुनर्गठन को माग किन चुलिएको छ भन्ने प्रश्न सडकदेखि सामाजिक सञ्जालसम्म समान रूपमा प्रतिध्वनित भइरहेको छ। प्रजातान्त्रिक आन्दोलनदेखि माओवादी जनयुद्ध, राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका चरणहरूमा नेपाली जनताले ठूलो बलिदान गरेका छन्। तर शासन प्रणाली स्थापनापछि पनि नेपाल विगत केही दशकदेखि निरन्तर राजनीतिक आन्दोलन, संक्रमण र अस्थिरताको मैदान बन्दै आएको छ । राजनीतिक स्थिरता, सुशासन र जवाफदेहिताको अपेक्षा पूर्ण हुन अझै सकेको छैन। यसैको पृष्ठभूमिमा हाल देखिएको जेन–जी आन्दोलनले नयाँ राजनीतिक सोच, पद्धति र वैकल्पिक नेतृत्वको खोजीलाई उजागर गरेको हो । गत दुई दशकलाई मात्र हेर्ने हो भने पनि राजनीतिक दलहरू बारम्बार फुट र जोडमा मुछिएका छन्। यसले सरकारलाई स्थायित्व दिन असफल बनाएको छ भने दीर्घकालीन नीतिमा निरन्तरता देखिएको छैन।
नेपालमा राजनीतिक दलहरूको पुनर्गठन अब अपरिहार्य भएको छ। विचारधारामा स्पष्टता, आन्तरिक लोकतन्त्रको अभ्यास, युवा सहभागिता, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै दलले पुनः संरचना नगरेसम्म जनआस्था र जनविश्वास अब फर्कन मुस्किल देखिन्छ ।राजनीतिक दलहरुको निर्वाचनका घोषणापत्रहरू जनताको जीवनस्तरसँग मेल खान छाडेका छन् भने वंशवाद र नेतामुखी पार्टी संरचनाले गर्दा आन्तरिक लोकतन्त्र दिनप्रतिदिन कमजोर बन्दै गएको छ । त्यतिमात्र होइन नागरिकको प्राथमिक मुद्दामा उदासीनता देखाउँदा र भ्रष्टाचार र सत्ता लिप्साका कारण सार्वजनिक स्रोत दुरुपयोग र पदमोह बढ्दो छ भने जनता र दलबीच दूरी बढिरहेको छ। पटकपटकको पार्टी विभाजनका कारण राजनीतिक अस्थिरता एबं निरन्तर फुट–जोडको नीतिले स्थायित्व असम्भव बनाएको छ। हिजो मात्र होइन आज पनि सत्ता र स्रोत–साधन दुरुपयोगको आरोप दलहरूले निरन्तर भोगिरहेका छन् ।
सरकारी पदमा पुग्नेबित्तिकै व्यक्तिगत लाभ प्राथमिकतामा राख्ने प्रवृत्तिले दल र नेताप्रतिको विश्वासमा संकट गहिरो बनाएको छ। विकास, सुशासन र रोजगारीजस्ता जनताका प्राथमिक मुद्दा पन्छाएर दलहरूले आफ्नो एजेन्डा र आफ्नो स्वार्थ अघि सार्दा र आन्दोलन र चुनावताका मात्र जनता नजिक पुग्ने तर त्यसपछि टाढिने व्यवहारले नागरिकहरू “दलभन्दा फरक विकल्प” खोज्ने अवस्थामा पुगेका छन्।अब राजनीतिक दलभित्र नियमित, स्वतन्त्र र निष्पक्ष आन्तरिक चुनाव आबस्यक छ भने कुन पदमा कति पटक ( अवधि सीमा ) तोक्न आबस्यक छ । अब पार्टीमा युवा र महिलाको समावेशी नेतृत्व प्रत्येक तहमा न्यूनतम ५०% सम्म सहभागिता हुनुपर्दछ । क्षमता, दक्षता र जनप्रतिनिधित्वलाई आधार बनाउदै पार्टीहरुले विश्व र नेपालको बदलिँदो आर्थिक–सामाजिक सन्दर्भअनुसार घोषणापत्र पुनर्लेखन गर्न आबस्यक छ ।
आज पार्टी पुनर्गठनको माग केवल युवाको भावनात्मक नारा मात्र नभई यो आजको नेपालको राजनीतिक, सामाजिक र आर्थिक स्थायित्वको पूर्वशर्त बनेको छ । यदि दलहरूले समयमै आफ्ना संरचना, संस्कार र सोच बदल्न सके भने विश्वास पुनःस्थापना, लोकतन्त्रको सुदृढीकरण र स्थिर शासन सम्भव छ। अन्यथा पुनर्गठनलाई ढिलो गरियो भने—युवाको बिद्रोह अझ ठूलो आन्दोलनमा परिणत हुने खतरा छ। दलहरूले चुनावताका आकर्षक घोषणापत्र ल्याउने तर जनताको जीवनस्तर सुधारभन्दा सत्ताको गणित बलियो बनाउनेतिर बढी ध्यान दिनु आजको विद्रोहको मुख्य कारण हो । नेपालका ठूला दलहरूमा आन्तरिक लोकतन्त्र एकदम कमजोर छ भने पार्टी नेतृत्वमा दशकौँदेखि उही व्यक्तिहरूको वर्चस्व, वंशवाद र औपचारिक निर्वाचन प्रक्रियाले युवाहरूलाई निराश बनाएको छ। यही कारणले नयाँ पुस्ताले नयाँ राजनीतिक संस्कृतिको खोजी गर्न थालेको हो ।
नेपालमा राजनीतिक दलहरूको पुनर्गठन अब अपरिहार्य भैसकेको छ भने विचारधारामा स्पष्टता, आन्तरिक लोकतन्त्रको अभ्यास, युवा सहभागिता, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै दलले पुनःसंरचना नगरेसम्म अब जनताको बिस्वास गुम्न सक्छ । दल पुनर्गठनको माग अहिले नारामात्र नभई जनताको साझा चाहना बन्दै गएको छ। आन्तरिक लोकतन्त्र, पारदर्शिता, युवा सहभागिता र जनतालाई प्राथमिकतामा राख्ने नयाँ संरचना र संस्कार बिना दलप्रति भरोसा फिर्ता हुने देखिँदैन। "जेन–जी" आन्दोलन राजनीतिक तथा सामाजिक असन्तुष्टिको स्वरूप हो। यो पुस्ता प्राविधिकरूपमा सचेत, सामाजिक सञ्जालमार्फत संगठित र द्रुतगतिमा सूचना आदानप्रदान गर्ने खालको छ।
उनीहरूलाई पुराना राजनीतिक पार्टीका भ्रष्टाचार, वंशवाद, असक्षमता र सत्ता–लालसामा आधारित राजनीतिले मोहभंग गरिरहेको छ। त्यसैले उनीहरूको माग अनुसार मुख्यतः पारदर्शिता, कार्यक्षमता, रोजगारी, समान अवसर र राजनीतिक जवाफदेहितामा दल केन्द्रित हुनुपर्छ। जेनजी आन्दोलन केवल असन्तुष्टि मात्र होइन, नयाँ राजनीतिक संस्कृतिको आह्वान समेत हो। पुराना दलहरूले यसलाई चुनौती नभई अवसरको रूपमा लिई आफूलाई सुधार्ने, पुनर्गठन गर्ने र युवालाई नेतृत्वमा ल्याउने दिशा रोजेमा लोकतन्त्र अझ मजबुत बन्न सक्छ। अन्यथा दलहरू जनताबाट अझै टाढा हुनेछन् र वैकल्पिक शक्ति उदाउनेछ । त्यसैले आज राजनीतिक पार्टी पुनर्गठन केवल माग मात्र होइन, राजनीतिक स्थिरता र लोकतान्त्रिक अभ्यासको अपरिहार्यता समेत हो।